रणनीतिक सीमावर्ती सहरमा नियन्त्रण गुमाएको म्यानमार सेनाको भनाइ

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण
रणनीतिक सीमावर्ती सहरमा नियन्त्रण गुमाएको म्यानमार सेनाको भनाइ

२७ अक्टोबरमा उत्तरी शान राज्यको लौकाइङ सहर नजिकैको सैन्य आधार शिविर कब्जा गरेपछि एमएनडिएएका सदस्यहरू । तस्बिर : एएफपी

तीन जातीय सशस्त्र समूहसँग धेरै दिनको झडपपछि म्यानमारको सेनाले चिनियाँ सीमामा रहेको एक रणनीतिक उत्तरी सहरमाथि नियन्त्रण गुमाएको सेनाका एक प्रवक्ताले बताएका छन्।

‘चीनको युनान प्रान्तको सीमामा रहेको चिनेश्वेहा सहरमा सरकार, प्रशासनिक निकाय र सुरक्षा निकाय अब छैनन्,’ बुधबार राति जाव मिन तुनले एक विज्ञप्तिमा भने।

म्यानमारको उत्तरी राज्य शानको एउटा ठूलो भागमा शुक्रबारदेखि लडाइँ सुरु भएको छ। त्यहाँ चीनको बेल्ट एन्ड रोड ग्लोबल इन्फ्रास्ट्रक्चर परियोजनाअन्तर्गत एक अर्ब डलरको रेल लिंकको योजना बनाइएको छ।

ता’आङ नेसनल लिबरेसन आर्मी (टिएनएलए), आराकान आर्मी (एए) र म्यानमार नेसनल डेमोक्रेटिक अलायन्स आर्मी (एमएनडिएए)ले म्यानमारको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग जोड्ने थुप्रै सैन्य चौकी र प्रमुख सडकहरूमाथि कब्जा गरेको बताएका छन्।

संयुक्त राष्ट्रसंघले हजारौँ मानिस विस्थापित भएको र केही मानिस सीमा पार गरेर चीनमा भागेको भन्दै चिन्ता व्यक्त गरेको छ। यसै वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्म चीनसँग म्यानमारको एक अर्ब ८० करोड अमेरिकी डलरको सीमा व्यापारको एकचौथाइभन्दा धेरै हिस्सा चिनेश्वेहा सहरमार्फत भएको थियो।

सुझावित समाचार