अंग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिनबाट सुरु हुन लागेको भरतपुर भ्रमण फेरि सरेको छ । भरतपुर महानगरपालिकाले ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागेको भ्रमण वर्ष मुख्य राजमार्ग निर्माणाधीनको अवस्थामै रहेकाले सार्नुपरेको बताएको छ । ०८० साललाई भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको महानगरले त्यतिवेला पनि यही कारण देखाउँदै अन्तिम समयमा कार्यक्रम रद्द गरेको थियो ।
वर्ष २०२४ को भ्रमण वर्ष केही समयका लागि सारिएको हो कि स्थगित गरिएको महानगरले टुंग्याएको छैन । भ्रमण वर्षको बारेमा ठोस निर्णय २२ पुसमा बस्ने नगरपरिषद् बैठकले तय गर्ने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले बताए । उनले भने, ‘बाह्य कारणले भ्रमण वर्षको उद्घाटन मात्र सरेको हो, भ्रमण वर्षका कार्यक्रम भने नियमित हुन्छ ।’
विस्तारका क्रममा रहेका पुल्चोक–गोन्द्राङ सडक र नारायणगढ–बुटवल सडकमा धुलोले यात्रामा सास्ती छ । त्यस्तै, नारायणगढ–मुग्लिन सडक पनि पुस ७ गतेदेखि दैनिक चार घण्टा बन्द हुने कारणले भ्रमण वर्षको कार्यक्रम रोकेको महानगरले बताएको छ । उत्सव मनाउन, र्याली निकाल्नसमेत सडकले असर गरेकाले औपचारिक कार्यक्रम रोकिएको रानाले बताए ।
महानगरको मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न निजी क्षेत्रले समेत यसअघि सुझाव दिएको थियो । भ्रमण वर्षको तयारी एवं प्रचारप्रसारमा महानगरले लाखौँ रुपैयाँ खर्च गरिसकेको छ । यद्यपि, कति खर्च भयो भन्ने कुरा महानगरपालिकाले खुलाएको छैन । यसअघि महानगरले अंग्रेजी नयाँ वर्षका दिन प्रधानमन्त्रीमार्फत ल्याएर भव्य कार्यक्रमबीच भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गर्दै थियो ।