पुनर्निर्माणका लागि तीन साताभित्र विस्तृत विवरण तयार गरिने

बुधबार, २० मंसिर, २०८०
डिजिटल संस्करण

सुदूरपश्चिम र कर्णालीका पाँच जिल्लामा भूकम्पपछिको पुनर्निर्माणका लागि तीन साताभित्र विस्तृत विवरण तयार गरिने भएको छ । भूकम्पपछिको क्षति एवं आवश्यकता मूल्यांकनको आवश्यक कार्य गर्न र भूकम्पले निजी आवास एवं सार्वजनिक संरचनामा पुर्याएको क्षतिको ‘विस्तृत क्षति आकलन’ गर्न गठित छुट्टाछुट्टै समितिको मंगलबारको बैठकले तीन साताभित्र अन्तिम प्रतिवेदन तयार गर्ने गरी समयतालिका निर्धारण गरेको हो । 

विपत् व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार मात्र छुट्टाछुट्टै समिति गठन गरेका थिए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार हाल निजी आवासको पूर्ण क्षति र आंशिक क्षतिको प्रारम्भिक तथ्यांक उपलब्ध भए पनि अब निजी आवास एवं सार्वजनिक संरचना पुनर्निर्माणका लागि आवश्यक (पुनर्निर्माण गर्नुपर्ने आवास–भवन, मर्मत गर्नुपर्ने, रेक्टोफिट गर्नुपर्ने र पुनस्र्थापना गर्नुपर्ने) विस्तृत तथ्यांक संकलन हुनेछ । त्यसका लागि इन्जिनियरसहितको टोली जाजरकोट, रुकुम पश्चिम, सल्यान, बाजुरा र बझाङमा खटाइनेछ । निजी आवास पुनर्निर्माणका लागि मात्र कम्तीमा एक खर्ब अनुमान गरिए पनि सरकारसँग यकिन तथ्यांक छैन ।

प्रवक्ता खड्काका अनुसार अर्काे टोलीले क्षति एवं आवश्यकता मूल्यांकन गर्नेछ । पुनर्निर्माणको आकलनसँगै सामाजिक क्षतिको पाटो पनि केलाउनेछ । ‘भूकम्पले कतिको रोजगारी खोस्यो, गाउँमा अब के आवश्यक छ भनेर पनि आकलन गरेर पुनर्निर्माण आवश्यकताको पहिचान हुनेछ,’ उनले भने ।

भूकम्पपछिको क्षति एवं आवश्यकता मूल्यांकनको आवश्यक कार्य गर्न प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा संघ सरकारका मन्त्रालय एवं निकायका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका उपसचिवस्तरका प्रतिनिधि रहेको १८ सदस्यीय कार्यटोली गठन भएको छ । 

त्यसैगरी, भूकम्पले निजी आवास एवं सार्वजनिक संरचनामा पुर्याएको क्षतिको ‘विस्तृत क्षति आकलन गर्न आवश्यक कार्यका लागि प्राधिकरणका प्राविधिक सहसचिव रामेश्वर मरहट्टाको संयोजकत्वमा संघीय मन्त्रालय एवं निकायका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका उपसचिवस्तरका प्रतिनिधि रहेको १० सदस्यीय कार्यटोली गठन भएको छ । 

१७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युड र १६ असोजमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । हालसम्म प्राप्त विवरणअनुसार पाँच जिल्लामा प्रभावित घरपरिवार संख्या (अस्थायी आवास निर्माण गर्नुपर्ने) ८० हजार ८४८ पुगेको छ । ०७८ जनगणनाअनुसार रुकुम पश्चिम, जाजरकोट, सल्यान, बझाङ र बाजुरामा एक लाख ८७ हजार ८० घरधुरी संख्या छ । 

सुझावित समाचार