जाजरकोटबाट फर्कियो एमालेको स्वयंसेवक टोली

२० दिनमा ८१६ अस्थायी आवास र १६ वटा विद्यालय निर्माण, ५०३ भग्नावशेष व्यवस्थापन

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजारभन्दा बढीको नेकपा एमालेको स्वयंसेवक टिम दुई हप्ताभन्दा बढी सेवा गरेर फर्किएको छ । 

जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णयअनुसार खटिएको दक्ष जनशक्तिसहितको टोलीले १५ दिनभन्दा बढी स्वयंसेवी काम गरेको छ । कात्तिक १७ गते भूकम्प गएपछि मध्यरातदेखि नै जाजरकोट र रुकुमका स्थानीय पार्टी नेता–कार्यकर्ताहरू उद्धार कार्यमा परिचालित भएका भए पनि दक्ष कामदारसहितको जिफन्टको टोलीले मंसिर १ गतेबाट र अन्य स्वयंसेवकले मंसिर ३ गतेबाट काम थालेका थिए । 

कात्तिक १८ गते पार्टी उपमहासचिव विष्णु रिमालसहितको टोलीले भूकम्प प्रभावित क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षतिको स्थलगत अवलोकन गरेपछि त्यसको भोलिपल्टै अनेरास्ववियुको चिकित्सकसहितको टोली खटाइएको थियो । 

प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउन र अस्थायी आवास निर्माणका लागि कात्तिक ३० गते दक्ष जनशक्तिसहित जिफन्टको ७५ जनाको समूह काठमाडौंबाट हिँडेको थियो । त्यसपछि पार्टी केन्द्रीय सदस्य एवं विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा मंसिर ३ गते देशभरबाट एक हजार स्वयंसेवकको टिम प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अस्थायी आवास निर्माण तथा भत्किएका संरचना हटाउने काममा खटेको थियो ।  

प्रभावित क्षेत्रमा एमालेले २५ जनाका दरले ४० वटा समूह बनाई प्रभावित क्षेत्रमा खटाएको थियो । ती स्वयंसेवक प्रभावित दुई जिल्लाका विभिन्न बस्तीमा भग्नावशेष व्यवस्थापन तथा अस्थायी आवास निर्माणमा जुटेका थिए । जसमध्ये २५ समूहले जाजरकोटमा र १५ समूहले रुकुम पश्चिम काम गरेका थिए । सो अवधिमा एमालेका स्वयंसेवकले पाँच सय तीनवटा भग्नावशेष व्यवस्थापन गरेका स्वयंसेवक टिमका नेतृत्वकर्ता किरण पौडेलले जानकारी दिए । 

‘धराप घरहरूबाट जोखिम मोलेरै भए पनि जनताका सम्पत्ति सुरक्षित बाहिर निकालिदियौँ, पूर्ण रूपले क्षति भएका घरभित्र पुरिएका सामान उत्खनन गरेर सम्बन्धित परिवारलाई बुझायौँ,’ उनले भने । सो क्रममा आठ सय १३ अस्थायी आवास निर्माण गरिएको छ । गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति तथा आर्थिक रूपले विपन्न परिवारलाई लक्षित गरेर स्वयंसेवक परिचालित गरिएको उनले बताए । 

एमालेको स्वयंसेवक टोलीले १६ वटा अस्थायी विद्यालय बनाएर हस्तान्तरण गरेको छ । भूकम्पले भवन भत्काएपछि पठनपाठन बन्द भएका ती विद्यालयमा अस्थायी कक्षाकोठा निर्माणपछि पढाइ सुरु भएको छ । स्वयंसेवक टोली फर्किए पनि अस्थायी आवास निर्माणको अभियान नरोकिएको पौडेलले बताएका छन् । 

‘स्थानीय नेताहरूको नेतृत्वमा अभियानलाई निरन्तरता दिने गरी हस्तान्तरण गरिएको छ । हामीले सामग्रीहरू स्थानीय नेतृत्वलाई नै छाडेका छौँ,’ बागमतीबाट एउटा टोलीको नेतृत्व गरेका राज मैनालीले जानकारी दिए । 

एमालेको केन्द्रीय विपत् व्यवस्थापन तथा स्वयंसेवा विभाग नेपाल सरकारलाई सो क्षेत्रमा गर्नुपर्ने कामबारे केही सुझावसमेत दिएको छ । यतिखेर प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम रहेको बताउँदै पौडेलले व्यवस्थित शौचालयको कमीका कारण महामारी फैलन सक्ने भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 
 
हालसम्म पुनर्निर्माणको खाका तयार नभएकाले देशभित्रका पूर्वाधार विकाससम्बन्धी दक्ष जनशक्तिलाई स्थानीय सरकारमार्फत प्रयोग गर्नुपर्ने एमालेले सुझाव दिएको छ । त्यस्तै, अस्थायी आवास निर्माणका लागि सरकारले प्रतिपरिवार घोषणा गरेको ५० हजार रुपैयाँको विलम्बमा पनि एमालेले झकझक्याएको छ । 

भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा मनोपरामर्शदाता परिचालन गर्न, ढलेका घरमात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पनि प्रभावित क्षेत्र उठाउन एमालेको सुझाव छ । सो भूकम्पमा परी एक सय ५७ जनाको ज्यान गएको थियो भने दुई सय ७५ जनाभन्दा बढी घाइते भएका थिए । भूकम्पबाट एक लाख ८० हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपले प्रभावित बनेका छन् ।

तथ्यांकअनुसार जाजरकोटमा नाै हजार सात सय ९४ निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने २४ हजार सात सय सात घर आंशिक रूपमा क्षति भएका छन् । रुकुममा १६ हजार पाँच सय ७० निजी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने नाै हजार नाै सय ६१ आंशिक क्षति भएको आकलन गरिएको छ ।

सुझावित समाचार