दक्षिणी इजरायलमा हमास समूहकाे आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ ।
मधुवन– १ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही– ६ धनुषाका अनन्द साहको शव पहिचान भएको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ । सोमबार साँझ दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पूरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदै छ ।’
दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूमध्ये मधुवन–१ सुनसरीका स्वर्णकार र सपही– ६ धनुषाका साहको शव पहिचान हुन बाँकी थियो । दुवैको शव पहिचान भएको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ ।
हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँचजनाको शव नेपाल आइपुगेको छ । हालसम्म बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन– ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम– ५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ– ३ का आशिष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही– ६ का आनन्द साह, सुनसरी मधुवन– १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली– ३ का राजन फुलारा, डोटी लामीखाल– ८ का पदम थापा र सल्यान शारदा– ३ का प्रवेश भण्डारी छन् ।
सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त– ३ का विपिन जोशी सम्पर्कविहीन रहेका छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो