अवैध २० तोला सुन र १६२ तोला चाँदीसहित भारतीय पक्राउ

मंगलबार, १९ मंसिर, २०८०
डिजिटल संस्करण

काभ्रेको बनेपामा अवैध २० तोला सुन र एक सय ६२ तोला चाँदीसहित एक भारतीय पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सोमबार बेलुकी बिल नभएको सुन–चाँदीजस्तो देखिने धातु र स्रोत नखुलेको रकम बरामद गरेको हो ।

भारत महाराष्ट्र प्रदेश साङ्ली जिल्ला घर भई हाल बनेपा नगरपालिका- ७ वकुटोल सूर्य शाक्यको घरमा भाडामा बस्ने ३९ वर्षीय सचिन विभुतेको साथबाट अवैध सुनचाँदीसहित नेपाली र भारतीय नगद बरामद गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भारतीय नागरिक विभुतेको साथबाट बिल नभएको सुनजस्तो देखिने पहेँलो धातु २० तोला, चाँदीजस्तो देखिने सेतो धातु एक सय ६२ तोला बरामद गरेको श्रेष्ठको भनाइ छ । भारतीय नागरिक विभुतेको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ पाँच लाख ७६ हजार एक सय ३५ र भारतीय रुपैयाँ २२ हजार पनि बरामद गरेको प्रहरीले जनाएका छन्।

उक्त सामान र भारतीय नागरिक विभुते इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेका छन् । सुन र चाँदीजस्तो देखिने धातु राजस्व अनुसन्धान कार्यालयमा पठाउने तयारी गरिएको प्रहरीले जनाएकाे छ । भारतीय नागरिक विभुते सुनचाँदीको कालिगढ रहेको स्थानीयले बताएका छन् ।

See More On

सुझावित समाचार