एकै दिन तीनपटक ‘सर्किट ब्रेक’ दुई वर्षपछि १११ अंकले बढ्यो नेप्से

सोमबार, २५ मंसिर, २०८०
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार अवधिअगावै बन्द भएको हो । दुई वर्षपछि सेयर बजार उच्च अंकले बढेको हो । बजार खुलेदेखि नै उत्साहजनक रूपमा बढेपछि तीनपटकसम्म सर्किट ब्रेक लागेको थियो । नेप्से सूचक एक सय ११ दशमलव २० अंकले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ विन्दुमा पुगेको छ ।

बजार खुलेको पाँच मिनेटमै ४ प्रतिशत बढेर पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेकपछि खुलेको एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो । बजारमा कारोबार सुरु भएको एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढेमा २० मिनेट ब्रेक लाग्छ । त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशत बढे ४० मिनेटका लागि ब्रेक लाग्छ । जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ । दुई वर्षअघि २८ मंसिर ०७८ मा नेप्से सूचक एक सय ३७ दशमलव १८ अंक अर्थात् ६ दशमलव शून्य १ प्रतिशतले बढेको थियो । 

आइतबार कारोबारमा आएका १३ वटै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूहको सूचक ८ दशमलव ६३ प्रतिशतले बढेको छ । विकास बैंक, फाइनान्स समूह र होटेल तथा पर्यटन समूह तथा लगानीगत समूहको सूचक ६ दशमलव ४९ प्रतिशतदेखि ६ दशमलव ७२ प्रतिशतले बढेको छ । 

 ६ कम्पनीको सेयर मूल्यमा सर्किट 
रिलायन्स फाइनान्स, जोशी हाइड्रो डेभलपमेन्ट कम्पनी, राप्ति हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, शुभम् पावर, कालिञ्चोक दर्शन, इन्वा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । छोटो समयमै बन्द भएको बजारमा १३ लाख ६७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा माउन्टेन इनर्जी, सोनापुर मिनरल्स एन्ड आयल, नेपाल इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको एक करोड ७५ लाख रुपैयाँदेखि तीन करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

शुक्रबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ बनाएको थियो । यससँगै लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह भएको देखिएको छ । लगानीकर्ता छोटेलाल रौनियारले मौद्रिक नीति समीक्षाले लगानीकर्ताको मनोबल उच्च रहेको हुँदा बजार सकारात्मक बनेको बताए । उनले भने, ‘बजारमा सर्किट ब्रेक लाग्नुको अर्थ लगानीकर्ताको मनोबल उच्च रहेको छ भन्ने देखिन्छ, लगानी गर्ने सही समय हुँदा बजार आगामी दिनमा सकारात्मक बन्नेछ ।’

‘सर्किट ब्रेक’ अस्वाभाविक 
विज्ञहरू भने नेप्से परिसूचकमा यस्तो वृद्धि अस्वाभाविक भएको बताउँछन् ।  अहिले नेप्से परिसूचक बढ्नुको कारण मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई लिइएको छ । मौद्रिकमा केही लचिलो नीति ल्याएको त छ । तर, यो दरमा सेयर बजार बढ्ने आधार भने नभएको नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी बताउँछन् । हिजोआज अर्थतन्त्रमा कुनै उलेख्य परिवर्तन पनि नआएको हुनाले यसलाई स्वाभाविक मान्न नहुने उनको भनाइ छ । राष्ट्र बैंकको नीतिले सेयर कर्जा लिँदा हुने खर्च मात्रै घटाउने हो, त्यसले सूचीकृत कम्पनीको कार्यसम्पादनमा कुनै असर नगर्ने उनको भनाइ छ । उनले भने, ‘तसर्थ, लगानीकर्ता सचेत हुनुपर्छ ।’

मौद्रिक नीतिले ब्याजदर घटाउने नीति पनि ल्याएको छ । तर, बैंकहरूले लामो समय अवधिको मुद्दती निक्षेप राखिरहेको हुनाले त्यसको असर तत्काल देखिने अवस्था छैन । समग्रमा सेयरमा सर्किट ब्रेक नै लाग्ने अवस्था नभएको उनको भनाइ छ । तर, अब सेयर बजार बढने वेला आएको एक विश्लेषकले बताए । ‘अब करिब–करिब बियरिस समय सकिँदै छ । बैंकिङ क्षेत्रमा बढ्दै छ भने ब्याजदर पनि घटेको छ । सेयर कर्जासम्बन्धी नीति खुकुलो हुँदै गएको छ । त्योअनुसार बजार बढ्ने आधार तय हुन लागेको छ,’ उनले भने, ‘तर, अर्थतन्त्र भने शिथिल नै छ । तसर्थ, सामान्य नीतिगत परिवर्तन हुँदैमा यो स्तरको उग्र हुनुहुँदैन ।’

 मौद्रिक नीति र सेयर बजारको सम्बन्ध 
सेयर बजार र मौद्रिक नीति अर्थात् राष्ट्र बैंक फरक–फरक क्षेत्र हुन् । तर, व्यावहारिक रूपमा भने मौद्रिक नीति र सेयर बजार एक–आपसमा अन्तरसम्बन्धित छन् । मौद्रिक नीतिले समग्र अर्थतन्त्रको विकासबारे विभिन्न नीति ल्याएको हुन्छ । पुँजी बजार पनि अर्थतन्त्रको एउटा अंग हो, त्यो अवस्थामा मौद्रिक नीतिबाट पुँजी बजार कुनै न कुनै रूपमा प्रभावित हुन्छ । साथै, ब्याजदर र पुँजी बजार पनि एक–आपसमा अन्तरसम्बन्ध हुन्छ । 

ब्याजदर बढी हुँदा लगानीकर्ताले सेयर बिक्री गरेर मुद्दती निक्षेपमा राख्ने प्रवृत्ति छ । ब्याजदर कम हँुदा बैंकको पैसा झिकेर सेयर बजार, घरजग्गा, सुन तथा सट्टेबाजीजस्ता छोटो समयमै प्रतिफल दिने ठाउँमा लगानी गर्ने प्रवृत्ति अन्तर्राष्ट्रिय बजारमा छ । मौद्रिक नीतिले ब्याजदर घटाउने कि बढाउने भनेर पनि ठोस नीति ल्याउने गर्छ । त्यसले गर्दा पनि सेयर बजार र मौद्रिक नीति एक–आपसमा अन्तरसम्बन्धित हुन्छन् ।

See More On

सुझावित समाचार