- एक आफन्त गुमाएको परिवारलाई दुई लाख र एकभन्दा बढी सदस्य गुमाएको परिवारलाई थप प्रतिमृतक एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गर्दै संघीय सरकारले जाजरकोट र रुकुम पश्चिममा पठाएको थियो १० करोड
- रुकुम पश्चिममा भने ४१ मृतकका २६ परिवारलाई ६७ लाख वितरण
- १७ कात्तिकको भूकम्पमा जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५३ जनाको ज्यान गएको थियो
संघीय सरकारले भूकम्पबाट ज्यान गुमाएका परिवारलाई प्रतिमृतक दुई लाखका दरले राहत दिन जाजरकोट र रुकुम पश्चिममा १० करोड पठाएको छ । तर, जाजरकोटका पीडित परिवारलाई अझै राहत बाँडिएको छैन । १७ कात्तिकको भूकम्पमा परी जाजरकोटमा एक सय एक र रुकुम पश्चिममा ५३ जनाको ज्यान गएको थियो ।
१९ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले परिवारमा एकजना मात्र मृतक रहेकालाई प्रतिमृतक दुई लाख र एकै परिवारका एकजनाभन्दा बढी मृतक रहेकाको हकमा एकजनाको दुई लाख तथा अन्यको एक–एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसलगत्तै जिल्ला विपत् व्यवस्थापन समितिको खातामा रकम निकासा गरिएको थियो । तर, दुई साता हुन लाग्दा पनि जाजरकोटमा राहत रकम वितरण थालिएको छैन । रुकुम पश्चिममा भने ६७ लाख वितरण गरिएको छ ।
ल्यापटपमा समस्या आउँदा ढिलाइ भएको हो, चाँडै वितरण गर्छौँ : हरिश्चन्द्र शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी, जाजरकोट
तिहारअघि नै वितरण गर्ने तयारी गरेका थियौँ, तर हाम्रो कार्यालयका ल्यापटपमा भूकम्पले क्षति पुग्दा बैंकिङ सिस्टमको पासवर्डमा समस्या आयो, त्यसैले राहत वितरणमा ढिलाइ भएको हो । पासवर्ड रिकभर हुने चरणमा छ, अब चाँडै वितरण सुरु गर्छौँ ।
जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले आवश्यक कागजात मिलाउन तथा बैंक खातामा प्राविधिक रूपमा समस्या आउँदा राहत वितरणमा ढिलाइ भएको बताए । ‘तिहारअघि नै वितरण गर्ने तयारी गरेका थियौँ, तर हाम्रो कार्यालयका ल्यापटपमा भूकम्पले क्षति पुग्दा बैंकिङ सिस्टमको पासवर्डमा समस्या आयो, त्यसैले राहत वितरणमा ढिलाइ भएको हो,’ उनले भने, ‘पासवर्ड रिकभर हुने चरणमा छ, अब चाँडै वितरण सुरु गर्छौँ ।’
स्थानीय तहबाट मृत्यु दर्ता, प्रहरी मुचुल्का, कानुनी हकवाला व्यक्तिलगायतका कागजात आउनसमेत समय लागेको सहायक सिडिओ शर्माको भनाइ छ ।
स्थानीय सरकारले भने मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराएका छन् । नलगाड नगरपालिकाले ५५ जना मृतकका परिवारलाई प्रतिमृतक १० हजारसहित खाद्यान्न सामग्री उपलब्ध गराएको मेयर डम्बरबहादुर रावतले बताए । कुशे गाउँपालिकाले पनि गाउँपालिकामा भूकम्पका कारण ज्यान गुमाएका सातजनाका परिवारलाई १० हजार रुपैयाँ किरिया खर्च र खाद्य तथा गैरखाद्य सामग्रीहरू पनि राहतस्वरूप प्रदान गरेको अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
रुकुम पश्चिममा भने ४१ जना मृतकका परिवारलाई नगद राहत वितरण गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजकसमेत रहेका सिडिओ हरिप्रसाद पन्तका अनुसार सानीभेरी गाउँपालिकाका १० जना मृतकका ६ घरपरिवारलाई १६ लाख र आठबिसकोट नगरपालिकाका ३१ मृतकका २० घरपरिवारलाई ५१ लाख गरेर जम्मा ६७ लाख नगद राहत रकम वितरण गरिएको छ ।
सिडिओ पन्तका अनुसार जिल्लामा कागजात मिलाउन बाँकी १२ मृतकका नौ घरपरिवारलाई नगद रकम वितरण गर्न बाँकी छ । यसमा पाँचजना जिल्लाबाहिरका छन् । जिल्लाबाहिरकाको हकमा कागजात पुगेपछि सम्बन्धित जिल्लामै राहत पठाइने उनले बताए ।
सरकारले अस्थायी आवासका लागि अनुदान नदिँदै बन्न थाले भूकम्पपीडितका नमुना घर
सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन अनुदानको घोषणा गरे पनि काम सुरु भएको छैन । तर, १७ कात्तिकको भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा भने स्वयंसेवी रूपमा अस्थायी एवं भूकम्पप्रतिरोधी नमुना घर बनाउन सुरु गरिएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका पूर्वमेयर विशाल शर्माको अगुवाइमा वडा नम्बर ६ फारुलामा कालो कामी, कमल विक, चन्द्री बोहोरा र चन्दबहादुर बुढाथोकीका चारवटा घर निर्माण गर्ने गरी काम सुरु भएको छ । घर बनाउन सिमेन्ट, बालुवा, माटो, ढुंगा, छड, जस्तापाताको प्रयोग गरिएको छ भने ५० जना स्वयंसेवक परिचालित छन् । तिहारमा निर्माणको काम रोकिए पनि शुक्रबारदेखि पुनः सुरु हुने शर्माले बताए । ‘यो काम स्वयंसेवाका रूपमा हो, निर्माण सामग्री मेरो नेतृत्वमा खटिएको टिमले नै व्यवस्थापन गरिरहेको छ, काम पनि निःशुल्क रूपमा गरिरहेको छ,’ शर्माले भने, ‘एक सातामा निर्माण सकिन्छ । त्यसपछि थप घर बनाइनेछ ।’
जाजरकोट केन्द्रबिन्दु भएर १७ कात्तिकको मध्यरात गएको भूकम्पमा परी चौरजहारीमा एकजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । चौरजहारीमा मात्र नौ सय ३२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको नगरपालिकाको प्रारम्भिक तथ्यांक छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार पाँच हजार दुई सय ९६ वटा घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त बनेका छन् । भूकम्पपछिको पुनर्निर्माणमा जनपरिचालनलाई मुख्य प्राथमिकता दिइने उनले बताए । ‘सबै काम सरकारले मात्र गरेर पनि सम्भव हुन्न, सरकारबाट आर्थिक स्रोतको व्यवस्थापन गर्ने र भौतिक निर्माणमा स्थानीयलाई प्रयोग गर्ने गरी सोचिएको छ,’ उनले भने, ‘अहिले स्वेच्छिक रूपमा काम भइरहेको छ । भोलि सरकारको मापदण्डअनुसार अस्थायी घर होस् वा पुनर्निर्माण होस् । स्थानीय नागरिक तथा संघसंस्थासमेतको समन्वयमा काम हुन्छ ।’
भूकम्पबाट सबैभन्दा बढी प्रभावित जाजरकोटमा पनि नमुना अस्थायी आवास निर्माण भइरहेका छन् । एक साताअघि भूकम्प प्रभावित जाजरकोट पुगेका कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दुईवटा नमुना अस्थायी आवास निर्माण गरिदिए । उनीहरूसहितको टोलीले भूकम्पमा परी मृत्यु भएकी नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको परिवारका लागि र नलगाड– १ च्युरेका एक स्थानीयका लागि अस्थायी नमुना आवास बनाएको थियो ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द नेतृत्वको टिमले पनि जाजरकोटको नलगाडका कले विकका लागि घर निर्माण गरिदिएको छ । उनको पार्टीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारेका विजय विकको परिवारका लागि घर बनाइदिएको छ । करिब ६० हजार खर्च गरेर जस्तापाताले छाएको घर निर्माण गरिदिएको पार्टीका सदस्य चन्द्र बुढाले बताए ।
त्यस्तै, आठबिसकोट– ११ मा ८ वटा छहरासमेत निर्माण गरेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले आठबिसकोट नगरपालिका– १४ को ज्यामिरकोटमा नमुना आवासको व्यवस्था गरेको छ ।
इच्छुक धेरै हुनुहुन्छ, मापदण्ड बनेपछि धमाधम काम हुन्छ : सहायक प्रजिअ शर्मा
जाजरकोटमा अस्थायी र नमुना आवास निर्माणका लागि संघसंस्था, राजनीतिक दल तथा व्यक्ति इच्छुक देखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । ‘धेरै इच्छुक देखिनुभएको छ, तर सरकारी मापदण्ड बनिनसकेकाले अहिले नै काममा लाग्नुहोस् भनेर भन्न सकिएको छैन, मापदण्ड बन्नेबित्तिकै धमाधम काम सुरु हुन्छ,’ उनले भने ।
अहिले जिल्लाभरमा वल्लोपल्लो घर मिलेर बस्ने ठाउँ बनाइरहेको र केही अस्थायी नमुना घर पनि निर्माण भएको उनले बताए । अब तिहार बिदा सकिएपछि यो कार्यले जिल्लाभरमा तीव्रता पाउने उनी बताउँछन् ।
भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहित १२ जिल्लामा झन्डै ६२ हजार घर क्षतिग्रस्त बनेका छन् । रुकुम पश्चिममा १६ हजार पाँच सय ७० घर पूर्ण र नौ हजार नौ सय ६१ घरमा आंशिक गरी २६ हजार पाँच सय ३१ घर क्षतिग्रस्त भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले बताए ।
जाजरकोटमा पूर्ण रूपमा क्षतिग्रस्त नौ हजार सात सय ९४ र आंशिक क्षति भएका २४ हजार सात सय सात घर छन् । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले प्रारम्भिक तथ्यांकअनुसार कुल ३४ हजार चार सय ९८ घर क्षतिग्रस्त बनेको बताए ।
तिहारअघि नै वितरण गर्ने तयारी गरेका थियौँ, तर हाम्रो कार्यालयका ल्यापटपमा भूकम्पले क्षति पुग्दा बैंकिङ सिस्टमको पासवर्डमा समस्या आयो, त्यसैले राहत वितरणमा ढिलाइ भएको हो । पासवर्ड रिकभर हुने चरणमा छ, अब चाँडै वितरण सुरु गर्छौँ ।