प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। आदर्शनगर खेल मैदानमा झापा एफसीलाई आर्मीले २–० गोल अन्तरले पराजित गरेको हो।
खेलको पहिलो हाफदेखि नै आर्मीले प्रतिस्पर्धीलाई दबाबमा राख्दै आएको थियो। पहिलो हाफको ७औँ मिनेटमा त्रिभुवन आर्मी क्लबका लागि जर्सी नम्बर ७ का खेलाडी नीरजकुमार साहले गरेका थिए।
पहिलो गोल खाएपछि पटकपटकको गोल फर्कोउन प्रयास असफल भएपछि झापा सुरुदेखि नै दबाबमा परेको थियो। दोस्रो हाफमा झापा केही खेलाडी परिवर्तन गरेर मैदान प्रवेश गरेको थियो।
दोस्रो हाफ सुरु भएपछि खेलको ६१औँ मिनेटमा आर्मीका लागि जर्सी नम्बर ३६ का फत्तेमान घलेले दोस्रो गोल प्रहार गरे। आजको जितसँगै आर्मी सेमिफाइनमा प्रवेश गरेको छ।
खेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मी क्लबका फत्तेमान घले घोषित भए। उनले नगद १० हजार प्राप्त गरे।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल आयोजक भेट्रान सिटी क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजक क्लबका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए।