नक्सालमा ‘होलिडे इन एक्सप्रेस’

आइतबार, ३ मंसिर, २०८०
डिजिटल संस्करण

नक्सालमा अन्तर्राष्ट्रिय चेन होटेल ‘होलिडे इन एक्सप्रेस’ सञ्चालनमा आएको छ । हस्तकला निकासीकर्ता नरेशलाल श्रेष्ठ, महेश्वर श्रेष्ठ र सुजित श्रेष्ठले दुई अर्ब लगानीमा होटेल सञ्चालनमा ल्याएका हुन् । 

अन्तर्राष्ट्रिय चेन आइजिएचको ‘होलिडे इन एक्सप्रेस’ ब्रान्ड पहिलोपटक नेपाल भित्रिएको हो । होटेलमा एक सयवटा कोठा रहेका छन् । जसको इन्ट्रोडक्टरी प्राइस ८० देखि सय डलरसम्म तोकिएको छ । दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटेलमा दुईवटा बैंक्वेट हल र दुईवटा रेस्टुरेन्ट रहेका छन् । होटेलको छेवैको दुई रोपनीमा सपिङ मल, बैंक्वेट हल, स्विमिङ पुल, गेमिङ जोन निर्माण गर्ने तयारी छ ।

अग्लो भवन हुनाले छतबाट काठमाडौं भ्यालीसहित हिमाली दृश्यावलोकन गर्न सकिन्छ । होटेलको उद्घाटन गर्दै मन्त्री किराँतीले आतिथ्य सत्कारमा नेपालीपन हुनुपर्नेमा जोड दिए । उनले भने, ‘प्रकृति र संस्कृति जोगाएर नेपालीपनको पर्यटन गर्नुपर्छ ।’ विदेशबाट पर्यटक ल्याउने मात्र भन्दा पनि उनीहरूलाई लामो समय रोक्न सक्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री किराँतीले हवाई टिकटमा लगाइएको भ्याट हटाउन पहल गरिरहेको बताए । बिग्रिएको सडक, महँगो अन्तर्राष्ट्रिय हवाई भाडा, हवाई भाडामा लगाइएको भ्याट, एयरलाइन्स तथा पार्टपुर्जामा लगाइएको भ्याटले पर्यटन विकासमा समस्या पार्ने उनको भनाइ थियो । उनले तीनवटा साना जहाज खरिद गर्न टेन्डर आह्वान गरिसकेको बताउँदै तिहारपछि थप तीनवटा जहाज खरिद गर्न टेन्डर माग्ने तयारी भइरहेको बताए । 

See More On

सुझावित समाचार