इजरायलको प्रतिक्रियापछि गाजामा युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

बिहिबार, ७ मंसिर, २०८०
डिजिटल संस्करण

इजरायलले चारदिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ।इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ। 

इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजराइली तथा विदेशी बन्धकहरूको रिहाइ अहिले पनि जारी रहेको, तर अपेक्षाअनुसार बिहीबार यस्तो नहुने संकेत गरेका छन्। 

‘हाम्रा बन्धकहरूको रिहाइका लागि सम्पर्क अगाडि बढेको छ र यो जारी छ,’ उनले एक विज्ञप्तिमा भनेका छन्, ‘रिहाइको सुरुवात पक्षहरूबीचको मूल सम्झौताअनुसार हुनेछ र शुक्रबारभन्दा पहिला हुनेछैन।’

अर्का इजरायली अधिकारीले युद्धमा अस्थायी रोक बिहीबार पनि सुरु नहुने बताएका छन्। यो ढिलाइ आफ्ना प्रियजनहरूलाई घर फर्केको हेर्नका लागि चिन्तित परिवार र ४७ दिनको युद्ध तथा अभावको समाप्तिका लागि प्रार्थना गरिरहेका २० लाखभन्दा धेरै गाजावासीहरूका लागि ठूलो झट्का हो।

जटिल तथा सावधानीपूर्वक तयार गरिएको सम्झौतामा इजरायल र हमास चारदिने युद्धविराम गर्न सहमत भएका छन्। सम्झौताअन्तर्गत प्यालेस्टिनी लडाकु समूहले अक्टोबर ७ मा गरेको घातक हमलामा बन्धक बनाइएकामध्ये कम्तीमा ५० व्यक्तिलाई रिहा गरिनेछ।

रिहा गरिएका प्रत्येक १० अतिरिक्त बन्धकका लागि युद्धमा एक अतिरिक्त दिनको ‘विराम’ हुने इजराइली  सरकारले एक दस्ताबेजमा बताएको छ। रिहाइका लागि तोकिएकामध्ये तीन वर्षीय अबिगैल मोर इदानसहित तीन अमेरिकी छन्।

बदलामा इजरायलले कम्तीमा एक सय ५० प्यालेस्टिनी महिला तथा बालबालिकालाई रिहा गर्नेछ र हप्तौँको बमबारी तथा ठूलो लडाइँपछि घेरामा परेको तटीय क्षेत्रमा थप मानवीय सहायतालाई अनुमति दिनेछ।

इजरायल, प्यालेस्टिनी लडाकु समूह, कतार, इजिप्ट र अमेरिका सम्मिलित धेरै साताको कुराकानीपछि भएको सम्झौताको कार्यान्वयनमा भएको यो ढिलाइका कारण तत्काल स्पष्ट हुन सकेको छैन।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले बिहीबार सम्झौताको कार्यान्वयन ‘जारी रहेको र सकारात्मक रूपमा भइरहेको’ बताए। ‘अबको केही घन्टामा युद्धविराम सम्झौताको टुंगो लगाइनेछ,’ उनले भने। 

सुझावित समाचार