नेता तथा कार्यकर्ताले पार्टीको कार्यदिशादेखि दर्शन र उद्यमशीलताका विषयमा धेरै कुरा सिकेकाे प्रशिक्षककाे भनाइ
गुल्मीमा एमालेले २२ दिने लामो सैद्धान्तिक प्रशिक्षण अभियान सम्पन्न गरेको छ । जिल्लाका १२ वटै पालिकामा १४ वटा विषयमा नेता–कार्यकर्तालाई प्रशिक्षित गरेर सकिएको एमाले गुल्मीले जनाएको छ।
पछिल्लो समय यस्ता प्रशिक्षण पार्टीहरूमा बिरलै हुने गरेका छन् । नियमित प्रशिक्षण नहुँदा जनस्तरमा ठूला दलहरूप्रति वितृष्णा र आक्रोश बढिरहेको छ । अधिकांश जिल्लास्तरकै नेताले पार्टीको सैद्धान्तिक बहस गर्न सक्दैनन् ।
किनकि पार्टीहरूमा अर्काकाे आलोचना बढी र आफ्नोबारेमा कम सिक्ने प्रवृत्ति हाबी छ । सोही कुरालाई ध्यान दिएर गुल्मी एमालेले आफ्ना नेता–कार्यकर्तालाई सैद्धान्तिक प्रशिक्षण दिएको हो ।
लामो समयपछि एमालेका नेता तथा कार्यकर्ताले सैद्धान्तिक रूपमा आफ्नो पार्टी बुझ्न पाएका छन् । त्यसैले प्रशिक्षण निकै प्रभावकारी र समय सान्दर्भिक भएको सहभागीको प्रतिक्रिया छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापाले प्रशिक्षण अभियानलाई ऐतिहासिक भएको दाबी गरेका छन् । ११ मंसिरबाट सुरु भएको प्रशिक्षण अभियान २ पुसमा सकिएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीले जनाएको छ ।
सबै गाउँ कमिटीहरूले आ–आफ्नो व्यवस्थापनमा दुईदिने आवासीय प्रशिक्षण आयोजना गरेका थिए । दशौँ राष्ट्रिय महाधिवेशनको कार्यभार र कार्यदिशा तथा नेपाली कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहासबारे पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापाले प्रशिक्षण दिएका थिए ।
कसले दिए प्रशिक्षण ?
एमाले नेता दिनेश पन्थीले पार्टी संगठन र व्यवस्थापन, गणेश खनाल र गणेश श्रेष्ठले दर्शन र दर्शनशास्त्र, जंग नेपाली र राजेन्द्र अर्यालले पार्टी र जनप्रतिनिधिको अन्तरसम्बन्ध र विकास निर्माण, बालसिंह काउछाले प्रशिक्षण कार्यको महत्व, सोमनाथ सापकोटाले राजनीतिक दलको तुलनात्मक अध्ययन, फर्शु पाण्डेले उद्यम र उद्यमशीलता, गणेश श्रीपालीले राजनीतिक सञ्चार, धर्म विश्वकर्माले पार्टी निर्माण, नेतृत्व शैली र अनुशासन, गोविन्द गौतमले राजनीतिक अर्थशास्त्र, चक्रबन्धु भुसालले जनताको बहुदलीय जनवाद, नर्मदा भण्डारी, कमला शर्मा, ललिता गौतम, लक्ष्मी पन्त, सरिता खड्का र राधिका अर्यालले महिला सहभागिताका विषयमा र पालिका कमिटी अध्यक्षले पालिकामा पार्टी संगठनको अवस्था र राजनीतिक शक्ति सन्तुलनको विषयमा प्रशिक्षण दिएको नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारीले जानकारी दिए ।
आगामी प्रशिक्षण रुपन्देही र काठमाडौं सम्पर्क मञ्च, जनसंगठनका पदाधिकारीहरू र सबै वडाहरूमा हुने श्रीपालीले बताए । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले एकैखालको विषय र एकै चरणमा प्रशिक्षण संगठनभित्र देशमै पहिलोपटक भएको दाबी गरे । उनले जिल्लामा प्रशिक्षणसहित जिल्लाको विकासका पूर्वाधार, सांस्कृतिक सम्पदा र पर्यटकीय क्षेत्रको अवलोकन र अवस्था बुझ्ने अवसर मिलेको बताए ।