तनहुँ जलविद्युतकाे प्रगति ४६ प्रतिशत

मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

मंगलबार, २१ कार्तिक, २०८०
डिजिटल संस्करण

एक सय ४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको हो । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रबाट पुनः सेती नदीमा खसालिएको छ । 

जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुंगाले सोमबार बेलुन उडाएर नदी फर्काउने कार्यको शुभारम्भ गरेका हुन् । 

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण गरिनेछ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै सकिने तयारी छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण कोसेढुंगा भएको बताए । आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत पुगेको छ । समग्र निर्माण असार ०८३ भित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ । 

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्वपूर्ण चरण पार गरेको बताउँदै जतिसक्दो छिट्टो निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले निहित स्वार्थका व्यक्तिहरूबाट सतर्क भएर आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनुपर्ने बताए । भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले देशमा केही नभएको भन्ने जताततै गुनासो सुनिरहेका वेलामा आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको बताए । 

तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालले तनहँु जलविद्युत्को प्रकृति, लागत, यसले सिर्जना गर्ने रोजगारीलगायतका आधारमा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरिनुपर्ने बताए । उनले स्थानीय तह र प्रशासनको समन्वयकारी भूमिकाका कारण आयोजना हालको अवस्थामा पुगेको बताए । 

एडिबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुंगाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युत्मा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाका रूपमा दूधकोशी जलविद्युत् आयोजनामा लागू गर्न सकिने बतए । उनले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक कामहरू भएको बताउँदै दूधकोशी जलविद्युत्जस्ता ठूला आयोजनाहरूमा एडिबीले लगानी गर्न लागिरहेको उल्लेख गरे । तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न ध्यान केन्द्रित गरिएको बताए । 

सुझावित समाचार