दुई नेताबीच भएको वार्तामा बाइडेनले सीलाई आफ्नो प्रभाव उपयोग गरेर विश्वव्यापी तनावलाई शान्त पार्न अपिल गरेका छन्
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एक वर्षपछि एपेक सम्मेलनको साइडमा भेटवार्ता भयो । गत वर्ष इन्डोनेसियाको बालीमा भएको एपेक वैठकको ठ्याक्कै एक वर्षपछि यी दुई नेताबीच भेटवार्ता भयो ।
दुई देशका प्रतिनिधिबीच औपचारिक द्विपक्षीय बैठकका अतिरिक्त, बाइडेन र सीले तिनका शीर्ष सल्लाहकारलाई साथमा राखेर लन्च गरे । त्यस्तै दुई नेताले सम्मेलन आयोजनास्थलबाहिरको हरियाली मैदानमा टहल्दै छलफल पनि गरे । बैठकपछि पत्रकारसँग बोल्ने क्रममा बाइडेनले आफूहरूबीच ‘केही रचनात्मक र फलदायी छलफल भएको’ टिप्पणी गरे । त्यस्तै दुई देशबीच ‘सञ्चार लाइन खुला राख्ने’ सहमति भएको र उच्च तनावको समयमा यो सानो उपलब्धि नभएको बताए ।
बाइडेनले सम्बन्धमा न्यानोपन वृद्धिको संकेत गरे । बाइडेनका अनुसार चीनले अमेरिकालाई नयाँ पान्डा पठाउनेछ । चीनले यही महिनाको सुरुमा वासिंटनस्थित स्मिथसोनियन राष्ट्रिय चिडियाखानाका तीनवटा चिनियाँ पान्डा फिर्ता गरेको थियो । त्यसलाई दुई देशको सम्बन्ध थप तिक्त बनेको भनि व्याख्या गरिएको थियो । सीले अमेरिकी, त्यसमा पनि विशेषतः बालबालिका दुर्लभ पान्डालाई बिदा गर्न ‘अनिच्छुक’ रहेको थाहा पाएको बताएका थिए । आफूले दुई देशका जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सघन बनाउन चाहेको सीले बताए ।
नयाँ सम्झौता
दुई विश्वनेताबीचको भेटावार्तामा केही सम्झौता पनि भए । सीले अमेरिकामा बेचिने औषधिको एक घातक तत्व ‘फेन्टानिल’को उत्पादनलाई रोक्न मद्दत गर्ने सहमति जनाए । ‘यसले धेरैको ज्यान जोगाउन सघाउनेछ । मैले यस विषयमा राष्ट्रपति सीको प्रतिबद्धताको कदर गर्छु,’ बाइडेनले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भने । साथै, बाइडेन र सीले दुई देशका सेनाबीचको सञ्चार पुनः सुरु गर्ने सहमति गरे । यस विषयमा विस्तारमा सहमतिका लागि अब अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले चिनियाँ समकक्षीसँग थप छलफल गर्नेछन् । यस्तै अन्तरक्रिया दुई देशका उच्च सैनिक अधिकारीबीच पनि हुनेछ ।
वार्तामा सहभागी अधिकारीका अनुसार बाइडेन सीलाई अमेरिका र चीनका सेनाबीचको यस्तो सञ्चार संस्थागत हुनु एकदम महत्वपूर्ण भएको जोड दिएका थिए । यो काम ‘एकले अर्कोलाई दयाको रूपमा वा सहुलियतको रूपमा दिएको सम्झिन नहुने बाइडेनले बताएको पनि तिनले भने । बाइडेनले अमेरिका र चीनबीच आर्टिफिसियल इन्टेलिजेन्सबारे पनि थप छलफल हुने बताए । ‘दुवै देशका विज्ञलाई सँगै राखेर हामी यसको जोखिम र सुरक्षाका मुद्दाबारे छलफल गर्नेछौँ,’ बाइडेनले भने ।
बर्सेनि हुने एपेक सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्तामा इजरायल र हमासबीचको द्वन्द्वलाई थप फैलिनबाट रोक्न इरानलाई दबाब दिनसमेत बाइडेनले माग गरेका छन् ।
काउन्सिल फर फरेन रिलेसन्समा चीन अध्ययनकी फेलो जो लिउले बाइडेन र सीबीचको भेटवार्ता एक सकारात्मक कदम भएको बताइन् । ‘हाल भएका सहमतिले द्विपक्षीय सम्बन्धमा संरचनात्मक चुनौतीमा तात्विक परिवर्तन गर्दैन, तर यसले थप विस्तृत छलफलका लागि मार्ग प्रशस्त गर्छ । अहिलेका लागि यही नै यस भेटको उपलब्धि हो,’ उनले भनिन् ।
चीनले महाशक्तिका रूपमा व्यवहार देखाउनुपर्ने
बेइजिङले लामो समयदेखि वासिंटनबाट समान व्यवहारको माग गर्दै आएको छ । बाइडेनले चीनको सो चाहनालाई सीसँग हाल विश्वमा जारी दुई युद्धलाई सम्बोधनका लागि दबाब दिन प्रयोग गर्न खोजे । दुई नेताबीचको वन टु वन छलफलमा बाइडेनले सीलाई आफ्नो प्रभाव प्रयोग गरेर विश्वव्यापी तनावलाई शान्त पार्न प्रयास गर्न अपिलसमेत गरे । इजरायल र हमासबीचको द्वन्द्वलाई थप फैलिन नदिन इरानलाई दबाब दिन बाइडेनले चीनसँग माग गरे । एक अमेरिकी अधिकारीका अनुसार बाइडेनले यस विषयमा उनको कुरा राखे भने सीले मुख्यतः सुन्ने काम मात्र गरे । त्यस्तै युक्रेनमा जारी रुसी आक्रमणका लागि चीनले सैन्य सहयोग नदिन अमेरिकाले पुनः जोड दियो ।
ताइवानको विषयमा चेतावनी
पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्धमा ताइबान मुद्दा सबैभन्दा पेचिलो मानिन्छ । पछिल्लो भेटमा बाइडेन र सीले ताइबानबारे ‘स्पष्ट भाषा’मा तर नरम रूपमा छलफल गरेको अमेरिकी अधिकारीले बताएका छन् । बाइडेनले संयुक्त राज्य अमेरिकाको ‘एक चीन’ नीतिमा पुनः जोड दिए । यसकोे प्रयोग शान्तिपूर्ण हुनुपर्ने विश्वासलाई फेरि दोहोर्याए ।
त्यस्तै अमेरिकाले ताइबानलाई एकीकरण गर्न मूल–भूमि चीनबाट हुने सक्ने बल प्रयोगलाई निस्तेजका लागि हतियार दिन जारी राख्ने पनि बाइडेनले दोहोर्याए । बेइजिङले आक्रमण गरेमा ताइबानलाई जोगाउन सीधै हस्तक्षेप गर्ने कि नगर्ने भन्ने विषयमा अमेरिकाले रणनीतिक अस्पष्टता कायम राख्दै आएको छ । एक अमेरिकी अधिकारीका अनुसार सीले बाइडेनलाई ताइबान आक्रमण गर्ने कुनै योजना नभएको बताए । त्यसपछि बाइडेनले ताइबानवरिपरिको समुद्रमा चीनको विशाल सैन्य पूर्वाधार निर्माणप्रति सीसँग असन्तुष्टि जनाए । बाइडेनले अर्को वर्ष ताइबानमा हुन लागेको राष्ट्रपतीय चुनावमा हस्तक्षेप नगर्न पनि सीसँग आग्रह गरे ।
आर्थिक चुनौती
सीको अमेरिका भ्रमण त्यो समयमा भएको छ, जतिबेला चीन विभिन्न आर्थिक चुनौतीको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसंख्या र अधिक ऋणको कारण कोभिड–१९ महामारीपछिको पुनरोत्थानमा बाधा पुर्याएको छ । बेइजिङले प्रदान गरेको बैठकको विवरणअनुसार सीले बाइडेनसँग अमेरिकाले चिनियाँ आपूर्तिमाथि लगाएका प्रतिबन्ध हटाउन र संवेदनशील उपकरणको निर्यातमा लागू नियन्त्रणात्मक नीतिहरू परिवर्तन गर्न भनेका थिए ।
‘चीनको प्राविधिक प्रगतिलाई रोक्नु भनेको चीनको उच्च गुणस्तरको विकासलाई रोक्ने र चिनियाँ जनतालाई विकासको अधिकारबाट वञ्चित गर्ने कदमबाहेक अरू केही होइन,’ बेइजिङले सार्वजनिक गरेको बैठकको रिडआउटमा सीलाई उद्धृत गर्दै भनिएको छ, ‘चीनको आफ्नै अन्तर्निहित शक्तिबाट निर्देशित विकास र वृद्धि बाह्य शक्तिले चाहँदैमा रोकिनेछैन ।’ बाइडेनले यस सम्बन्धमा नयाँ मार्ग अवलम्बन गर्ने कुनै संकेत छैन ।
व्यक्तिगत सम्बन्ध विस्तारको प्रयास
बाइडेनले प्रायः सीसँगको सम्बन्धबारे बताउँदा उपराष्ट्रपति हुँदाको भेटबारे स्मरण गर्छन् ।संक्षिप्त सार्वजनिक टिप्पणीमा सो प्रसंग उल्लेख गरे । ‘त्यो १२ वर्षअघिको कुरा हो । म अझै पनि हामीबीचको सो अन्तरक्रिया स्पष्ट रूपमा सम्झन्छु । यसले सधैँ मलाई ऊर्जा दिन्छ,’ बाइडेनले भने ।
बाइडेनले दुईजनाबीचको सम्बन्धको लम्बाइ र उनीहरूबीचको अन्तरक्रियाको मूल्यबारे बताउन छुटाएनन् । ‘हामीबीच सधैँ समझदारी हुँदैन, जुन त्यति अनौठो कुरा पनि होइन । तर, हाम्रो भेटवार्ता सधैँ स्पष्ट, सीधा र उपयोगी छन्,’ बाइडेनले भने । बाइडेनका अनुसार दुईजनाले एक–अर्कालाई स्पष्ट रूपमा बुझ्ने र कुनै गलत धारणा वा गलत सञ्चार नहुनु महत्वपूर्ण भएको बताए ।