प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिताको छैटौँ दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लबले पर्सा ११ लाई २५ रनले हराएको छ।
नारायणी रंगशालामा भएको खेलमा पर्सा ११ ले २० ओभरमा ८ विकेटको क्षतिमा ९९ रन बनाएपछि पुलिस २५ रनले जितेको हो। खेलमा पर्सा ११ का खेलाडी पवन सर्राफले २६ बलमा ३२ रन बनाए। भने पर्सा ११ का कप्तान सन्दीप लामिछानेले २८ बलमा २३ रन बनाए।
अर्का खेलाडी सुरज पटेल २९ बलमा १७ रन र रूपेश सिंहले ९ बलमा १५ रन जोडे। पुलिसका बलर सागर ढकालले चार ओभरमा १२ रन खर्चिएर दुई विकेट पाए। यस्तै, करण केसीले चार ओभरमा २४ रन दिएर दुई विकेट लिए।
ललित राजवंशीले चार ओभरमा १८ रन दिदै दुई विकेट पाए। यसअघि खेलमा पहिले ब्याटिङ गरेको पुलिसले पर्सा ११ लाई एक सय २५ रनको लक्ष्य दिएको थियो।
पुलिसले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २४ रन बनाएको हो। खेलमा पुलिसका खेलाडी करण केसीले सर्वाधिक १२ बलमा २९ रन बनाए। अर्का खेलाडी अमित श्रेष्ठले २६ बलमा २६ रन र आरिफ शेख २७ बलमा २२ रन जोडे।
पर्सा ११ का बलर अनिल साहले दुई ओभरमा १२ रन दिएर दुई विकेट पाए। यस्तै, रूपेश सिंहले दुई ओभरमा १७ रन खर्चिएर एक विकेट लिए भने संसाद अन्सारीले चार ओभरमा १४ रन दिँदै एक विकेट पाए।
पर्सा ११ का कप्तान सन्दीप लामिछाने आजको खेलमा विकेट बिहिन रहे। उनले चार ओभरमा २८ रन खर्चिए। प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्।