जलवायु असरका विषयमा विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्तिदीप कालापत्थर लगिँदै

शुक्रबार, १७ कार्तिक, २०८०
डिजिटल संस्करण

हिमालयहरूलाई जलवायुले पारेको असरका विषयमा विश्वको ध्यान केन्द्रित गर्न नेपाल पर्वतारोहण संघले लुम्बिनीबाट शान्तिदीप कालापत्थर लैजाने भएको छ । शुक्रबार बिहान लुम्बिनीस्थित एक कार्यक्रमबीच लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले  नेपाल पर्वतारोहण संघका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोख्रेल, सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटा र विश्व कीर्तिमानी सगरमाथा आरोही स्पिटकाजी शेर्पालाई शान्तिदीप हस्तान्तरण गरे  । 

लुम्बिनीबाट लगेको शान्तिदीप काठमाडौंको स्वयम्भू र बौद्धमा प्रज्ज्वलन गरेपछि मंगलबार कालापत्थर  लगिने नेपाल पर्वतारोहण संघका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोख्रेलले बताए । सन् २००९ मा विश्वकै अग्लो स्थान सगरमाथाको कालापत्थरमा बसेको मन्त्रिपरिषद्को बैठक  स्थलमा लगेर कात्तिक २५ गते दीपलाई विश्वको ध्यान केन्द्रित हुने गरी प्रज्ज्वलन गरिने पोख्रेलले बताए । 

संघको ५०औँ वार्षिक उत्सवको अवसरमा नेपालमा रहेका हिमालयहरूलाई जलवायुले पारेको असरका विषयमा विश्वको ध्यान केन्द्रित गर्न र विश्वमा शान्तिको कामना गर्न लुम्बिनीदेखि कालापत्थरसम्मको कार्यक्रम तय गरिएको उनले बताए । सगरमाथा आरोही संघसँगको सहकार्यमा कात्तिक २५ गते कालापत्थरमा शान्तिदीप प्रज्वलन गर्नेदेखि राष्ट्र्रिय झन्डा फराउनेलगायतका कार्यक्रम रहेको उनले बताए ।

दीप हस्तान्तरण गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्षका डा. लामाले शान्तिदीपले विश्वमा शान्तिको सन्देश फैलाउँदै हिमालयलाई जलवायु परिवर्तनको असरबाट जोगाउन सकारात्मक सन्देश दिने बताए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणका क्रममा पनि जलवायु परिवर्तनका कारण हिमायलहरूमा परेको असरबारे चिन्तित देखिएको बताउँदै हिमालयहरूलाई जोगाउन हामी सबैको दायित्व गरेको डा. लामाले बताए । सन् २००९ मा १०बुँदे सगरमाथा घोषणापत्र जारी गर्दै विश्वमै पहिलोपटक सबैभन्दा बढी उचाइमा कालापत्थरमा मन्त्रिपरिषद्को बैठक बसेको थियो । 

वातावरणीय परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथाको आधार शिविरस्थित पाँच हजार दुई सय ४२ मिटरको उचाइमा रहेको कालापत्थरमा बसेको मन्त्रिपरिषद् बैठकले जलवायु परिवर्तनप्रति सामूहिक प्रतिबद्धता जनाएको थियो । संयुक्त राष्ट्रसंघका महासचिवले हालै सम्पन्न भ्रमणमा हिमालमा जलवायुले पारेको असरबारे चिन्ता व्यक्त गरेका थिए । 

सुझावित समाचार