पृथ्वीका लागि हानिकारक छन् अर्बपति

अर्बपतिहरू आममानिसभन्दा धेरै शक्तिशाली छन्, त्यसलाई उनीहरू पृथ्वीलाई संकटमा पुर्‍याउने गरी प्रयोग गर्नसमेत हिचकिचाउँदैनन्

बिहिबार, ७ मंसिर, २०८०
डिजिटल संस्करण

जलवायु संकटबारे कुरा हुदाँ धेरै जना पृथ्वीमा रहेका मानिसहरूको उच्च संख्यालाई लिएर गम्भीर चिन्ता जनाउन पुग्छन् । तर, जनसंख्या आफैँमा समस्या होइन, किनभने बंगलादेशका किसान वा ब्राजिलका सडक व्यापारीले क्यालिफोर्नियाका भेन्चर क्यापिटालिस्ट (पुँजीपति) वा रुस र मध्यपूर्वका पेट्रोल उत्पादक अर्बपतिको एक छेउ पनि उत्सर्जन गर्दैनन् । विश्वका एक प्रतिशत धनीले विपन्न ६६ प्रतिशतले भन्दा बढी कार्बन उत्सर्जन गर्छन्, (अर्थात् विश्वको एक प्रतिशत जनसंख्याले बाँकी ६६ प्रतिशतले भन्दा धेरै उत्सर्जन गर्छन्) । यसकारण, धनीहरू पृथ्वीका लागि हानिकारक छन् । उनीहरू जति धनी हुँदै जान्छन्, उनीहरूको प्रतिकूल प्रभाव पनि उत्तिकै बढ्दै जानेछ ।

अर्काे शब्दमा भन्दा पृथ्वीका हामी सबै मानिस एउटै आकारका छैनौँ । हाम्रो राजनीति र वातावरणमा अर्बपतिहरू हाबी छन् । उनीहरू कति हाबी छन् भनेर बुझ्न उनीहरूको सम्पत्तिको आश्चर्यजनक स्केलबारे कुरा गर्नुपर्ने हुन्छ । उनीहरूले गर्ने कार्बन उत्सर्जनको स्केल, राजनीति र सार्वजनिक जीवनमा उनीहरूको छेडखानीको प्रभावको अर्थ उनीहरू बाँकी मानवजस्ता होइनन् भन्ने नै हो । उनीहरू भीमकाय छन् र उनीहरूले आफ्नो  भीमकाय शक्ति अक्सर कुरूप तरिकामा प्रयोग गर्छन् । उनीहरूले कति उपभोग गर्छन् र विश्वको जलवायु प्रतिक्रियालाई कति प्रभावित गर्छन् भन्ने दुवै कुरामा उनीहरू कुरूप देखिन्छन् । 

म यसलाई यसरी राख्न चाहन्छु, यदि तपाईंले हप्तामा १० हजार डलर कमाउनुहुन्छ भने (यतिको कमाइ भनेको अधिकांश मानिसको स्तरअनुसार राजसी आय हो) एक अर्ब डलर कमाउन तपाईंले परमेश्वर यशु जन्मेको वर्षदेखि अहिलेसम्मका प्रत्येक हप्ता काम गर्नुपर्ने हुन्छ । फोब्र्सका अनुसार हाल एलन मस्कसँग रहेको कुल सम्पत्ति एक खर्ब ८० अर्ब अमेरिकी डलर कमाउन तपाईंले अफ्रिकामा होमो सेपियन्स पहिलोपटक देखापरेकोभन्दा पहिलेको समयदेखि अर्थात् झन्डै साढे तीन लाख वर्षदेखि अहिलेसम्मका कुनै पनि हप्ता नबिराई अविराम काम गर्नुपर्ने हुन्छ । 

यसलाई अर्काे तरिकाले भनौँ । गत वर्ष एक दिन, सान फ्रान्सिस्कोको पश्चिमी किनारामा प्रशान्त महासागरलाई नियाल्दै हिँड्दा मैले ह्वेलहरूले चीत्कार गरेको सुनेँ र घर आएपछि आफ्नो झ्यालमा भुनभुनाउँदै गरेको एउटा मौरीलाई उद्धार गरेर बचाएँ । यी दुई प्राणीको शरीरको आकारको अत्यासलाग्दो भिन्नताले मलाई प्रभावित गर्यो । यसैले मैले यस्तो हिसाब निकाले, एउटा माहुरीको वजन लगभग ०.११ ग्राम हुन्छ र चार हजार मौरीको तौल बल्ल एक पाउन्ड हुन्छ । एउटा खैरो ह्वेलको तौल ६० हजारदेखि ९० हजार पाउन्डसम्म हुन्छ, जसको अर्थ कम तौलको एउटा ह्वेलमा पनि २५ करोड मौरीको तौल हुन्छ । 

अक्सफामका अनुसार विश्वका ८१ जना अर्बपतिसँग विश्वको आधा जनसंख्यासँग भएकोभन्दा धेरै सम्पत्ति छ । अर्थात् आर्थिक हिसाबले ८१ जना मानिस चार अर्ब मानिसभन्दा ठूला छन् । त्यसैले जब सम्पत्ति र प्रभावको कुरा आउँछ, अर्बपतिहरू ह्वेल हुन् भने विपन्न मानिसहरू मौरी हुन् । यद्यपि ह्वेल मौरीका लागि खतरा होइन, तर अर्बपतिहरू बाँकी हाम्रा लागि खतरा हुन् । उनीहरूको राजनीतिक आकारले हाम्रो सार्वजनिक जीवनलाई खर्लप्पै छोपिदिन्छ । धनी, गोरा र पुरुषहरूले अनिर्वाचित शक्तिका रूपमा कार्य गर्छन् । 

विश्वका अति धनी एक प्रतिशत ठूला जलवायु विनाशक त हुन् नै, उनीहरू यो संकटप्रतिको विश्वको पहलकदमीलाई पनि प्रभावित तुल्याउँछन्
 

यी भनेका एक प्रकारका स्वतन्त्र विश्वव्यापी अभिजात वर्ग हुन्, जसले अक्सर हामी बाँकीमाथि शासन गर्ने प्रयास गरिरहेका हुन्छन् । केहीको आलोचना छ– यति धेरै आधुनिक अर्बपतिहरू जन्माउने यी सुपरजायन्ट टेक कर्पाेरेसनहरू पुँजीवादभन्दा पनि सामन्तवादको झल्को दिने गरी सञ्चालित छन् । र, अधिकांश अर्बपतिहरू यो पृथ्वीका मालिक हुँ जस्तो व्यवहार गर्छन् । उनीहरू आफूलाई यतिविधि धनी र बाँकीलाई अत्यन्त गरिब बनाउने आर्थिक असमानतालाई रक्षा गर्ने अभियान चलाइरहेका छन् । उनीहरू आफ्नो शक्तिलाई स्वेच्छाचारी, लापरबाह र अक्सर वातावरणीय रूपले विनाशकारी तरिकामा प्रयोग गर्छन् ।

अब मस्कले ट्विटर कसरी किने, त्यो हेरौँ । कसरी विपत्तिमा परेका लाखौँ मानिस, पत्रकार र वैज्ञानिकका लागि एउटा महत्वपूर्ण समाचार स्रोत ट्विटरलाई एक्समा परिणत गरे । कसरी त्यसलाई जलवायु परिवर्तनलाई अस्वीकार गर्ने, यहुदीप्रति घृणा फैलाउने र निर्बाध झूट विस्तारका लागि स्वर्ग बनाए । कसरी आफ्नो उपग्रह–सञ्जाल र अन्य सम्पत्तिको बलमा विशाल राजनीतिक शक्ति नियन्त्रण गरेका छन्, ती कुरालाई हेरौँ । न्युयोर्कर लेख्छ, ‘कुनै एउटा नागरिक राष्ट्रहरूबीचको युद्धको मध्यस्थकर्ता बनेको कुनै उदाहरण थिएन । साथै, ऊर्जा र यातायातको भविष्यदेखि अन्तरिक्षको अन्वेषणसम्मका विभिन्न क्षेत्रमा मस्कमाथि अमेरिकाको निर्भरताको डिग्री अभूतपूर्व छ । इतिहासमा एउटा व्यक्ति यति शक्तिशाली भएको नजिर छैन ।’

अब बिल गेट्स (१०४ अर्ब अमेरिकी डलरसहित विश्वका छैटौँ धनाढ्य)ले कसरी जलवायु नीतिलाई प्रभावित गर्ने निर्णय गरेका छन्, त्यो हेरौँ । दशकौँअघि वासिंटन तालको किनारमा आफ्नो घर बनाए । ६ वटा भान्सा, २४ वटा बाथरुम भएको घरमा एकजना मानिसले कति मलमूत्र निकाल्छ होला ? सीधा शाब्दिक अर्थमा उनले धेरै खान्छन् र उत्सर्जन गर्छन् । उनी निजी जेटका सौखिन छन् । बिजनेस इन्साइडरको एक लेखअनुसार गेट्सको आलिसान घरअघिको समुद्री किनारामा क्यारेबियन क्षेत्रबाट डुंगामा ओसारिएका बालुवा बिछ्याइएको छ  । 

गेट्स विश्वको सबैभन्दा ठूलो निजी फाउन्डेसन चलाउँछन् । र, यसले स्वास्थ्य र जनजीवनमा विशेषगरी अफ्रिकामा पारेको प्रभावको आलोचना हुँदै आएको छ । अहिले चाहिँ उनी जलवायु नीतिलाई प्रभावित पार्ने प्रयास गरिरहेका छन् । यी प्रविधि अर्बपतिहरूको एउटा विशेषता के हुन्छ भने उनीहरूमा आफूले चाहेको कुनै पनि क्षेत्रमा प्रभाव पार्न सक्ने आफ्नो क्षमतामा असीम आत्मविश्वास हुन्छ । पैसा बोल्छ, अझ भनाैँ चिच्याउँछ नै ।

गेट्सले हामीलाई ‘ऊर्जामा चमत्कार’ र ‘स्वच्छ ऊर्जामा क्रान्ति’ चाहिएको कुरामा जोड दिएका छन् । उनले सन् २०१६ मा घोषणा गरेका थिए, ‘यदि विश्वले सस्तो, स्वच्छ ऊर्जाको स्रोत फेला पार्न सक्यो भने यसले जलवायु परिवर्तनलाई रोक्नेभन्दा बढी काम गर्नेछ ।’ जबकि हामीसँग अहिले नै सस्तो सौर्य तथा वायु ऊर्जा छ । तर गेट्स हामीसँग भएका रोडम्यापहरूलाई बेवास्ता गर्दै स्वच्छ ऊर्जातर्फको संक्रमणको नयाँ योजना देखाउँदै छन् । लाइभ साइन्स नामको साइटले उनको घोषणामा टिप्पणी गरेको छ, ‘बिल गेट्सले जलवायु परिवर्तनमा १४ वर्ष पुरानो सूत्र पत्ता लगाए ।’ जलवायु वैज्ञानिक माइकल म्यान लेख्छन्, ‘गेट्सको डरलाग्दो विचारमा ‘सीधै वायु कब्जा’का रूपमा चिनिने अपेक्षाकृत निष्क्रिय तर निषेधात्मक रूपमा महँगो प्रस्तावना (वायुमण्डलबाट कार्बनजन्य प्रदूषणलाई तानेर हटाउने)’ समाविष्ट छ । 

मेरो विचारमा सौर्य विकिरण व्यवस्थापन धेरै खतरनाक कुरा हो । यो वायुमण्डलको स्ट्रैटोस्फियर (जमिनदेखि माथितर्फ वायुमण्डलको दोस्रो तह)मा सल्फरडाइअक्साइडको ठूलो परिणाम छर्किएर विकिरणलाई परावर्तन गर्ने च्यादर निर्माण गर्ने र पृथ्वीलाई चिसो राख्न मद्दत गर्ने अप्रमाणित अवधारणा हो । यदि गेट्ससँग औसत व्यक्तिको समान प्रभाव हुन्थ्यो भने जलवायुबारेका उनका गलत अवधारणाले कुनै फरक पार्ने थिएन, तर समस्या के भने उनीसँग अथाह शक्ति छ । 

विश्वका २७ सय हाराहारीका डलर अर्बपतिहरूको एकचौथाइ संयुक्त राज्य अमेरिकामा छ र तीमध्ये दुई टम स्टेयर, जसले विभिन्न जलवायु समूहलाई भव्य दान दिएका छन् र उनको आफ्नै पोलिटिकल एक्सन कमिटी पनि छ । त्यसपछि माइकल ब्लुमबर्ग, जसले बियोन्ड कोइला नामक अभियानमा पर्याप्त राशि दिएका छन्, उनीहरूले वास्तवमा सकारात्मक प्रभाव पारेका छन् । तर, अतिशय सम्पत्ति आफैँमा लोकतन्त्रका लागि खराब हुन्छ । उनीहरूले मतपेटिकालाई प्रभाव तुल्याउँदा एक व्यक्ति एकमत प्रणाली नै सम्झौतामा पर्छ । (थुप्रै अमेरिकी अर्बपतिहरूले उम्मेदवार, पार्टी र चुनावी अभियानहरूलाई सहयोग गरेका छन्, जसले मतदान अधिकारको साथसाथै अमेरिकाको धेरै भागमा जलवायु कार्यलाई कमजोर बनाएको छ) ।

एक अर्बपति हुनुले तपाईंलाई बाँकी मानवताबाट अलग गर्छ र अक्सर तपाईंलाई तपाईं आफैँले बनाएको प्रतिध्वनिको कक्षमा राख्छ । यो आममानिसहरूको मामिलामा सहभागिता जनाउन एउटा अयोग्यता हो । अधिकांश अर्बपतिहरू स्वार्थी वा आत्मकेन्द्रित हुन्छन् । उनीहरू हामी बाँकीभन्दा आफूलाई धेरै धनी बनाउने असमानता र शोषणको रक्षा गर्छन् । धेरै देशका सर्वेक्षणहरूले के देखाउँछ भने अधिकांश जनता जलवायु कार्य र यसको लागि लगानी भएको हेर्न चाहन्छन् । तर, समस्या जनमत होइन, जीवाश्म इन्धन कम्पनी र अभिजात वर्गका निहित स्वार्थ हुन् । यही कारण, अधिकांश अमेरिकी जलवायु र वातावरणीय संगठनहरूले लोकतन्त्र र मतदान अधिकारलाई आफ्नो कामको हिस्सा बनाएका छन् ।

एकाध राम्रा अर्बपतिहरूले यो प्रजातिको अस्तित्वलाई जायज ठह¥याउन सक्दैन । त्यसैले किम स्टेन्ली रोबिन्सनको क्लाइमेट फिक्सन ‘द मिनिस्ट्री फर द फ्युच‘मा अर्बपतिहरूलाई जलवायु जोखिमको रूपमा उन्मूलन गरिएको छ । उनीहरूको सम्पत्ति पाँच करोड डलरमा झारेको छ । रबिन्सन लेख्छन्, ‘पृथ्वीमा उपलब्ध स्रोतसाधन सबै आठ अर्ब मानिसमा समान रूपमा बाँडिएको हुन्थ्यो भने सबैजना ठीक हुने थिए भनेर देखाउने बलिया वैज्ञानिक प्रमाण छन् । वैज्ञानिक प्रमाणले यस्ता मानिस धनी मानिसभन्दा स्वस्थ र खुसहाल हुने कुरालाई बलियो समर्थन गर्छन् ।’ समृद्ध पृथ्वीमा मानिस–मानिसकै स्केल(आकार)मा हुनुपर्छ । तर, अति धनाढ्यहरू पूरै अर्काे स्केल (आकार)मा छन् । यी भीमकाय राक्षसले प्रकृति र यसको रक्षा गर्ने हाम्रो प्रयास दुवैलाई खुट्टाले किचिमिची पारिरहेका छन् । 
– द गार्जियनबाट
 

See More On

सुझावित समाचार