शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीनदलीय गठबन्धन सरकार बनाउने भएका छन्।
लक्सनको नेसनल पार्टीले गत महिना भएको निर्वाचनमा कुल एक सय २३ सिटमा ४८ सिट हासिल गरेपछि उनलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ।
एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले उदारवादी एसिटी र लोकप्रिय न्युजिल्यान्ड फर्स्ट पार्टीसँग सरकार गठनका लागि शनिबार र आइतबार वार्ता हुने जानकारी दिए।
‘अन्तिम स्पष्टता हुनु राम्रो हो, अब हामी तीव्रता प्राप्त गर्न सक्छौँ,’ गठबन्धन सम्झौतामा समय सीमा तोक्न अस्वीकार गर्दै वेलिङ्टनस्थित संसदमा पत्रकारहरूसँग लक्सनले भने, ‘हामी दुवै पार्टीसँग रचनात्मक रूपमा काम गर्नेछौँ, हामी एकसाथ आउनेछौँ र एउटा बलियो र स्थिर सरकार बनाउनेछौँ।’
नोभेम्बरमा सनफ्रान्सिस्कोमा एसिया–प्रशान्त क्षेत्रका प्रमुख नेताहरूको शिखर सम्मेलन सुरु हुनुअघि न्युजिल्यान्डमा सरकार बन्न सक्छ वा सक्दैन भन्ने स्पष्ट छैन।
सरकार गठन गरेको पहिलो एक सय दिनमा नेसनल पार्टीले स्कुलमा सेलफोनमाथि प्रतिबन्ध, अपराध नियन्त्रण र योजनाबद्ध इन्धनमा कर वृद्धि खारेजजस्ता परिवर्तन गर्ने वाचा गरेको छ।
न्युजिल्यान्डका मतदाताहरूले अक्टोबर १४ मा भएको निर्वाचनमा मध्य–वामपन्थी लेबर सरकारको ६ वर्षको शासनलाई अन्त्य गरेका छन्। जनवरीमा जसिन्डा अर्डर्नको स्थानमा प्रधानमन्त्री बनेका क्रिस हिपकिन्सले मतदान सकिएको केही घन्टापछि पराजय स्वीकार गरेका छन्।