इजरायल–हमासबीच जारी युद्धबीच हमासले मंगलबार थप दुई बन्धकलाई रिहा गरेको दि टाइम्स अफ इजरायलले जनाएको छ । रिहा हुनेमा नुरिट कुपर र योचेभेद लिफ्सिट्ज छन् ।
समाचारअनुसार मुक्त भएका दुई बन्धकलाई लिएर एउटा सैन्य हेलिकाेप्टर तेलअभिभमा इचिलोभ अस्पतालको छतमा अवतरण भएको थियो । अस्पतालका एक नर्सलाई उद्धृत गर्दै दि टाइम्स अफ इजरायलले गाजामा हमासको कैदबाट रिहा भएपछि सीधै इजराइली मेडिकल सेन्टरमा पुगेपछि दुवैको स्वास्थ्य राम्रो देखिएको जनाएको छ ।
नर्सका अनुसार दुवै बन्धकको आफ्ना परिवारसँग भावनात्मक पुनर्मिलन भयो । मुक्त भएका दुवै बन्धकले औषधि लिइरहेका थिए, तर उनीहरूले दुई साता कैदमा प्राप्त नगरेको हुन सक्छ ।
यसअघि हमासको कासम ब्रिगेडले एउटा भिडियो जारी गरेको थियो जसमा दुई बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसका सदस्यहरूलाई सुम्पिँदै गरेको देखाइएको थियो ।
भिडियोमा दुई महिला नकाब लगाएका बन्दुकधारीको हात पक्रेर अस्थिर रूपमा हिँडिरहेको देखिन्छ । ती नकाबधारीहरूले उनीहरूलाई नास्ता र पेय पदार्थ पनि दिइरहेका हुन्छन् । दि टाइम्स अफ इजरायलका अनुसार भिडियो फुटेजमा दुवै महिला डराएको देखिन्छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनले ती बन्धकको रिहाइको स्वागत गरेको र बाँकी बन्धकहरूको रिहाइका लागि काम जारी राखेको सामाजिक सञ्जाल एक्समा बताएका छन् । अझै दुई सयजना बन्धक रहेको बताइएको छ ।
सिएनएनका अनुसार यसअघि हमासले दुई अमेरिकी बन्धकलाई रिहा गरेको थियो । सिकागो बासिन्दा जुडिथ ताई रानन र उनकी १७ वर्षीया छोरी नताली राननलाई हमासले मुक्त गरेको बताइएको छ । (एएनआई/रासस)