नेपाल सुपर लिग : विवादास्पद खेलमा वीरगन्जको पहिलो जित

खेलपछि रेफ्रीलाई अपशब्द प्रयोग गरेपछि इलामका कप्तान विकेश कुथूले रातो कार्ड पाए, निर्णय चित्त नबुझेपछि उनले रेफ्री व्यञ्जनकारलाई धक्का दिए

बिहिबार, २८ मंसिर, २०८०
डिजिटल संस्करण

विवादास्पद खेलमा स्पोर्टिङ इलाम एफसीलाई २–१ ले हराउँदै नेपाल सुपर लिग (एनएसएल)मा वीरगन्ज युनाइटेड एफसीले पहिलो जित निकालेको छ । दशरथ रंगशालामा वीरगन्जलाई महत्वपूर्ण जित दिलाउन घानाका खेलाडी विलियम ओपोकु असिइड र विसोन गुरुङले समान एक गोल गरे । खेलको १५औँ मिनेटमा आशिष चापागाईंले इलामलाई सुरुवाती अग्रता दिलाएका थिए । यद्यपि, खेलको अन्त्य निकै तनावपूर्ण रह्यो । इलामका खेलाडीले हार स्विकार्न नसक्दा माहोल बिग्रिएको हो । 

इलामका अधिकांश खेलाडीले रेफ्री कविन व्यञ्जनकारमाथि हातपातको प्रयास गरेका थिए । व्यञ्जनकारले खेल समाप्तिको ह्विसल फुक्दा इलामका मार्की तथा कप्तान विकेश कुथू सुरुमा विवाद निकाल्न अग्रसर भए । मैदानबाट बाहिरिने क्रममा कप्तान कुथूले रेफ्री व्यञ्जनकारलाई अपशब्द प्रयोग गरे । जसकारण उनले पहेँलो कार्ड पाए । पहेँलो कार्डपछि रेफ्रीलाई धक्का दिँदा उनलाई सीधै रातो कार्ड देखाइयो । त्यसपछि इलामका खेलाडी मैदानको मध्यभागमा प्रतिवादमा उत्रिए । रेफ्री व्यञ्जनकारलाई तत्कालै सुरक्षा प्रदान गरियो । मैदानभित्र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहँदा पनि थप पाँच मिनेट तनावग्रस्त नै भएको थियो । सुरक्षाकर्मीको घेराउमा टनेलबाट भित्र प्रवेश गर्ने क्रममा इलामका आक्रोशित समर्थकले प्रहार गरेको बोतल रेफ्री व्यञ्जनकारलाई लागेको थियो भने असिस्टेन रेफ्रीद्वय मधुकर आचार्य र सहदेव श्रेष्ठले छलेका थिए । 

दुई हजार समर्थकमाझ रेफ्री व्यञ्जनकारले दुई रातोसहित तीन पहेँलो कार्ड देखाएका थिए । रातो कार्ड बेहोर्र्नेमा इलामका गोलरक्षकसँगै प्रशिक्षकको भूमिकामा रहेका उज्ज्वल मानन्धर पनि रहे । इन्जुरी समयमा इलामका खेलाडीले बक्सभित्र हातले बल छोएपछि रेफ्री व्यञ्जनकारले वीरगन्जलाई पेनाल्टी दिएका थिए । यस निर्णयपछि मैदानभित्रका खेलाडी र मैदानबाहिरका अफिसियल आक्रोशित भए । विलियमले पेनाल्टीमा गोल गर्दै वीरगन्जलाई २–१ को अग्रता दिलाए । 

खेलपछि वीरगन्जका खेलाडी र अफिसियल खुसियाली मनाउन व्यस्त रहे । उनीहरूले टोलीको नाममा हुटिङ गरेका थिए । जितपछि वीरगन्जको प्ले अफ सम्भावना कायम रहेको छ । इलामको सम्भावना समाप्त भयो ।

रेफ्रीले खेलाडीलाई अपशब्द प्रयोग गरे
प्ले अफमा स्थान बनाउन असफल भएपछि पोस्ट म्याच कन्फ्रेन्समा फरक रूपमा उपस्थित इलामका प्रशिक्षक मेघराज केसीले रेफ्रीले खेलाडीलाई अपशब्द प्रयोग गरेको दाबी गरेका छन् । उनले जिम्मेवार व्यक्तिले नै अपशब्द प्रयोग गर्दा कारबाही हुनुपर्ने माग राखेका छन् । नेपाली फुटबलको स्तरअनुसार नै रेफ्रीहरू रहेको बताउँदै रेफ्रीलाई मात्रै दोष दिन नहुने बताएका छन् । केसी आफ्ना खेलाडी आक्रोशित हुँदा रेफ्रीलाई बचाउन मैदानमै पुगेका थिए । 

‘गाडी चढ्दा चालकझैँ खेलको वेला रेफ्रीको निर्णय मान्नैपर्छ । तर, पेनाल्टी किन दिएको थाहा भएन,’ इलामका प्रशिक्षक मेघराजले भने, ‘रेफ्री र खेलाडी दुवै आफ्नै देशका हुन् त्यसैले रेफ्रीलाई बचाउन पुगेँ । तर, रेफ्रीले अपशब्द बोल्नुहुँदैन थियो ।’ आफ्ना खेलाडीले गल्ती गरेको र उनीहरूले सजाय पाउने उनले जनाए । तर, मैदानमै अपशब्द प्रयोग गरेका रेफ्रीलाई पनि सम्बन्धित निकायले कारबाही गर्नुपर्ने उनको भनाइ छ । 

‘रेफ्रीलाई बचाउन पुग्दा खेलाडीले प्रहार गर्न पाएनन्, तर रेफ्रीले अपशब्द बोले । मैले मुख छाड्न हुँदैन भनेँ । प्रतिउत्तरमा ‘दाइ हामी कुटाइ खान आएको हो’ भनेर प्रश्न तेर्सियो । खेलाडीलाई कारबाही त होला, तर रेफ्रीलाई कसले कारबाही गर्ने ?’ केसीले प्रश्न गरे । वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले जित्नैपर्ने दबाबका बीच खेल जितेपछि पेनाल्टीबारे थाहा नपाएको बताए । ‘हामीले जित्नैपर्ने खेल थियो । दबाबबीच ३ अंक आयो,’ श्रेष्ठले भने, ‘पेनाल्टीमा सबै अलमलिएका छौँ, पेनाल्टी दिएका वेला केही देखेनौँ ।’ 

विलियमको पेनाल्टी
खेलको अन्तिम सात मिनेटको इन्जुरी समयमा विलियमले पेनाल्टीमार्फत वीरगन्जलाई जित जित दिलाए । पाँचौँ खेलमा पहिलोपटक प्लेइङ सेटमा स्थान बनाएका आशिषले गोल गरे । सुरज बस्नेतले दायाँ भागबाट निकालेको बललाई नियन्त्रणमा लिँदै आशिषले गोल गरेका हुन् । आशिषले अघिल्ला पाँच खेलमा २८ मिनेट मात्रै खेलेका थिए । उनी वीरगन्जविरुद्ध ८९ मिनेट मैदानमा रहे । ३३औँ मिनेटमा भिसनले वीरगन्जलाई खेलमा फर्काए । सुशील लामाको क्रसमा बक्सभित्रबाट भिसनले गोलरक्षक कुथूलाई बिट गर्दै सहज गोल गरेका हुन् । बराबरतर्फ उन्मुख खेलमा वीरगन्जले पेनाल्टी पायो । पहिलो जितपछि पाँच खेलबाट ५ अंक जोडेको वीरगन्ज तालिकाको आठौँ स्थानमा उक्लिएको छ । ६ खेलबाट ४ अंक जोडेको इलाम तालिकाको पुछारमा झर्‍यो । 

राम्रो खेल्दा पनि प्ले अफ पुग्न सकेनौँ
मेघराज केसी, प्रशिक्षक, स्पोर्टिङ इलाम 

प्ले अफमा पुग्ने सम्भावना समाप्त भएको छ । प्रतियोगितामा राम्रो प्रदर्शन गरेका छौँ । गत संस्करणमा पनि इलामले राम्रो खेलेको थियो । फुटबलमा प्रदर्शनले मात्रै पनि हुँदैन । नतिजा निकाल्न स्कोर हुनुपर्छ । हामीले प्रहार गरेको बल १० प्रतिशत मात्रै सदुपयोग हुन्थ्यो भने धेरै राम्रो हुने थियो । सधैँ राम्रो खेलेर मात्रै हुँदैन । वीरगन्जविरुद्ध पनि राम्रो खेलका हौँ, अवसर पनि बनायौँ । पहिलो हाफजस्तो दोस्रो हाफ हुन सकेन । खेल सकिएपछिको स्थिति राम्रो थिएन । ह्यान्डपछि पेनाल्टी दिएको भनिन्छ, तर त्यस्तो देखिँदैन ।

एकजुट भएर खेल्दा नतिजा आयो
सनोज श्रेष्ठ, प्रशिक्षक, वीरगन्ज युनाइटेड 

इलामविरुद्धको खेल महत्वपूर्ण थियो । जित्नैपर्ने दबाब पनि थियो । एकजुट भएर खेल्दा तालमेल मिल्यो । खेलाडीले जित निकालेका छन् । अन्तिम समयमा विवाद भयो । पेनाल्टी दिएकोमा सबै कन्फ्युज छौँ । हामी बसेको स्थानबाट डिबक्सभित्र के भएको थाहा नै हुँदैन । रेफ्रीले खेल ब्यालेन्समै राखेका थिए । तर, पेनाल्टी नै विवादास्पद भयो । यो जितले प्ले अफ सम्भावना बढाएको छ । अरू टिमको अंक बढी छ । मुख्य खेलाडी घाइते हुँदा समस्या भयो । 

सुझावित समाचार