नेप्से परिसूचक पाँच महिनापछि दुई हजार एक सय ६ दशमलव ४८ विन्दुमा उक्लिएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार ४५ दशमलव ९८ अंकले बढेर बजार उक्त विन्दुमा उक्लिएको हो । यसअघि १० साउनमा नेप्से सूचक २१ सय विन्दुमाथि उक्लिएको थियो ।
पछिल्लो समय मौद्रिक नीतिको समीक्षापछि बजारले गति लिएको छ । लामो समयसम्म बजार घटेर प्यानिक बनेका लगानीकर्ता नेप्सेसँगै कारोबार रकम पनि बढेपछि उत्साहित भएका छन् । यतिवेला बजार क्षेत्रगत रूपमा बढिरहेको छ । साताको पहिलो कारोबार जलविद्युत्, फाइनान्स हुँदै होटेल तथा पर्यटन समूहमा लगानीकर्ता झुम्मिएका छन् ।कारोबारमा आएका १३ वटै समूहका सूचक हरियाली बनेका छन् । होटेल तथा पर्यटन समूहको सूचक सबैभन्दा धेरै ६ दशमलव ९४ प्रतिशतले बढेको छ । उत्पादनमूलक समूहको सूचक ४ दशमलव ७४ प्रतिशतले बढेको छ भने जीवन बिमा समूहको तीन दशमलव १२ प्रतिशतले बढेको छ ।
१० कम्पनीको मूल्यमा सर्किट
मंगलबार १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर (बालाजु) लिमिटेड, मेरो माइक्रो फाइनान्स वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट इन्ड्रस्टी, हाथवे इन्भेस्टमेन्ट नेपाल, मिडसोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल, बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो ।
यस दिन धितोपत्र र ऋणपत्र गरी तीन सय १३ कम्पनीको एक करोड ६४ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा शिवम् सिमेन्टको ३७ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, दोस्रो ठूलो कारोबार हुने कम्पनीमा सोल्टी होटेलको २८ करोड ७३ लाखबराबरको कारोबार भएको छ । सोनापुर मिनरल्स एन्ड आयल, हाथवे इन्भेस्टमेन्ट र घोराही सिमेन्टको १३ करोड रुपैयाँदेखि १६ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।