भूकम्प अपडेट : रुकुम पश्चिममा २७ जनाको मृत्यु, ५३ जना घाइते

शनिबार, १८ कार्तिक, २०८०
डिजिटल संस्करण

शुक्रवार राति गएको भूकम्पमा परी रुकुम पश्चिममा २७ जनाको मृत्यु भएको भएको छ । अहिलेसम्म २७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार आठबीसकोट नगरपालिकामा १८ जना र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण संकलन भइरहेको उनले जानकारी दिए । मृत्यु हुनेमा १२ महिला र १५ जना पुरुष रहेका छन् । 

मृत्यु हुनेमा आठबीसकोट नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय रमेश पुन, सोही वडाका १३ वर्षीय डिलबहादुर केसी, वडा नम्बर १४ का ३ वर्षीय वासु बुढा, सोही ठाउँकै ३० वर्षीया अमृता जैसी, ५ वर्षीया भावना जैसी, २ वर्षीय दिनेश जैसी, वडा नम्बर १४ कै १२ वर्षीया सरिता बिक, वडा नम्बर १४ कै १३ वर्षीय मदन गौतम, सोही वडाकै ८३ वर्षीय करे नेपाली रहेका छन् । 

यसैगरी वडा नम्बर ११ गोइरीका ३५ वर्षीया शिला कामी, १३ वर्षीया सृजना कामी, ९ वर्षीया रिया कामी, ६ वर्षीया दीपा कामी, ४ वर्षीया आशा कामी, १८ वर्षीया एलिशा कामीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै रुकुमपूर्व घर भई आठबीसकोट नगरपालिका १४ वस्ने ३० वर्षीय किस्मत पुनमगर, बर्दिया घर भई कामको सिलसिलामा वडा नम्बर १४ छेपारे आएका ४७ वर्षीय खड्क बिक र बर्दियाकै ३६ वर्षीय अनिल बिकको पनि ज्यान गएको प्रहरीको भनाई छ । 

यता सानीभेरी गाउँपालिका वडा नम्बर २ परियार टोलकी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाइनाबगर ३१ वर्षीय धनविर पुन, सोही ठाउँकै २८ वर्षीया चुम्निमा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन, १० महिने रेजन ओली, वडा नम्बर ४ का ८ वर्षीय निर्जल चन्द, सोही ठाउँकै २५ वर्षीया सकुन्तला दमाई र ६ वर्षीय कृष्ण परियार रहेको प्रहरीले जनाएको छ । 

यसैगरी भूकम्पमा परी ५३ जना घाइते भएको प्रहरीले जनाएको छ । जसमा महिला २६ र पुरुष २७ जना रहेका प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलन भइरहेकोले एकिनका साथ भन्न सक्ने अवस्था छैन ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११:४७ मा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।  

सुझावित समाचार