हमासबाट २५ बन्धक रिहा

शुक्रबार, ८ मंसिर, २०८०
डिजिटल संस्करण
हमासबाट २५ बन्धक रिहा

तस्बिर : बिबिसी ।

गत ७ अक्टोबरमा इजरायलमा भएको हमलापछि चरमपन्थी संगठन हमासले अपहरण गरेकामध्ये २५ बन्धक भर्खरै रिहा भएका छन् । 

इजरायली मिडियालाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार हमासले अक्टोबर ७ को आक्रमणमा अपहरण गरेका १३ इजरायली र १२ थाई बन्धकलाई गाजामा रेडक्रसको जिम्मा लगाएको हो ।

रिपोर्टहरू भन्छन्– बन्धनमुक्त भएका उनीहरूलाई इजिप्टको सीमातर्फ लगिँदै छ । तर, इजरायली सरकारले आधिकारिक रूपमा यसको पुष्टि गरेको छैन । 

हमासले सबैभन्दा पहिले १२ थाई बन्धकलाई रिहा गरेको थियो । त्यसको केही समयपछि इजरायलका १३ बन्धनलाई पनि रेडक्रसको जिम्मा लगाएको हो । इजरायली जेलमा राखिएका ३९ प्यालेस्टिनी बन्दीलाई आजै वेस्ट बैंकमा रिहा गरिनेछ ।

इजरायल र हमासले चार दिनमा कुल ५० जना बन्धक र एक सय ५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने सम्झौता गरेका छन् । कतारको मध्यस्थतामा भएको सम्झौतामा चार दिनको लडाइँ रोकिएको छ । 

यससँगै थप सहायतालाई गाजामा पनि अनुमति दिइएको छ । चिकित्सा आपूर्ति, इन्धन र खाद्यान्न बोकेका ६० लरीहरू आज इजिप्टबाट प्रवेश गरेका छन् । 

अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा एक हजार दुई सयजनाको मृत्यु भएको थियो भने दुई सय ४० जनालाई बन्धक बनाएको थियो ।
त्यसयता, इजरायलको प्रतिशोध अभियानमा १४ हजारभन्दा बढी मानिस मारिएको गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । (एजेन्सीकाे सहयाेगमा)

सुझावित समाचार