जाडोमा सौना बाथको आनन्द

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण

सानो कोठा । कोठाभित्र चारैतिर चिल्ला काठले बारिएको खाली ठाउँ हुन्छ । काठले गारो (भित्ता) छेकिएको हुन्छ । कोठाभित्र ठाउँ–ठाउँमा सुत्ने, बस्ने बेन्च राखिएको हुन्छ । जुन कोठामा एउटा हिटर पनि राखिएको हुन्छ । हिटरले कोठा तताउँछ र कोठामा रहेको ढुंगा तात्छ । ढुंगाको तातो बाफले नुहाइन्छ । यसरी कोठामा बाफ लिएर नुहाउने विधिको नाम हो, सौना बाथ । यस्तो कोठालाई भने ‘सौना रुम’ भनिन्छ ।

नुहाउने टेक्निक
- कोठामा राखिएको विशेष प्रकारको इलेक्ट्रिक हिटरमाथि साना–साना ढुंगा राखिएको हुन्छ । तिनै ढुंगा तातेपछि बाफ निस्कन्छ । र, त्यही बाफमा नांगै बसेर ताप लिइन्छ । सौना कोठामा छिर्नुअघि केही विधि भने अपनाउनुपर्छ :

- आफ्नो स्वास्थ्य अवस्थाका बारेमा थाहा पाउनुपर्छ ।

- दीर्घरोगी वा अस्वस्थ व्यक्तिले सम्बन्धित चिकित्सकको सल्लाह लिएर मात्रै सौना गर्नु उचित हुन्छ । पाको उमेरका व्यक्तिले पनि चिकित्सकको सल्लाहमा मात्रै सौना लिनुपर्छ । शारीरिक रूपमा सौना लिन योग्य व्यक्तिले सौना लिनुपूर्व मानसिक रूपमा पनि तयार हुनुपर्छ ।

- जाडो मौसममा मनतातो पानीले नै नुहाउनु उचित हुन्छ । नुहाइसकेपछि ड्रेस खोलेर निर्वस्त्र हुनुपर्छ । तौलिया लगाउन सकिन्छ । टाउकोमा पनि सानो तौलिया पानीमा भिजाएर राख्न सकिन्छ । पानीमा भिजाएर टाउकोमा तौलिया लगाउनाले सौना लिने क्रममा रिंगटा लाग्ने, चक्कर लाग्नेजस्ता समस्याबाट बच्न सकिन्छ । 

- यी तयारी गरिसकेपछि सौना कोठाभित्र छिर्न सकिन्छ । सौना कोठा करिब ७० डिग्रीको तापमा तातिएको हुन्छ । पसिना आउने गरी शरीरले ताप खप्न सकेसम्म सौना कोठामा बस्न सकिन्छ । सौना कोठामा धेरै बेर बसिरहनु भने हुँदैन । १५ मिनेट बाहिर निस्कँदै करिब १५ मिनेट भित्र बस्नु उचित हुन्छ ।

फुक्ने र खुम्चने

- बाहिर निस्कँदा भने चिसो पानीले नुहाइन्छ र आराम गरिन्छ । सौना कोठाभित्र तातो हुन्छ र बाहिर निस्केर चिसो पानीले नुहाउँदा छालाका मांसपेशी खुम्चन्छन् । सौना कोठामा बस्दा भने छालाका मांसपेशी फुक्छन् । छालाका मांसपेशी खुम्चने र फुक्ने प्रक्रियाका कारण छालामा भएका विकार तत्व बाहिर जान्छ ।

- यसले गर्दा छालासम्बन्धी रोग लाग्न पाउँदैन । छालामा आवश्यक पोषण तत्व पुग्छ । जसले गर्दा छाला स्वस्थ हुन्छ । छाला स्वस्थ भएपछि छालामा चमक आउने नै भयो । मानिसको सुन्दरतामा सौना बडो लाभदायक हुन्छ ।

सौनाका फाइदा
- रक्तसञ्चार बढाउँछ । मुटुसम्बन्धी रोगको जोखिम घटाउँछ । तौल नियन्त्रण गर्न सहयोग गर्छ ।
- छालाबाट विकार तत्वहरू निकाल्न मद्दत गर्छ । तनाव नियन्त्रण गर्न सहयोग गर्छ ।

रोग भगाउने सौना
यति मात्रै हैन, नियमित सौना गर्नाले हाडजोर्नी लचिलो तथा मजबुत हुन्छन् । सौना गर्नाले हाडजोर्नी दुख्ने, पीडा हुने, ढाड दुख्ने, टाउको दुख्ने, माइग्रेनजस्ता समस्या कम गर्न मद्दत मिल्छ । त्यसैगरी, रुघा–खोकी लाग्ने, एलर्जी हुनेजस्ता समस्याबाट बच्न सकिन्छ । चिसोबाट निम्तिने समस्याबाट बच्न सकिन्छ । सौना गर्दा पसिना आउने भएकाले मोटोपना भएका व्यक्तिलाई ज्यान फिट राख्न बडो मद्दत मिल्छ, मोटोपना त कम हुन्छ नै ।

स्लिम व्यक्तिले पनि सौना गर्दा पसिनाका माध्यमबाट विकार तत्व बाहिर जाने भएकाले विभिन्न रोगको संक्रमणको जोखिम कम हुन्छ, जसले व्यक्ति हृष्टपुष्ट रहन मद्दत मिल्छ । नियमित सन्तुलित रूपमा सौना गर्नाले खुसीका मस्तिष्क रसायन सक्रिय हुन्छन्, जसले तनाव त कम हुन्छ नै । व्यक्ति मानसिक रूपमा पनि खुसी र सक्रिय रहन मद्दत मिल्छ ।

त्यसैले विशेषगरी जाडो मौसममा वयस्क व्यक्तिले महिनामा तीनपटकसम्म सौना गर्नु उचित हुन्छ । एकपटक सौना लिँदा करिब एक घन्टा समय लाग्छ । सौना गरिसकेर सौना कोठाबाट बाहिरिएपछि मनतातो पानीले नुहाएर लुगा लगाउनुपर्छ । सौना गरिसकेपछि भने अनुहारलगायतका देखिने छाला सुक्खा हुन सक्छ । यसरी सुक्खा हुन नदिनका लागि प्राकृतिक वनस्पति तथा जडीबुटीको तेल लगाउनु उचित हुन्छ । ओलिभ आयल, आल्मन्ड आयलजस्ता तेल लगाउन सकिन्छ ।

सन्तुलित खानपान
सौना गर्नुभन्दा करिब दुई घन्टाअघि र दुई घन्टापछिसम्म खानपान नगरेकै राम्रो हुन्छ । सौना गर्ने क्रममा भने पानीमा कागती र नुन घोलेर पिउनु उचित हुन्छ । सौना गर्दा शरीरमा पसिनाको माध्यमबाट पानी बाहिर जान्छ । त्यसैगरी, शरीर सुक्खा हुन नदिनका लागि यसरी पानीमा कागती र नुन घोलेर पिउनु उचित हुन्छ । ज्यान फिट राख्नका लागि हरियो सागपात, फलफूल र सन्तुलित खानपानमा ध्यान दिन आवश्यक हुन्छ । 

शरीर स्वस्थ तथा फिट राख्नका विभिन्न वनस्पति, जडीबुटी तथा हर्बल फुड सप्लिमेन्ट सेवन गर्न आवश्यक हुन्छ । टंकटअली, गानोदर्मा, जिन्सेङ, बार्ली, नोनीजस्ता वनस्पतिजन्य जडीबुटी तथा हर्बल फुड सप्लिमेन्ट खानु उचित हुन्छ । यस्ता जडीबुटी तथा वनस्पतिको सन्तुलित र नियमित सेवनले स्वस्थ रहन मद्दत मिल्छ ।

See More On

सुझावित समाचार