विभिन्न कम्पनीले गरे राहत सामग्री तथा सहयोग रकम हस्तान्तरण

बिहिबार, २३ कार्तिक, २०८०
डिजिटल संस्करण

जाजरकोट र रुकुम पश्चिममा भएको भूकम्पपीडित जनताका लागि वियभिन्न संघ संस्था तथा कम्पनीले राहत सामग्री तथा सहयोग रकम हस्तान्तरण गर्ने क्रम जारी रहेको छ । नगद सहयोग गर्नेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरिरहेका छन् ।

 महासंघले प्रदान गर्‍यो तेस्रो खेप राहत सहयोग
नेपाल उद्योग वाणिज्य महासंघले करिब २२ लाख रुपैयाँबराबरको राहत सामग्री हस्तान्तरण गरिसकेको छ । महासंघ कर्णाली च्याप्टरमार्फत कात्तिक १७ गते पहिलो चरणको राहत सामग्री हस्तान्तरण गरेको जनाइएको छ । त्यस्तै, कर्णाली च्याप्टरमार्फत नै राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गरिएको महासंघले जनाएको छ । 

महासंघले काठमाडौंमा गृह मन्त्रालयको विपत् व्यवस्थापन समितिमार्फत बुधबार तेस्रो खेपको राहत सामग्री हस्तान्तरण गरेको जनाइएको छ । सहयोग सामग्रीमा म्याट्रेस, टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधि, पानीसहितका सामग्री रहेको जनाइएको छ । यसैगरी, अन्य संघसंस्थामार्फत संकलित राहत सामग्रीलाई सरकारको आग्रहमा ढुवानीमा सहजीकरण पनि गरिरहेको महासंघले जनाएको छ । 

 सूर्य नेपालले दियो एक करोड ८० लाखबराबर
सूर्य नेपाल प्रालिले भूकम्पका कारण भएको क्षतिमा तत्काल उद्दार, राहत तथा पीडितहरूको पुनस्र्थापनामा मद्दत पुर्‍याउने उद्देश्यले एक करोड ४० लाख रुपैयाँँ सहयोग गरेको छ । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक दायित्वअन्तर्गत सहयोग गरेको हो । 

सहयोग रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी कम्पनीका प्रबन्ध निर्देशक रवि रायवरम, भाइस प्रेसिडेन्ट रवि केसीलगायतका पदाधिकारीको टोलीले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेको जनाइएको छ । कम्पनीले थप ३५ लाख रुपैयाँँबराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्यांकेटहरू जाजरकोट पठाइसकेको तथा पाँच लाख रुपैयाँँबराबरको औषधि वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । 

 एनआइसी एसियाले गर्‍यो सहयोग रकम हस्तान्तरण 
एनआइसी एसिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरूका लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख रुपैयाँँ नगद सहयोग प्रदान गरेको छ । उक्त रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका हुन् । 

बैंकले आइतबार राहत कोषमा ५१ लाख रुपैयाँँ सहयोग गर्ने निर्णय गरेको थियो । यस विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा बैंक परिवारले श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाएको छ । 

 गोर्खा ब्रुअरीले हस्तान्तरण गर्‍यो एक करोड
गोर्खा ब्रुअरी प्रालिले भूकम्पपीडितको पुनस्र्थापनाका लागि नेपाल सरकारलाई एक करोड रुपैयाँँ सहयोग गरेको छ । उक्त रकमको चेक कम्पनीका नायब प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन् । 

नायब प्रबन्ध निर्देशक सिलवालले गोर्खा ब्रुअरीले देशलाई विपत्को घडीमा सहयोग गर्न पाएकोमा सन्तुष्टि रहेको बताए । यसअघि पनि गोर्खा ब्रुअरीले देशमा आइपरेको प्राकृतिक विपत्तिमा उल्लेख्य सहयोग गर्दै आएको स्मरण गरे । कोभिड महामारी र ०७२ को महाभूकम्पपछि उल्लेख्य सहयोग गरेको उनले स्मरण गरे । कम्पनीले हाल काल्र्सबर्ग, टुबोर्ग र गोर्खा बियरजस्ता ब्रान्डद्वारा नेपालमा संगीत, खेलकुदलगायत अन्य विभिन्न क्षेत्रको विकासमा सहयोग पुर्‍याउँदै आएको उनको भनाइ थियो । 

 राष्ट्रिय वाणिज्य बैंकले दियो एक करोड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भूकम्पपीडितको सहायताका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति सदस्य दिलीपकुमार ढुंगानाले प्रधानमन्त्री पुष्पकमल दहाललाई मंगलबार एक कार्यक्रमका बीच एक करोड रुपैयाँको चेक रकम हस्तान्तरण गरेका हुन् । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्पपीडितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा बैंकको तर्फबाट एक करोड रुपैयाँ मंगलबार ट्रान्सफर गरेको जनाएको छ । 

 भिजी फाउन्डेसनले २१ लाख सहयोग गर्ने
शुक्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पबाट पु¥याएको मानवीय तथा संरचनागत क्षतिमा राहत पुगोस् भन्ने उद्देश्यले विशाल ग्रुपअन्तर्गतको भिजी फाउन्डेसनले २१ लाख रुपैयाँँ सहयोग गर्ने भएको छ । ग्रुपले उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा प्रदान गर्ने भएको हो । यसका साथै फाउन्डेसनले विभिन्न संघ–संस्थाहरूको हातेमालोको आवश्यकता भएको जनाएको छ । 

 महालक्ष्मी विकास बैंकको १० लाख सहयोग
महालक्ष्मी विकास बैंकले भूकम्पपीडितहरूको सहायताका लागि १० लाख रुपैयाँँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवीप्रकोप राहत उद्धार कोषमा सहयोग रकम प्रदान गरेको हो । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले अर्थमन्त्री प्रकाशशरण महतलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सुझावित समाचार