चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञबीच इजरायल–हमास युद्धबारे छलफल

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण

चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजरायल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन्। 

अमेरिकी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिंकेनले युद्ध फैलिनबाट रोक्नका लागि काम गर्ने सबै पक्षको अनिवार्यतालाई दोहोर्याए। 

मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार ब्लिंकेनले लालसागरमा इरानसमर्थित हुथी विद्रोहीहरूको हालैको हमलाबारे पनि कुरा उठाएका छन्। विदेशमन्त्री ब्लिंकेनले उक्त हमलालाई सामुद्रिक सुरक्षा र अन्तर्राष्ट्रिय कानुनका लागि अस्वीकार्य खतरा हो। 

उक्त कानुनको पालना सबै मुलुकले गर्नुपर्ने दायित्व भएको उनको भनाइ थियो।बेइजिङका अनुसार विदेशमन्त्री वाङ यीले इजरायल र हमासबीचको युद्धको सम्बन्धमा ‘सर्वोच्च प्राथमिकता गोली हानाहानलाई रोक्नु र युद्धलाई चाँडोभन्दा चाँडो समाप्त गर्नु रहेको’मा जोड दिए। 

विदेश मन्त्रालयका अनुसार वाङले भने, ‘प्रमुख मुलुकहरूले निष्पक्षता र न्यायको पालना गर्नुपर्छ, वस्तुनिष्ठता र निष्पक्षतालाई कायम राख्नुपर्छ, शान्ति र तर्कसंगत देखाउनुपर्छ र स्थितिलाई शान्त बनाउन तथा ठूलो मात्रामा मानवीय विपत्तिलाई रोक्नका लागि हरसम्भव प्रयास गर्नुपर्छ।’ 

उनले द्वन्द्वको दुई राज्य समाधानका लागि बेइजिङको आह्वानलाई दोहोर्याए। उनले प्यालेस्टिनको भविष्यसँग सम्बन्धित कुनै पनि व्यवस्थाले प्यालेस्टिनी जनताको इच्छालाई प्रतिबिम्बित गर्नुपर्ने बताए। ‘चीन यो दिशामा प्रयास गर्नका लागि सबै पक्षसँग मिलेर काम गर्न तयार छ,’ उनले भने। 

सुझावित समाचार