प्रिमियमबापत आम्दानी भएको रकम चुक्ता पुँजीमा जोड्न पाउने

आइतबार, २४ मंसिर, २०८०
डिजिटल संस्करण

अब चुक्ता प्रिमियम सेयर जारी गरेका बिमा कम्पनीहरूले प्रिमियमबापत आम्दानी भएको रकम चुक्ता पुँजीमा जोड्न पाउने भएका छन् । नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई पुँजी वृद्धिमा सहज बनाउन प्रिमियमबापतको आम्दानी रकम चुक्ता पुँजीमा जोड्न सकिने नयाँ व्यवस्था गरेको हो । 

नयाँ व्यवस्थाअनुसार प्रिमियममा सेयर जारी गरेका कम्पनीले प्रिमियमबापत भएको आम्दानी (किताबी मूल्य १०० भन्दा माथिको) छुट्टै कोषमा राखेका छन् । सो रकम अब लाभांश (बोनस सेयर)मार्फत लगानीकर्तालाई बाँडेर पुँजी बढाउन पाउने व्यवस्था प्राधिकरणले गरेको हो । साधारण सेयर जारीपछि पनि तोकिएको पुँजी कायम गर्न नसकेको बिमा कम्पनीका लागि प्राधिकरणले यस्तो सुविधा दिएको हो । प्राधिकरणका अनुसार हालसम्म सिटिजन लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल र रिलायबल लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपिओ निष्कासन गरेका छन् । प्राधिकरणको निर्देशनअनुसार जीवन बिमा कम्पनीले पाँच अर्ब र निर्जीवन बिमा कम्पनीले दुई अर्ब ५० करोड पुँजी कायम गर्नुपर्छ ।

चार कम्पनीको सात अर्ब प्रिमियम कोषमा
बिमा प्राधिकरणको तथ्यांकअनुसार प्रिमियममा आइपिओ जारी गरेका चार जीवन बिमा कम्पनीको करिब सात अर्ब रुपैयाँ प्रिमियम बिमा कोषमा छ । सिटिजन्स लाइफ इन्स्योरेन्सले तीन अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न सकेको छ । कम्पनीको प्रिमियम कोषमा भने एक अर्ब ५५ करोड छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब पुगेको छ । कम्पनीको प्रिमियम कोषमा एक अर्ब ५३ करोड छ । यसका साथै चार अर्ब चुक्ता पुँजी रहेको रिलायबल नेपाल इन्स्योरेन्सको प्रिमियम कोषमा एक अर्ब ७५ करोड छ । यसैगरी, हाल तीन अर्ब २० करोड चुक्ता पुँजी रहेको सन नेपालको प्रिमियम कोषमा एक अर्ब ८० करोड छ । प्राधिकरणको नयाँ व्यवस्थाअनुसार यी कम्पनीले प्रिमियम कोषमा रहेको पैसा लाभांश (बोनस) सेयरमार्फत चुक्ता पुँजीमा थप गर्न पाउने प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए । 

प्राधिकरणले चुक्ता पुँजी कायम गर्न मर्जरलाई पहिलो प्राथमिकतामा राखेको थियो । जसअनुसार धेरै कम्पनी मर्जरमा गए । मर्जरपछि पनि चुक्ता पुँजी कायम गर्न नसकेका कम्पनीलाई प्राधिकरणले ३० प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न पाउने व्यवस्था गरेको थियो । 

त्यस्तै, प्राधिकरणले कम्पनीका सञ्चालकलाई पुँजी थप गरी चुक्ता पुँजी कायम गर्न सकिने व्यवस्था पनि गरेको थियो । लाइफ इन्स्योरेन्स कर्पोरेसन कम्पनीको भारतस्थित माउ कम्पनीले पुँजी थप गरी चुक्ता पुँजी कायम गरेको छ । साथै, एनएलजी नेपालको हकमा पनि माउ कम्पनी नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पुँजी थप गर्ने भएको छ ।

पुँजी कायम गर्न नसक्दा पटक–पटक समय थप
बिमा कम्पनीहरूले तोकिएको समयमा पुँजी कायम गर्न नसक्दा प्राधिकरणले पटक–पटक समय थप गरेको छ । यसरी थपिएको समयमा पनि कम्पनीहरूले पुँजी कायम गरिसकेका छैनन् । प्राधिकरणका अनुसार अधिकांश कम्पनीले पुँजी कायम गर्नका लागि योजना बुझाएका छन् । योजना बुझाएका कम्पनीहरू पुँजी जुटाउने कार्यमा छन् । तर, नेपाल इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स कम्पनीले भने पुँजी जुटाउन ढिलाइ गरेको प्राधिकरणका प्रवक्ता पौडेलले बताए । यी कम्पनीहरूले सम्पत्ति बिक्री गरी पुँजी जुटाउने योजना बुझाएका थिए । योजना बुझाइसकेका कारण प्राधिकरणले कारबाहीको प्रक्रिया अगाडि नबढाएको प्रवक्ता पौडेलले बताए । ‘कम्पनीहरूले पुँजी कायम नगरेपछि योजना भने बुझाएका छन् । त्यसैले यी कम्पनीलाई हामीले योजनाअनुसार काम गर्न दिएका छौँ,’ उनले भने । 

योजनाअनुसार नेपाल र प्रभु इन्स्योरेन्स कम्पनीले नेपाल पुनर्बिमा कम्पनीमा भएको सेयर बिक्री गरेको उनले बताए । यसपछि पनि कम्पनीको पुँजी कायम नभएमा अन्य विकल्प सोचिने उनले बताए । 

नेपालको बजारअनुसार कम्पनीको संख्या अधिक भएपछि प्राधिकरणले कम्पनीको संख्या घटाउने नीति अगाडि सार्दै पुँजी वृद्धिका लागि निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशनअनुसार जीवन बिमा कम्पनीले पाँच अर्ब र निर्जीवन बिमा कम्पनीले दुई अर्ब ५० करोड पुँजी कायम गर्नुपर्छ । कम्पनीहरूले ०७९ चैतसम्ममा नै पुँजी जुटाइसक्नुपर्ने थियो । तर, तोकिएको समयमा धेरै कम्पनीले पुँजी जुटाउन सकेनन् । तसर्थ, प्राधिकरणले ०८० असारसम्ममा पुँजी जुटाउन समय थप गरेको थियो । 

पुँजी जुटाउनकै लागि मर्जरमा गएपछि अहिले नेपालमा १४–१४ वटा जीवन तथा निर्जीवन बिमा कम्पनी कायम भएका छन् । त्यसमा जीवन बिमातर्फ नेपाल लाइफ, हिमालयन लाइफ र नेसनल लाइफले तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेका छन् । यसैगरी, निर्जीवनतर्फ प्रिमियर, सगरमाथा लुम्बिनी, शिखर र आइजिआई प्रुडेन्सियलले तोकिएअनुसार पुँजी कायम गरिसकेका छन् । अन्य कम्पनीले भने योजना बझुाएर प्रक्रिया अगाडि बढाएका छन् । यसअघि जीवन बिमा कम्पनीको दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँको न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था थियो । 

सुझावित समाचार