मुसिकोट मेयर कपको उपाधि गल्कोटको पोल्टामा

आइतबार, २६ कार्तिक, २०८०
डिजिटल संस्करण

गुल्मीको सर्वाधिक राशि पुरस्कार भएको मुसिकोट मेयर कपको उपाधि गल्कोटले जितेको छ । 

२२ देखि २५ कात्तिकसम्म सञ्चालन भएको प्रथम मुसिकोट मेयर रनिङकप भलिबल प्रतियोगिता ०८० मा डेढ लाख नगदसहित उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले प्राप्त गरेको मुसिकोट खेलकुद विकास समिति अध्यक्ष सन्दीप खत्रीले जानकारी दिए । 

बाग्लुङकै गल्कोट नगरपालिका र निसिखोला गाउँपालिकाबीच फाइनल खेल सञ्चालन भएको थियो । गल्कोटले ३–२ सेटमा पराजित गर्दै उपाधि प्राप्त गरेको हो । 

निसिखोलाले उपविजेता हुँदै एक लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको खत्रीले बताए । गल्कोटले बाग्लुङकै तमानखोला गाउँपालिकालाई र निसिखोलाले घरेलु टिम गुल्मीको मुसिकोट नगरपालिकालाई पछि पार्दै फाइनलमा प्रवेश गरेका थिए । उत्कृष्ट खेलाडीको रूपमा गल्कोटका रवि केसी सम्मानित भएका छन् । 

प्रतियोगितामा गुल्मी र बाग्लुङका १० पालिकाको सहभागिता रहेको थियो । लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरको प्रतियोगिताको मुसिकोट नगरपालिकाका मेयर जीवन  खरेलले समापन गरेका थिए ।

सुझावित समाचार