भूकम्पपीडितलाई सघाउन एमाले टोली जाजरकोटमा

शुक्रबार, १ मंसिर, २०८०
डिजिटल संस्करण

एक हजार स्वयंसेवक ४० समूहमा बाँडिएर अस्थायी आवास बनाउने गरी काम बाँडफाँट  

जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितहरूका लागि अस्थायी टहरा निर्माण गरी पुनर्स्थापनाको कामका लागि एमालेले एक हजार स्वयंसेवक परिचालन गरेको छ । १ मंसिरबाट काम सुरु गर्ने गरी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठको पहिलो टोली बिहीबारै जाजरकोटको सदरमुकाम खलंगा पुगेको छ । 

टोलीले स्थलगत अध्ययन गरेर स्थानीय पार्टी, पीडित र प्रशासनसँग समन्वय गरी काम सुरु गर्ने तयारी गरेको एमालेले जनाएको छ । केन्द्रीय सदस्य नीरज आचार्यका अनुसार टोलीले शुक्रबार भेरी नगरपालिका–३ बाट काम सुरु गर्नेछन् । पुनर्स्थापनाको कामका लागि उनीहरूले अलग–अलग चार स्थानमा अस्थायी क्याम्प खडा गर्नेछन् । 

जाजरकोटबाट काठमाडौं आएको आचार्य नेतृत्वको टोलीले उपमहासचिव विष्णु रिमाललाई भेटी प्रभावितहरूको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै तत्काल अस्थायी टहरा बनाउन नसके चिसोका कारण पीडितहरूको अवस्था भयावह हुन सक्ने विषयमा ध्यानाकर्षण गराएको छ ।  

दुवै जिल्लाका सबै पालिकाहरूमा ४० समूहमा बाँडिएर हजार स्वयंसेवकले दुईदेखि तीन हप्ताभित्र भग्नावशेषको व्यवस्थापन गरी पीडितहरूको लागि अस्थायी टहरा निर्माण गर्ने एमालेको कार्ययोजना छ । बिहीबार बसेको केन्द्रीय विपत् व्यवस्थापन तथा स्वयंसेवा विभागको बैठकले कार्ययोजना पास गरेको हो । 

शनिबार विभागका प्रमुख केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय च्यासल (काठमाडौं)बाट जाने बाँकी टोली प्रभावित क्षेत्र प्रस्थान गर्दै छ । एमालेले पार्टीको केन्द्रीय कोषबाट पीडितहरूलाई २ करोड रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो । 

‘४० समूहमा बाँडिएर हाम्रा एक हजार स्वयंसेवकले दुवै जिल्लाका सबै पालिकाहरूमा भग्नावशेष व्यवस्थापन गरी अस्थायी टहराहरू बनाउनेछन्,’ पौडेलले भने, ‘मेची–महाकाली अभियानका क्रममा पार्टी अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू पनि स्वयंसेवी काममा एक दिन खटिनुहुनेछ ।’ विभागको बैठकले अध्यक्ष ओलीसहित शीर्ष नेताहरू १७ मंसिरमा जाजरकोटमा स्वयंसेवी काममा सहभागी हुने गरी कार्ययोजना बनाएको छ । 

एमालेले बैतडीको झुलाघाटदेखि १४ मंसिरबाट अभियान सुरु गर्दै छ । उता, महासचिव शंकर पोखरेलले भग्नावशेषमा पुरिएका पीडितहरूका सामानहरू निकाली अस्थायी टहरा निर्माणको मुख्य काममा केन्द्रित हुन बिहीबार निर्देशन दिएका छन् । पीडितहरूलाई कुनै भार नपर्ने गरी रसदपानी, टेन्ट र औषधिजन्य सामग्रीसहित खटिनसमेत उनले ध्यानाकर्षण गराएका छन् ।      

गत २२ कात्तिकमा बसेको केन्द्रीय सचिवालय बैठकले  पीडितहरूको पुनर्स्थापनाका लागि एक हजार स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो । जसअनुसार स्वयंसेवकहरूले पाँच हजार कार्यदिनभन्दा बढी त्यहाँ घरटहरा निर्माणमा काम गर्ने, एक करोड बढी मूल्यको श्रम गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘०७२ को भूकम्पपछि जस्तै हाम्रा हजार स्वयंसेवकहरूले हजारौँ टहरा बनाएर पीडितहरूलाई न्यानो घरमा बसाएर मात्र फर्किनेछन्,’ ज्ञवालीले भने । 

एमालेले खटाएको स्वयंसेवक 

  • लुम्बिनी प्रदेश कमिटी : २००
  • कर्णाली प्रदेश कमिटी : १५०
  • सुदूरपश्चिम, बागमती र गण्डकी : १५०
  • सम्पर्क समन्वय कमिटी : १००
  • मधेश, कोशी र विशेष प्रदेश : ७५ 
  • युवा संघ : १००
  • अनेरास्ववियु : १००
  • जिफन्ट, भूपूआर्मी, खेलकुद महासंघ : १२५ 

सुझावित समाचार