लक्ष्मी ग्रुपले स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर बालबालिकालाई स्टेसनरी र अन्य सामग्रीहरू सहयोग गरेको छ । ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरण लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेलमा रहेको सेरेब्रल पल्सी सेन्टरमा ५० जनाभन्दा बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री सहयोग गरेको हो ।
सेन्टरको मागअनुसार सहयोग गरिएको कम्पनीले जनाएको छ । हुन्डाई नेपालले हुन्डाई मोटर कम्पनीको मोबिलिटीसँग सबैलाई जोड्ने उद्देश्यप्रति ऐक्यबद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको जनाइएको छ । ‘मोबिलिटी’ सबैको आधारभूत आवश्यकता भन्ने मान्यतासहित कम्पनीले मस्तिष्कघात भएका बालबालिकालाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वका काम गर्दै आएको जनाइएको छ ।
लक्ष्मी ग्रुप र यसअन्तर्गतका विभिन्न संस्थाले यो अवसर पारेर विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम गरेको उल्लेख छ । जसअन्तर्गत आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सयभन्दा बढी कर्मचारीले सहभागिता जनाएको कम्पनीले जनाएको छ ।
त्यस्तै, लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालको भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन गरेको जनाइएको छ । ग्रुपअन्तर्गतको सुजल डेरीले काठमाडौंको गैरीधारमा रहेको ‘होम हेरिटेज एल्डर केयर’मा दिवा खाजा प्रायोजन गरेको उल्लेख छ ।
त्यस्तै, सुजल फुड्सले पनि ‘चाइल्ड प्रोटेक्सन होम’ र ‘डिसेबल्ड सर्भिस एसोसिएसन’का व्यक्तिलाई आफ्नो उत्पादनका चकलेट, स्टेसनरी र खेलकुदका सामान वितरण गरेको जनाइएको छ । समाजसेवाकै क्रमममा सफल फुड्सको ब्रान्ड लभबर्ड आइसक्रिमले जोपाटीको अत्तरखेलमा रहेको ‘सिडब्लुइएएफ’मा खाजासहित विभिन्न कार्यक्रम गरी आइसक्रिम, खीर, पनिर तरकारी, स्टेसनरी सामान र खेलकुदलगायतका सामग्री प्रदान गर्दै मनोरञ्जन गराएको ग्रुपले उल्लेख गरेको छ ।