घानाका दुई खेलाडी चम्किएपछि पोखरा थन्डर्सले वीरगन्ज युनाइटेडलाई २–१ ले हरायो
प्रतियोगिताअघि कागजमा कमजोर मानिएको पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्कणको दोस्रो स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न २६औँ खेलमा पोखराले वीरगन्ज युनाइटेडलाई २–१ ले हरायो । पोखरालाई जित दिलाउन विदेशी खेलाडी नायक बने । घानाका जो आइडु र मोसेस ग्याबाले गोल गरेका हुन् । वीरगन्जका लागि पनि घानाकै आइकिन्स बफोरले गोल फर्काए । तेस्रो जित निकालेको पोखराले ६ खेलबाट ११ अंक जोडेको छ । टोली पहिलोपटक दोस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको धनगढीको पनि समान ११ अंक नै छ । धनगढी शीर्षस्थानमा छ ।
जितपछि पोखराका प्रशिक्षक नवीन न्यौपानेले महत्वपूर्ण खेलमा जित निकालेको बताए । उनले बाँकी दुई खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिक्रिया दिएका छन् । ‘खेल निकै महत्वपूर्ण थियो । प्ले–अफमा जाने कि नजाने भन्ने थियो । आज हारेको भए गाह्रो हुन्थ्यो । पाएको अवसरमा सफल भयौँ । अब सहज हुन्छ,’ न्यौपानेले भने, ‘हामीले अझै केही गल्ती गरिरहेका छौँ । यसलाई सुधार गर्नुपर्छ । लगातार खेल खेल्दा खेलाडी घाइते छन् । उनीहरूलाई जोगाउँदै बाँकी खेलमा ध्यान दिनुपर्छ ।’ आयुष घलान मार्की रहेको पोखराले एफसी चिवतन र इलामलाई समान १–० ले हराएको थियो । अन्तिम खेलमा काठमाडौंसँग पराजित हुँदा झापा र ललितपुर सिटीसँग अंक बाँडेको हो ।
तेस्रो पराजय व्यहोरेको वीरगन्ज समान ६ खेलबाट ५ अंकका साथ आठौँ स्थानमा छ । यो हारपछि वीरगन्जको समिरकण अन्य टोलीको भरमा पर्नेछ । वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले बाँकी दुवै खेल जिते पनि प्ले–अफ सम्भावनाका लागि अन्य टोलीको नतिजा कुर्नुपर्ने बताए । ‘समग्रमा खेल हेर्दा रक्षापंक्तिमा समस्या भयो । त्यसैले चाडै गोल भयो । गोलकिपर र डिफेन्सबीच तालमेल नहुँदा गोल व्यहोरेका छौँ,’ श्रेष्ठले भने, ‘प्ले–अफमा पुग्न अन्य टोलीको खेलमा भर पर्नुपर्छ । पोखरालाई हराएको भए, राम्रो हुने थियो । हाम्रो टिममा धेरै घाइते भए । त्यसैले गाह्रो भएको छ ।’ पहिलोपटक एनएसएल खेलेको वीरगन्जले इलामविरुद्ध एक मात्रै जित निकालेको छ । सुरुका दुई खेलमा धनगढी र चिवतनसँग समान २–१ ले पराजित भएको थियो । त्यसपछिका दुई खेलमा ललितपुर सिटी र झापासँग अंक बाँडेको हो ।
इलामको सम्भावना सकियो, चिवतनलाई कठिन
दोस्रो खेलमा एफसी चितवनसँग गोलरहित बराबरी खेलेसँगै स्पोर्टिङ इलाम एफसीको प्ले–अफ सम्भावना सकिएको छ । चितवनको भने सम्भावना कमजोर बनेको छ । नतिजासँगै चितवन ७ खेलमा ६ अंकका साथ सातौँ स्थानमा छ । इलाम समान खेलबाट ५ अंकका साथ पुछारमा छ । इलामले अन्तिम खेलमा जित निकालेपछि शीर्ष चारमा स्थान बनाउनेछैन । चितवनको भने अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ । चिवतनका प्रशिक्षक मेघराज केसीले हारले दुवै टोलीको सम्भावना समाप्त अवस्थामा खेल बराबरी भएको बताए । उनले दुवै टोलीको खेल बराबर भएको प्रतिक्रिया दिएका छन् । ‘खेल दुवै टोलीले बराबर खेलेको हो । आजको हारले दुबै टोलीको सम्भावना सकिने थियो,’ खेलपछि केसीले भने । उनले इलामले प्रतियोगिताभरि ८० भन्दा माथि आक्रामण गरेपनि सफल नभएको बताए ।
केसीले विदेशी खेलाडी स्तरीय आउँदा लिगको चाम बढेको बताए । ‘विदेशी खेलाडी हुँदा लिगका खेलहरू राम्रो भएको छ । विदेशी खेलाडी यो स्तरको नभएको भए लिगको चाम पनि राम्रो हुँदैन थियो । इलामको अक्सनमा राम्रो खेलाडी थिए । सबैले राम्रो खेलेका हुन् । सात खेलमा ८० माथि अवसर बनायौं । तर, फिनिसिङमा चुकेका छौं । अग्रपंक्तिमा पनि हामी चुक्यौँ ।’ दशरथ रंगशालामा खेलपछि चितवनका प्रशिक्षक मेहराजुद्दिन वाडु पत्रकार सम्मेलनमा उपस्थित भएनन् । खेलभर दुवै टोलीले गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेनन् । खेलको इन्जुरी समयमा एन्डव लेदोहोरो पहेँलो कार्ड सामना गर्दै मैदानबाट बाहिरिएपछि इलाम १० खेलाडीमा सीमित बनेको थियो ।
पोखराको जितमा विदेशी खेलाडी निर्णायक
पोखराको जितमा घानाका खेलाडी निर्णायक रहे । खेलको पहिलो हाफमै भएका तीनै गोल घानाको खेलाडीको नाममा रह्यो । खेलको छैटौँ मिनेटमा आइडुको गोलमार्फत पोखराले अग्रता लियो । स्टेफन अनोरको प्रहार गोलकिपर दीप कार्कीले बचाए पनि रिबाउन्डमा आइडुले गोल गरेका हुन् । ५ मिनेटपछि नै वीरगन्जले बराबरी गोल फर्काएको हो । सुशील लामाको पासलाई बफोरले हेड गरे । पहिलो हाफको अन्तिम मिनेटमा मोसेसे गोल गोल गर्दै पुनः २–१ को अग्रता दिलाए । अनोरको क्रसलाई मोसेसले हेड गरेका हुन् । पहिलो हाफमा गरेको गोलको अग्रता जोगाउँदै पोखराले महत्वपूर्ण तीन अंक जोडेको हो । प्रशिक्षक न्यौपानेले घाइते मोसेसलाई विश्राम दिँदै ५२औँ मिनेटमा परिवर्तन गरेका थिए । उनको स्थानमा मैदान प्रवेश गरेका सञ्जीव विष्टले दुई राम्रा अवसर गुमाएका थिए ।
