द्रुत बस सञ्चालन प्रभावकारी नभएको प्रश्न उठिरहेका वेला सरकारले थप ११ वटा द्रुत बस थपेको छ । यससँगै आइतबारदेखि ३६ वटा बस सञ्चालन हुनेछन् । बिहान र बेलुकी पिक आवरमा द्रुत बस कम भएको गुनासो आएको र बस सञ्चालन प्रभावकारी देखिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस थप्ने निर्णय गरेको हो । आइतबारदेखि थपिने ११ बसको यात्रा बिहान ८:३० बजेदेखि सूर्यविनायकबाट हुनेछ ।
मन्त्रालयले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग समन्वय गरी आइतबारदेखि बस थप गर्न र समयसीमासमेत परिवर्तन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ । सोहीअनुसार विभागले यातायात व्यवसायीसँग समन्वय गरी द्रुत बसको संख्या थप्ने र समयसीमासमेत परिवर्तन गर्ने भएको छ ।
ईश्वरीदत्त पनेरू प्रवक्ता, यातायात व्यवस्था विभाग
द्रुत बसबारे बाहिर नकारात्मक हल्ला छ, तर हामी यसलाई बन्द गर्दैनौँ । थप व्यवस्थित र प्रभावकारी बनाउँछौँ । द्रुत बसले धेरैलाई सहज भएको छ ।
अब आइतबारदेखि बिहान ८:३० बजे तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि द्रुत बस छुट्नेछन् । विभागले बेलुकीको समयसमेत परिवर्तन गरी दिउँसो ३:३० देखि नै दुई घन्टा सञ्चालन गर्ने भएको हो । बिहान ८:३० बजेदेखि १०:३० बजेसम्म तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि द्रुत बस छुट्नेछ भने दिउँसो ३:३० देखि ५:३० सम्म रत्नपार्कदेखि बस छुट्नेछ ।
यसअघिको समयसीमा व्यावहारिक नभएको र बस संख्या पनि निकै कम भएको भन्दै यसलाई व्यवस्थित पार्न लागिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए । उनका अनुसार बस संख्यासमेत थपिएकाले पहिलेभन्दा धेरै यात्रुले यसको फाइदा लिन सक्नेछन् ।
‘द्रुत बसबारे बाहिर नकारात्मक हल्ला छ, तर हामी यसलाई बन्द गर्दैनौँ । थप व्यवस्थित र प्रभावकारी बनाउँछौँ । द्रुत बसले धेरैलाई सहज भएको छ,’ पनेरूले भने । उनका अनुसार द्रुत बस छुट्ने समय र यात्रुको विवरण ट्राफिक प्रहरीले राख्दै आइरहेको छ ।
३ असारदेखि सुरु गरिएको द्रुत बस सेवालाई विहान ९–११ र बेलुकी ४–६ बजेसम्मको समय तोकिएको थियो । तर, यो समय व्यावहारिक नभएको र धेरै यात्रु द्रुत बस चढ्नबाट वञ्चित हुने अवस्था आएको भन्दै विभागले समय परिवर्तन गर्न लागेको हो ।
आइतबारदेखि थप गर्न लागिएको बस संख्या नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले व्यवस्थापन गर्नेछ । महासंघले हरेक दिन फरक–फरक बस यस नियमअनुसार सञ्चालन गर्नेछ । महासंघले हरेक दिन आलोपालो गरेर फरक–फरक बसलाई यस नियममा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको विभागका प्रवक्ता पनेरूले जानकारी दिए ।
उद्घाटनका दिन ट्राफिक व्यवस्था कडा पारेर शान्तिवाटिकादेखि सूर्यविनायकसम्म भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितको टोली ४५ मिनेटमा पुगेको थियो । तर, त्यसयता भने अस्तव्यस्त ट्राफिक व्यवस्थापन र पूर्वाधारको कमीका कारण प्रभावकारी बन्न नसकेको गुनासो छ ।
प्रवक्ता पनेरूका अनुसार सडक विभागले द्रुत बसको लेन पहिलेभन्दा थप व्यवस्थित पारिएको छ भने ठाउँ–ठाउँमा स्टेसन पनि सहज बनाइएको छ । त्यस्तै, ट्राफिक प्रहरीले पनि द्रुत बसलाई अवरोध हुन नदिने पिक आवरमा छुट्टै टिम खटाएको छ ।
यातायातविज्ञ आशिष गजुरेलले द्रुत बस थप व्यवस्थित बनाउन आवश्यक रहेको जानकारी दिए । ‘द्रुत बस बन्द गर्ने भनेर कतै–कतै सुनिन्छ, यसलाई बन्द गर्ने होइन, जतिसक्दो छिटो प्रभावकारी र व्यवस्थित बनाउने हो,’ उनले भने, ‘यस प्रकारको बस सेवा राजधानीजस्तो सहरमा चाहिन्छ, यसबाट अत्यावश्यक परेका यात्रुले लाभ लिन सक्छन् ।’
द्रुत बसबारे बाहिर नकारात्मक हल्ला छ, तर हामी यसलाई बन्द गर्दैनौँ । थप व्यवस्थित र प्रभावकारी बनाउँछौँ । द्रुत बसले धेरैलाई सहज भएको छ ।