एनसेलको सेयर खरिद–बिक्रीबारे राज्य व्यवस्था समितिमा प्रधानमन्त्रीको जवाफ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद–बिक्री प्रक्रियामा कमजोरी भएको लागेरै सरकारले छानबिन समिति बनाएको स्पष्ट पारेका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
एनसेलको सेयर खरिद–बिक्रीको विषयमा सरकार गम्भीर रहेको बताएका प्रधानमन्त्रीले भने, ‘कहीँ न कही गलत छ भन्ने लागेर छानबिन समिति बनाएको हो । गलत भन्ने पत्ता लागेमा कारबाही गर्न प्रतिबद्ध छु ।’
प्रधानमन्त्रीले एनसेलको सेयर खरिद–बिक्रीको चर्चा बाहिर आएदेखि नै यो कानुनअनुकूल छ–छैन भनेर सरकार गम्भीर रहेको धारणा राखे ।
उनले भने, ‘एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकनमा खरिद–बिक्री भएको विषयमा चासो उठ्यो । त्यति वेला म दुबईमा थिएँ । जलवायु परिवर्तनजस्तो महत्वपूर्ण विषय उठान गर्न म त्यहाँ थिएँ । मैले दुबईमा यो कुरा सुनेँ । नेपाल आउनेबित्तिकै मैले सम्बन्धित निकायलाई निर्देशन दिनका लागि मुख्यसचिवलाई मस्यौदा गर्न लगाएँ । राजनीतिक नेतृत्वहरूसमेत राखेर छलफल चलाएँ । मन्त्रिरिपरिषद्को निर्णयअनुसार छानबिन समिति गठन गरेको छु ।’
प्रधानमन्त्रीले सरकारले गठन गरेको समिति कसैलाई ‘ओभरल्याप’ गर्नका लागि नभएको स्पष्ट पारेका छन् । ‘छानबिन समिति कसैलाई ओभरल्याप गर्नका लागि बनाइएको होइन । समितिलाई एक महिनाको छोटो समय दिइएको छ,’ उनले भने ।
समितिमा प्रधानमन्त्रीले समितिले आफ्नो काम अघि बढाइसकेको पनि जानकारी दिए । ‘समितिले छानबिन सुरु गरिसकेको छ । मैले बिहान मात्रै संयोजकज्यूसँग बुझ्दा काम भइरहेको जानकारी प्राप्त गरेको छु,’ प्रधानमन्त्रीले भने, ‘समितिको रायसुझावको आधारमा आवश्यक कदम चाल्नेछु । कहीँ न कही गलत छ भन्ने लागेर छानबिन समिति बनाएको हो । गलत भन्ने पत्ता लागेमा कारबाही गर्न प्रतिबद्ध छु ।’

