मेयर चिरिबाबु महर्जनले अघिल्लोपटक उम्मेदवार बन्दै पोखरीमा फूल फुलाउने घोषणा गरेका थिए
०७९ जेठको स्थानीय तह निर्वाचन सम्पन्न भएलगत्तै मेयर चिरिबाबु महर्जनले लगनखेलको सप्तपाताल पोखरीमा एक वर्षभित्र कमलको फूल फुलाउने घोषणा गरेका थिए । स्थानीय एक विद्यालय र नेपाली सेनाले समेत अतिक्रमण गरेको उक्त पोखरी महानगरअन्तर्गत ल्याए पनि मेयर महर्जनको वाचाअनुसार न त संरचना बनेको छ, न कमलको फूल नै फक्रेको छ । अतिक्रमित जग्गा फिर्ता ल्याए पनि पोखरी निर्माणले गति लिन सकेको छैन ।
देवप्रसाद गुरागाईं, सूचना अधिकारी, ललितपुर महानगरपालिका
पोखरीको डिजाइन तयार पार्ने, जग्गा सम्याउने र जग्गा एकीकरणबाहेक अन्य काम भएको छैन । पोखरीआसपास, पोखरीको पिँध निर्माणसहितका काम सुरु नै भएको छैन । यी काम सकिएपछि मात्रै पोखरीमा पानी जग्मा गरिनेछ । यसका लागि अझै एक वर्ष लाग्छ । हालसम्म पहिलो चरणको मात्रै काम सकिएको छ । पोखरीको पिँध निर्माण गर्नेलगायत काम बाँकी छ ।
हालसम्म पोखरीको डिजाइन तयार पार्ने, जग्गा सम्याउने र जग्गा एकीकरणबाहेक अन्य काम भएको छैन । पोखरीआसपास, पोखरीको पिँध निर्माणसहितका काम सुरु नै भएको छैन । यी काम सकिएपछि मात्रै पोखरीमा पानी जग्मा गरिनेछ । यसका लागि अझै एक वर्ष लाग्ने ललितपुर महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईंका अनुसार पहिलो चरणको काम सकिएको छ । ‘पहिलो चरणको काम सकियो, पोखरीवरिपरि हरियाली कायम गर्न टेन्डर प्रक्रिया अघि बढ्दै छ,’ उनले भने, ‘पोखरीको पिँध निर्माण गर्नेलगायत काम बाँकी छ ।’
झाडीले ढाक्यो सप्तपाताल
करिब ४२ रोपनीमा फैलिएको पोखरीलाई यतिवेला झाडीले ढाकेको छ । महानगरले पोखरीको जग्गा एकीकरण गरी तारबार लगाए पनि थप काम नहुँदा झाडीले ढाकेको हो ।
दोस्रो कार्यकालका लागि मेयर निर्वाचित भएलगत्तै महर्जनले यो कार्यकालको सबैभन्दा महŒवपूर्ण र छिटो सक्ने कार्यका रूपमा सप्तपाताल हुने बताएका थिए । ‘मैले यो पोखरीको अतिक्रमित जग्गा यसअघिकै कार्यकालमा फिर्ता ल्याउने कोसिस गरेको थिएँ, तर समय कम भएको थियो,’ उनले निर्वाचित भएलगत्तै भनेका थिए, ‘अब पोखरीको जग्गा फिर्ता ल्याएर कमलको फूल फुलाउँछु ।’ अघिल्लो कार्यालयमा उनले ललितपुर महानगरपालिका सामुन्ने रहेको समय फल्चालाई जीवित राख्न सफल भएका थिए । लालीगुराँस सहकारीले खोसेको फल्चालाई पुरानो फोटोका आधारमा मुद्दा लडेर फिर्ता ल्याएका थिए । त्यसबाहेक ललितपुरमा साइकल लेन विस्तार, सम्पदा संरक्षण, महानगरको नगर प्रहरी व्यवस्थापनलगायत कार्य महर्जनले गरेका थिए ।
पोखरीको जग्गा यसरी फुत्काइएको थियो स्कुल र आर्मीको कब्जाबाट
करिब एक वर्षअघि पोखरीको जग्गा फिर्ता ल्याएर लगनखेलस्थित वटुकभैरव मन्दिरअगाडिको ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माण गर्न थालिएको थियो । स्कुलले कब्जा गरेको जग्गा महानगरमातहत ल्याएपछि पुनर्निर्माण सुरु भएको थियो । लगनखेलस्थित नमुना मच्छिन्द्र स्कुलले पोखरीको ११२ नम्बर कित्ता जग्गा लामो समयदेखि प्रयोग गर्दै आइरहेको थियो । तर, ३ असार ०७६ मा सर्वोच्च अदालतले पोखरीको पक्षमा फैसला गरेपछि फिर्ता ल्याउन सहज भएको थियो । लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न ०६१ मा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । ‘अघिल्लो कार्यकालमै उक्त पोखरी पुनर्निर्माण गरी फूल फुलाउन खोजेको हुँ । तर, मुद्दा लड्दा र डिपिआर तयार पार्दा भ्याइएन, अहिले पनि पोखरी निर्माण भइरहेको छ,’ उनले भने ।
सर्वोच्चको फैसलासँगै ढुंगेधारा तथा पोखरीविज्ञ पद्मसुन्दर जोशी, अकासेपानीविद् प्रकाश अमात्य, पानीविद् सुरेन्द्र श्रेष्ठ, पुष्पमान अमात्यलगायतले डिपिआर तयार पारेका थिए । मेयर महर्जनले पोखरी संरक्षण गर्न प्रमाण उपलब्ध गराएका थिए । स्कुलको नाममा गइसकेको सार्वजनिक पोखरी फिर्ता भएसँगै यसलाई घेराबार लगाई पुनर्निर्माण थालिएको थियो । ०७४ सालमा ललितपुर महानगरमा निर्वाचित भएका मेयर चिरिबाबु महर्जनले पोखरीलाई जसरी पनि जीवित राख्ने घोषणापत्रमा समेटेका थिए । मुद्दा लड्दा र डिपिआर तयार गर्दा अघिल्लो कार्यकालमा सो पोखरी पुनर्निर्माण गर्न नपाएका महर्जनले गत ३० वैशाखमा भएको स्थानीय निर्वाचनमा पुनः चुनाव जितेपछि पुनर्निर्माणलाई प्राथमिकतामा राखे ।
सप्तपाताल पोखरी ललितपुरकै फराकिलो र गहिरो मानिन्छ । तर, सहरीकरण र संरचना बढ्न थालेसँगै ०३४/३५ देखि सप्तपातालको जग्गा अतिक्रमणको चपेटामा पर्न थालेको थियो । जानकारका अनुसार यो पोखरी लगनखेल बसपार्कस्थित अशोक स्तूपासँगै १४ रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको थियो । राजकुलो मासिएपछि पोखरी सुक्दै गएको थियो । पोखरी सुकेपछि स्कुल तथा अन्य व्यक्तिले कब्जा गरेका थिए । तर, प्रमाण नभएकाले सबै जग्गा फिर्ता ल्याउन नसकिएको महानगरले जनाएको छ । यो पोखरीमा ललितपुरको चापागाउँ, टीकाभैरव हुँदै राजकुलोमार्फत पानी ल्याइन्थ्यो । सातदोबाटोस्थित रिङरोड बनेपछि राजकुलो मासिएको थियो । त्यससँगै ललितपुर क्षेत्रका ढुंगेधारा र पोखरी सुकेका छन् । यो पोखरीमा राख्ने पानीको अन्य स्रोत नभएकाले ट्यांकर तथा भैँसेपाटी र गोदावरी क्षेत्रबाट पाइपद्वारा पानी ल्याएर पुनर्निर्माणपछि पानी भरिने योजना छ ।
पोखरीको डिजाइन तयार पार्ने, जग्गा सम्याउने र जग्गा एकीकरणबाहेक अन्य काम भएको छैन । पोखरीआसपास, पोखरीको पिँध निर्माणसहितका काम सुरु नै भएको छैन । यी काम सकिएपछि मात्रै पोखरीमा पानी जग्मा गरिनेछ । यसका लागि अझै एक वर्ष लाग्छ । हालसम्म पहिलो चरणको मात्रै काम सकिएको छ । पोखरीको पिँध निर्माण गर्नेलगायत काम बाँकी छ ।