दसैँको लामो विदापछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २८.१८ बिन्दुले घटेर एक हजार आठ सय ७५.६५ बिन्दुमा झरेको छ।
सेयर कारोबार बन्द हुनुअघि २ कात्तिकमा नेप्से ४.०५ अंकले घटेको थियो। दसैँपछिको पहिलो कारोबारमा आइतबार ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.४० प्रतिशतले घटेको छ।
आज दुई सय कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २७ कम्पनीको मूल्य मात्रै बढेको छ। २७ लाख १२ हजार कित्ता सेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
आज नेप्सेका १३ वटै समूहको सूचक घटेको छ। व्यापार समूह र होटेल तथा पर्यटन समूहको सूचक क्रमशः २.६८ प्रतिशत र २.६३ प्रतिशतले घटेका छन्।
घटेको बजारमा आइतबार अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको मूल्य ८.९९ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको मूल्य ६.६० प्रतिशत र घलेम्दी हाइड्रोको मूल्य ५.७१ प्रतिशतले बढेको छ।
सोनापुर मिनरल्सको मूल्य पहिलो कारोबारमा नै नकारात्मक सर्किट लागेको छ। नेसनल हाइड्रोपावर कम्पनीको मूल्य ७.९२ प्रतिशतले घटेको छ।