सामूहिक भोज खाएकामध्ये एकको मृत्यु, ३३ जना बिरामी अस्पताल भर्ना [अपडेट]

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण

लमजुङमा सामूहिक भोज खाएकामध्ये एकजनाको मृत्यु भएको छ भने ३३ जना बिरामी भएका छन्। 

सुन्दरबजार नगरपालिका– ९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको सुन्दरबजारको एचडिसिएस नमुना सामुदायिक अस्पतालले जनाएको छ। अस्पतालमा ल्याउनेबित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

सुन्दरबजार नगरपालिका– ८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा सहभागी भएका थिए। 

अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु, १२ वर्षीय छोरी विद्यासहित ३३ जना हाल नमुना सामुदायिक अस्पतालमा उपचारत छन्।

भोज खाएका सोही पालिकाको वडा नं. ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका अनुसार भोजमा ४० जना सहभागी थिए । भोजमा भात, कालो दाल, कुखुराको मासु, मुलाको अचार र गाउँघरको धाराको पानी खाएका थिए ।

सुझावित समाचार