मकवानपुरको हेटौँडामा खाग (अरिंगालजस्तै किरा)ले टोकेर दुईजना बिरामी परेका छन्।
बिरामी हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीकी ३२ वर्षीया सरू दंगाल र सोही स्थानकी ४५ वर्षीया मन्दिरा घिमिरे रहेकाे प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार उनीहरूलाई सोमबार दिउँसोको समयमा दंगालको घरमा आएर बसेको खागले शरीरका विभिन्न भागमा टोकेको हो। खागको टोकाइबाट दुवैको अनुहार र टाउकोलगायत शरीरका विभिन्न भागमा चोट पुगेको छ।
प्रवक्ता भण्डारीका अनुसार खागको टोकाइबाट दंगाल गम्भीर बिरामी परेका र उनका छिमेकी घिमिरेको अवस्था मध्यम रहेको छ। उपचारका लागि हेटौँडा अस्पताल आएका उनीहरूको प्राथमिक उपचारपछि गम्भीर अवस्थाकी दंगाललाई तत्काल थप उपचारको लागि भरतपुर रिफर गरिएको छ।
मध्यम अवस्थाकी घिमिरेको भने हेटौँडा अस्पतालमा उपचार चलिरहेको प्रवक्ता भण्डारीले जानकारी दिए।