आर्थिक विकासमा जर्मनीभन्दा फ्रान्स अगाडि

पछिल्ला वर्षमा आर्थिक प्रगति गरेको फ्रान्सले यो वर्ष क्रुज जहाज र विमान बेचेरै अर्बौँ युरो कमाएको छ

मंगलबार, ५ मंसिर, २०८०
डिजिटल संस्करण

आर्थिक सुधारको कमी र उच्च बेरोजगारीका कारण कुनै वेला फ्रान्सलाई युरोपकै ‘बिरामी’ देश मानिन्थ्यो । तर, अब स्थिति फेरिएको छ । फ्रान्सको अर्थतन्त्रमा यो वर्ष अर्थात् सन् २०२३ को दोस्रो त्रैमासमा ०.६ प्रतिशत र तेस्रो त्रैमासमा ०.१ प्रतिशतको वृद्धि भएको छ । तर, जर्मनीमा भने तेस्रो त्रैमासमा उत्पादनमा गिरावट देखिएको छ । उक्त गिरावटले आर्थिक मन्दी अझै लम्बिन सक्ने अर्थशास्त्रीले आकलन गरेका छन् । 

अर्थशास्त्रीले पछिल्ला कही वर्षमा फ्रान्सले गरेको प्रगतिको प्रशंसा गरेका छन् । अर्थशास्त्री तथा पेरिसस्थित थिंक ट्यांक सेक्र्ल डिपार्नियाका प्रमुख फिलिप क्रेभेलका अनुसार फ्रान्सका कम्पनीले यो वर्ष क्रुज जहाज र विमान बेचेर अर्बौं युरो कमाए । यो वृद्धि फ्रान्सको तथ्यांकमा पनि देखिन्छ । 

फ्रान्स–जर्मनीबीच संरचनागत अन्तर :  त्यसो त यी दुई देशमा संरचनागत फाइदा पनि छन् । फ्रान्ससँग ठूलो सर्भिस सेक्टर छ । उक्त सर्भिस सेक्टरबाट पछिल्ला दिनमा राम्रै नतिजा आएको छ, विशेषगरी पर्यटन क्षेत्रमा । हिजोआज स्पेनको अर्थतन्त्र बढ्नुमा पनि यही कारण मानिन्छ । 

फ्रान्सको वृद्धि र व्याख्या गर्दै क्रेभेल, परम्परागत रूपमा जर्मनीको अर्थतन्त्र बलियो औद्योगिक क्षेत्र र निर्यातमा निर्भर रहेको बताउँछन् । तर, अब जर्मनीको अर्थतन्त्रमा अन्तर्राष्ट्रिय व्यापारमा विवादको प्रभाव देखिन थालेको छ । यसका साथसाथै चीन, अमेरिका र युरोपियन युनियन (इयू) बीच व्यापारिक होडको पनि असर देखिन थालेको छ ।

कारण, यी सबैले आ–आफ्ना सीमा तय गर्न थालेका छन् । त्यसो त ऊर्जाको उच्च मूल्यको प्रभाव पनि जर्मनीमा नपरेको होइन । यही कारणले गर्दा जर्मनीका उद्योगलाई उत्पादन र यातायात लागतमा भार परेको छ । हालसम्म जर्मनी रुसबाट पाइपलाइनमार्फत हुने ग्यास आपूर्तिमा अधिक निर्भर थियो । सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला ग¥यो । त्यसपछि भने जर्मनीले रुसबाट आयात बन्द गर्यो । यसको ठीक विपरीत फ्रान्ससँग सस्तो परमाणु ऊर्जा छ । विद्युत् उत्पादनमा परमाणु ऊर्जाको हिस्सा ७० प्रतिशत रहेको मानिन्छ । 

राष्ट्रपति इमानुएल म्याक्रों सत्तामा आएपछि लागू गरेका महŒवाकांक्षी सुधार नै हालको परिणाम हो । म्याक्रोंले कर्पोरेट ट्याक्स घटाए, श्रम बजारलाई उदार बनाए, बेरोजगारी बिमामा सुधार गरे र पेन्सन सुधारलाई अगाडि बढाए ।
 

जलवायु नीति र जर्मनी अटो उद्योगमा परेको प्रभावले पनि ठूलो भूमिका खेलेका छन् । यी क्षेत्र अहिलेसम्म विद्युतीय सवारीसाधनको यात्रामा परिवर्तनका लागि अनुकूल बनिसकेका छैनन् । विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्रीको उत्पादन अझै पनि चीनमा भइरहेको छ । 

संकटमा फ्रान्सको प्रतिक्रिया :  पेरिसस्थित अडिटिङ कन्सल्टेन्सी बिओडीका मुख्य अर्थशास्त्री सोफी आल्सिफका अनुसार फ्रान्सको आर्थिक प्रदर्शन धेरै हदसम्म घरेलु खपतमा निर्भर छ । पछिल्ला केही वर्षमा संकटले घरेलु मागलाई प्रभावित बनाए पनि मागमै भने गिरावट आएको छैन । 

रुस–युक्रेनबीचको जारी युद्धबाहेक विश्वले कोभिड महामारी पनि झेल्नुपर्यो । यो संकटलाई फ्रान्सले तुलनात्मक रूपमा राम्रैसँग पार गर्यो । महामारीका वेला देशले परिवार र कम्पनीलाई उनीहरूको खपत र लगानी जारी राख्न ठूलो परिमाणमा अनुदान र कर्जा उपलब्ध गरायो । त्यसैगरी, ऊर्जा संकटमा पनि फ्रान्सले आफूलाई बलियो प्रस्तुत गर्दै सरकारको समर्थनमार्फत अर्थतन्त्रलाई बचायो ।

 सुधार ल्याउँदै म्याक्रों :  फ्रान्सेली अर्थतन्त्रले अहिले जुन खालको आर्थिक प्रदर्शन गरेको छ, त्यसका थुप्रै कारण छन् । राष्ट्रपति इमानुएल म्याक्रों सन् २०१७ मा सत्तामा आएपछि उनले लागू गरेका महत्वाकांक्षी सुधार नै हालको परिणाम हो । म्याक्रोंले कर्पोरेट ट्याक्स घटाए, श्रम बजारलाई उदार बनाए, बेरोजगारी बिमामा सुधार गरे र जनताले मान्न राजी नभएको पेन्सन सुधारलाई अगाडि बढाए । 

म्याक्रोंका सुधार एजेन्डाको प्रभावले देशमा बेरोजगारी दर पनि घटाएको छ । जुन विगत दुई दशकमा सर्वाधिक कम अर्थात् ७ प्रतिशत छ । तर, यसबारे अर्थशास्त्री काथरिन माच्युको धारणा विपरीत छ । पेरिसस्थित साइन्सेस पो युनिभर्सिटीमा इकोनोमिक अब्जर्भेटरीमा अर्थशास्त्री रहेका माच्यु फ्रान्सको अर्थतन्त्र कुनै आदर्श नभएको बताउँछन् । ‘जर्मनीले पछिल्ला तीन वर्षमा खराब प्रदर्शन गरेको छ भन्ने होइन,’ उनी भन्छन्, ‘सन् २०१९ को अन्त्यदेखि युरोजोनको जिडिपी औसत ३.१ प्रतिशतले बढेको छ । १.७ प्रतिशतको वृद्धिसहित फ्रान्स यो सूचीमा कहीँ बीचमा छ । तर, जर्मनी ०.२ प्रतिशतको वृद्धिसहित सबभन्दा तल्लो स्तरमा छ ।’

फ्रान्सको सफलताको नकारात्मक कदम :  खासमा फ्रान्सले जर्मनीको पदचाप पछ्याउँदै छ र नयाँ शिराबाट औद्योगीकरणलाई जोड दिएको छ । यसबाहेक युरोजोनका देशले भिन्दाभिन्दै संरचना भएको अर्थतन्त्र विकसित गर्नुपर्छ । कारण, सबै देश एकैपटक मन्दीमा नधकेलिऊन् । यद्यपि, फ्रान्सको सफलतामा केही नकारात्मक पक्ष पनि छन् । देशको सार्वजनिक कर्जा तीन ट्रिलियन (३०० खर्ब) पुगेको छ । यो जिडिपीको तुलनामा करिब ११३ प्रतिशत हो, जुन २०१९ मा मात्र १०० प्रतिशत थियो । त्यसैगरी, वार्षिक बजेट घाटा पनि पाँच प्रतिशत छ । यो ब्रसेल्सले तय गरेको घाटाको तीन प्रतिशतको सीमाभन्दा बढी नै हो । कैयौँ अर्थशास्त्रीले माथिका विभिन्न सुधारका कारण फ्रान्स तत्कालै टाट नपल्टिने बताउँछन् । तर, यसको असर भने फ्रान्सको कुल कर्जामाथि पर्नेछ ।
 

सुझावित समाचार