अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधार आउन थालेको दाबी गरेका छन् । उनले बुधबार पत्रकार सम्मेलनमार्फत मुलुकको अर्थतन्त्रले सही बाटो समाएको बताउँदै थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य सुरु भइसकेको उल्लेख गरे ।
राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत मौद्रिक व्यवस्थापनमा खुकुलो नीति लिएको छ । जसका कारण सेयर बजारमा देखिएको वृद्धि र निजी क्षेत्रको सकारात्मक टिप्पणीलाई आधार मान्दै उनले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘सबै सुधारका प्रयासले नतिजा दिन केही समय लाग्छ । मिडिया जगत्बाट समेत अर्थतन्त्रमा देखिएका सकारात्मक संकेतको यथार्थ सूचना प्रवाहमा मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु । यसले अर्थतन्त्रमा थप आत्मविश्वास कायम गर्नेछ ।’
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगिएको अर्थमन्त्री महतको भनाइ छ । उनले भने, ‘हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट महत्वपूर्ण परिवर्तन भएको छ ।’
उनले प्रधानमन्त्रीको उपस्थितिमा आफूले निजी क्षेत्र, अर्थविद् र सरोकारवालासँग पटक–पटक अन्तर्क्रिया गरी प्राप्त सुझावका आधारमा आर्थिक सुधारका विषयलाई अगाडि बढाइएको बताए । स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिने गरी नयाँ मापदण्ड जारी गरिएको उल्लेख गर्दै उनले चालू आर्थिक वर्षको विनियोजनको चार गुणासम्म मात्र सहमति दिन सकिने व्यवस्था गरिएको बताए । उनले बजेटमार्फत गरिएका नीतिगत परिवर्तन र राजस्व चुहावट नियन्त्रण गरिएका प्रयासले परिणाम देखिन थालेको बताए । उनले भने, ‘कर प्रणालीमा सुधारका लागि उच्चस्तरीय समिति गठन भई समितिले काम गरिरहेको छ ।’
आगामी कार्यदिशा
सरकारले सुरु गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरिने उनले बताए । सरकारको खर्चमा मितव्ययिता कायम गर्दै सरकारी लगानीमा विद्यमान अवरोध फुकाउने, मुलुकको पश्चिम क्षेत्रमा आएको भूकम्पबाट प्रभावितहरूलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्ने, ध्वस्त संरचनाको छिटो पुनर्संरचना गर्ने र युवाहरूलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्दै अपेक्षित आर्थिक वृद्धिदर हासिल गर्न जोड दिने उनले बताए ।
उनले आगामी वैशाख ९ र १० गते सरकारले लगानी सम्मेलनको घोषणा गरिएअनुरूप सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइने बताए । उनले भने, ‘लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागिपरेको छ ।’
सुधारको जस लिने प्रयास
बुधबार पत्रकार सम्मेलनमा आर्थिक सुधारको सूचक प्रस्तुत गरिरहँदा उनले यसको जससमेत लिन खोजेका छन् । उनले भने, ‘मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, सेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह भएकोमा विदेशी विनियम सञ्चितिमा परेको चापलाई समाधान गर्न भनी लिइएको नियन्त्रणकारी मौद्रिक नीतिले गर्दा कर्जा प्रवाह विस्तार हुन नसकेको अवस्था थियो ।’
सुधारका प्रयासले आर्थिक क्रियाकलाप क्रमशः चलायमान हुन थालेको अर्थमन्त्री महतको भनाइ छ । उनले सूचक प्रस्तुत गर्दै भने, ‘यस अवधिमा पुँजीगत खर्चतर्फ करिब ६ प्रतिशत वृद्धिदर रहेको छ । त्यसैगरी, भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको छ ।’
ब्याजदर करिडोरका सबै दर घटाएपछि बैंकको ब्याजदर क्रमशः घट्दै गएको र अन्तरबैंक ब्याजदर २.५ प्रतिशतको हाराहारीमा रहेको उनको भनाइ छ । ०७९ चैतमा वाणिज्य बैंकहरूको औसत आधारदर १०.४८ प्रतिशत रहेको ०८० असोज मसान्तमा ९.९४ प्रतिशत पुगेको बताए । उनले भने, ‘०८० चैतसम्म समस्यामा परेका ऋणीहरूलाई कर्जाको पुनर्संरचना गर्ने अवधि दिइएको छ । साथै, हाल घट्दो ब्याजदरका कारण बैंकको ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिनेछ ।’