विश्वकपमा स्थान बनाउन नेपाललाई १३५ रनको लक्ष्य

टि-२० विश्वकप एसिया छनोट

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

संयुक्त अरब इमिरेट्स (युएई)ले सेमिफाइनलमा विजयी हुन आयोजक नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

शुक्रबार मूलपानीस्थित माथिल्लो मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रन बनाएको हो। 

तेस्रो नम्बर क्रिजमा आएका भृत्या अरविन्दले अर्धशतकीय इनिङ्स खेले। उनले ५० बलमा आठ चौका र दुई छक्कासहित ६४ रन बनाए। भृत्यालाई कुशल मल्लले गुल्सन झाबाट क्याच गराएका हुन्। 

कप्तान मुहम्मद वासिमले २६, अलिशान सराफुले १६, आसिफ खानले १३ रन बनाए । नेपालका कुशल मल्लले सर्वाधिक तीन विकेट लिए। सन्दीप लामिछानेले दुई विकेट लिए । यसबाहेक, सोमपाल कामी, कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिएका थिए। 

यसअघि तेस्रो ओभरमा नेपालले युएईका दुई ओपनरको विकेट लिएको थियो । ३.१ ओभरमा सोमपाल कामीले ओपनर खालिद शाहलाई रन आउट गराएका हुन्। ओपनर खालिद चार बलमा तीन रन बनाएर आउट भएका थिए। 

३.४ ओभरमा कप्तान तथा ओपनर मोहम्मद वासिम आउट भए । १६ बलमा २७ रन बनाएर वासिमलाई सोमपालले करण केसीको हातबाट क्याचआउट गराएका हुन्। वासिमले तीन चौका र दुई छक्का प्रहार गरे । सन्दीपले पहिलो विकेट लिने क्रममा ९.६ बलमा आसिफ खानलाई एलबिडब्लू धरापमा पारे। १४ बलमा १३ रन बनाएका आसिफले एक चौका प्रहार गरेका थिए । जुन समय युएई ६२–३ को स्थितिमा रह्यो। 

कुशल मल्लले चौथो विकेटको रूपमा एलिशान सराफुलाई सोमपाल कामीबाट क्याचआउट गराए। १४ बलमा १६ रन बनाएर सराफु १३.४ ओभरमा पेभिलियन फर्किए । पाँचौँ विकेटको रूपमा कप्तान रोहितकुमार पौडेलले सात बलमा चार रन बनाएका अली नासिरलाई आउट गरे । १५.५ ओभरमा एक सय रन जोड्दा नासिर आउट भएका हुन्। 

घाइते भएपछि दुई खेल बाहिर रहेका दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन्। दीपेन्द्र फर्किँदा सन्दीप जोरा बाहिरिएका छन्। 

आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी विश्वकप छनोटको एसियाली छनोटमा आज दुई सेमिफाइनल हुँदै छन्। पहिलो खेलमा नेपाल र युएई प्रतिस्पर्धा गर्दै छन्। कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच भिडन्त भइरहेको छ। 

नेपाल समूह ‘बी’को उपविजेता र युएई समूह ‘ए’को विजेता हुन्। समूह ‘बी’बाट ओमान विजेता र बहराइन समूह ‘ए’को उपविजेता भयो। आज विजयी दुवै टोली फाइनलमा स्थान बनाउँदै टी–२० विश्वकपमा छनोट हुनेछन्।

सुझावित समाचार