चीन इन्जिनियरको मुलुक हो, जसले जलवायु चुनौतीलाई आर्थिक नभई प्राविधिक रूपमा हेर्छ
२७ प्रतिशत कार्बन उत्सर्जन गर्ने मुलुक चीन विश्वकै सबैभन्दा ठूलो कार्बन उत्सर्जनकर्ता हो, तर चीन नै सौर्य र वायु प्रविधिमा विश्वमै अग्रणी स्थानमा छ । चीनको हरित ऊर्जाको तीव्र विकासले फ्रान्सको यो वर्षको विद्युतीय आवश्यकतालाई पूर्ति गरेको थियो । र, अर्को वर्ष चीनले ऊर्जा क्षेत्र उत्सर्जनमा पहिलोपटक गिरावट ल्याउने ऐतिहासिक उपलब्धि हासिल गर्न सक्छ । दोस्रो ठूलो उत्सर्जन गर्ने चीन र अमेरिकाबीच नोभेम्बरमा सम्पन्न सन्निल्यान्ड वक्तव्य आएको अवस्थामा भएको कोप— २८ जलवायु सम्मेलन सकारात्मक देखिएको छ । अमेरिका–चीनको सहकार्य सीमित हुने विगतको जलवायु सम्मलेनविपरीत यसपटक यी दुई मुलुक धेरै हदसम्म एक ठाउँमा आएको देखिन्छ । वक्तव्यले सन् २०२० सम्ममा जीवाश्म इन्धनलाई प्रतिस्थापन गर्ने उद्देश्यले विश्वव्यापी नवीकरणीय ऊर्जामा तीन गुणा वृद्धि गरेर मिथेन र प्लास्टिक प्रदूषणलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ ।
तत्कालै पहलकदमी लिनुपर्ने : अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेदेखि नै चीनले जलवायुमा अमेरिकासँग राम्रो समन्वयको खोजी गरिरहेको छ । जलवायु एक त्यस्तो क्षेत्र हो, जहाँ यी दुई प्रमुख प्रतिस्पर्धी शक्तिले साझेदारी गर्न सक्छन् । दुबईमा सम्पन्न कोप– २८ सम्मेलनले संयुक्त पहलकदमीका लागि ढोका खोल्न सक्छ । अर्को वर्ष अमेरिकाले जलवायु मामिलामा भिन्न मत राख्ने फरक राष्ट्रपति चयन गर्न सक्छ । त्यसैगरी, चीनका प्रतिष्ठित वरिष्ठ विशेष जलवायु दूत झि जेनहुआ अवकाश लिनेवाला छन् ।
चीनले लामो समयदेखि कोइलाबाट चल्ने विद्युतीय परियोजना विस्तार गरेका कारण निरन्तर आलोचित हुँदै आएको छ । तर, विस्तार भइरहेका सन्दर्भमा सरकारी स्वामित्वमा रहेका पाँचवटा ठूला कोइलाबाट चल्ने विद्युतीय कम्पनी ठूलो आर्थिक घाटाको मारमा परेका छन् । परम्परागत र दिगो ऊर्जा स्रोत दुवैमा किन लगानी गर्ने ? यो प्रश्नको जवाफ लामो समयदेखिको राष्ट्रिय रणनीति हो, अर्थात नवीकरणीय क्षमता विस्तार गर्नुअघि पर्याप्त मात्रामा आधारभूत विद्युत् आपूर्तिका निर्माण गर्नु हो । तर, कोप– २८ मा झिले नयाँ अवधारणा पेस गरेका छन् । उनले जीवाश्म इन्धनलाई विस्तारै नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर्नु चिनियाँ प्रतिबद्धता रहेको बताएका छन् ।
इन्जिनियरको मुलुक : विकसित मुलुकमा धेरै स्वच्छ ऊर्जासम्बन्धी कार्यलाई ऊर्जा अर्थशास्त्रीले हेर्छन् र यिनले व्यवहार परिवर्तनको प्रोत्साहनमा जोड दिन्छन् । चीन इन्जिनियरको मुलुक हो जसले जलवायु चुनौतीलाई आर्थिक नभई प्राविधिक रूपमा हेर्छ । सन् २००७ मा चीनले जलवायु समस्याको प्राविधिक समाधानका लागि आह्वान गर्दै जलवायुसम्बन्धी राष्ट्रिय कार्य योजना जारी गरेको थियो । निजी र सरकारी स्वामित्वका कम्पनीले यसमा सक्रिय ढंगले सकारात्मक प्रतिक्रिया जनाएका थिए । १५ वर्षपछि चीन प्रत्येक न्यून कार्बन उत्सर्जन पहलकदमीमा अग्रणी स्थानमा छ । नवीकरणीय ऊर्जा क्षमतामा चीनको अवस्थामा अचम्मलाग्दो छ, अर्थात् विश्वको कुल नवीकरणीय उर्जाको एकतिहाइ हिस्सा चीनले ओगटेको छ । त्यसैगरी, चीन विद्युतीय इलेक्ट्रिक वाहन उत्पादन र बिक्रीमा विश्वमै अग्रणी स्थानमा छ । सन् २०२३ मा जलविद्युत्, वायु, सौर्य, जैविक ऊर्जा र आणविक क्षेत्रजस्ता न्यून कार्बन स्रोतले चीनको विद्युत् उत्पादन क्षमताको ५३ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।
स्वच्छ ऊर्जामा चीनको फड्को : चीनको विशाल घरेलु बजार र वायु एवं सौर्यको व्यापक प्रयोगले नवीकरणीय लागत घटाउन योगदान पुर्याएको छ । चीनको यो किफायती हरित ऊर्जा विकासशील राष्ट्रका लागि पनि किफायती हुन्छ । सन् २०१२ मा छिङहाई प्रान्तमा चाइना पावर इन्भेस्टमेन्ट कर्पोरेसनले १५ दशमलव सात गिगावाटको सौर्य परियोजना स्थापना गर्यो जसले अन्तरिम विद्युत्को विश्वसनीयतालाई सुनिश्चित गर्यो । सन् २०२२ मा सरकारले सिनजियाङ, इनर मंगोलिया र गान्सुमा पर्ने गोबी मरुभूमिमा पाँच सय गिगावाटबराबरको सौर्य र वायु परियोजना स्थापना गर्ने योजना अघि सारेको थियो ।
यी पहलले चीनको स्वच्छ ऊर्जालाई प्रोत्साहन गर्नेछ र मरुभूमि विस्तारको सामना गर्नेछ । छिङहाई प्रान्तको सौर्य उर्जा योजनाले सौर्य प्यानलले बालुवाको गतिलाई स्थिर बनाउँछ, सूर्यको किरणलाई सोस्छ, पानीको वाष्पीकरण घटाउँछन् र बिरुवाको अस्तित्वलाई बढाउँछ भन्ने देखाएको छ । चीन प्राविधिकेन्द्रित हुनाले सौर्य ऊर्जा एवं नुन उत्पादनलाई एकैपटक सम्भव तुल्याएको छ, समुद्रमा तैरिने सौर्य परियोजना बनेको छ र विविध ऊर्जा भण्डारणको निर्माण भएको छ । कोप– २८ मा साझेदार बने पनि अमेरिकाले गत वर्षको मुद्रास्फीति न्यूनीकरण ऐनका कारण महत्वपूर्ण लगानी हासिल गरेर चीनसँग प्रतिस्पर्धा गर्न खोज्दै छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार सन् २०५० सम्ममा नेट–जिरो उत्सर्जनमा पुग्नका लागि आवश्यक कटौतीको आधा हिस्सा हाल परीषण वा प्रारम्भिक विकासको चरणमा रहेका प्रविधिबाट आउने जनाएको छ । यी प्रविधिमा किफायती हरियो हाइड्रोजन, उन्नत आणविक ऊर्जा, सुधारिएको सौर्य एवं वायु ऊर्जा, र जीवाश्म इन्धनको प्रयोगबाट आउने कार्बन कब्जा र भण्डारण गर्ने प्रभावकारी विधि समावेश छन् ।
कोप– २८ मा चीनको उपलब्धि : चीनले २०३० सम्ममा नवीकरणीय क्षमतालाई तीन गुणा बढाउन र विश्वव्यापी मिथेन उत्सर्जनलाई सम्बोधन गर्ने योजनालाई समर्थन गर्छ । यद्यपि, चीनले अमेरिकाको कुल गार्हस्थ्य उत्पादनलाई आवश्यक ऊर्जाको ५० प्रतिशतभन्दा बढी र जापानको मामिलामा दुई गुणा बढी ऊर्जा प्रयोग गर्छ । र, चीनले अहिलेसम्म ऊर्जा खपत घटाउन उल्लेख्य लगानी गरेको छैन । अमेरिका र चीनले नोभेम्बरमा उद्योग, भवन, यातायात र उपकरणमा संयुक्त ऊर्जा दक्षता कार्य पुनः सुरु गर्न सहमत भएसँगै यसमा परिवर्तन भने आउन सक्छ ।
(छु ग्रिफिथ विश्वविद्यालयका गभर्नेन्स एन्ड पब्लिक पोलिसीका प्राध्यापक हुन्)
द कन्भर्सेसनबाट