मनाङको नयाँ गन्तव्य मुन लेक

शनिबार, ४ कार्तिक, २०८०
डिजिटल संस्करण

यो ताल मनाङको खाङसार गाउँबाट करिब तीन घन्टा टाढाको दूरीमा छ । यो तालबाट तिलिचोसम्म पुग्ने पदमार्ग निर्माण गर्न सके पर्यटकले एकैपटक दुईवटा ताल अवलोकन गर्न पाउनेछन् । 

मनाङमा नयाँ ताल भेटिएको छ । चन्द्रमा आकारमा रहेकाले यसलाई मुन लेक भनिएको छ । यो ताल समुद्री सतहबाट पाँच हजार ८० मिटर उचाइमा रहेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसारमा मुन लेक भेटिएको वडाध्यक्ष चोल्पा गुरुङले बताए । 

यो ताल खाङ्सार गाउँबाट करिब तीन घण्टा टाढाको दूरीमा छ । यो तालबाट तिलिचोसम्म पुग्ने पदमार्ग निर्माण गर्न सके पर्यटकले एकैपटक दुईवटा ताल अवलोकन गर्न पाउने वडाध्यक्ष गुरुङले बताए । उनले भने, ‘अहिले मुन लेकसम्म जाने बाटोमा साइनबोर्ड मात्रै राखिएको छ । यसलाई अन्य तालसँगै तिलिचो तालसम्म पुग्ने बाटोमा जोडी प्रवर्द्धन गर्नेतर्फ स्थानीय सरकारसँगै प्रदेश र संघ सरकारले पनि चासो दिइरहेको छ ।’ 

ताल भएको क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्रसँग जोडिएकाले यहाँको पर्यटकीय क्षेत्रको विकासमा केही मात्रामा ‘एक्याप’ले सहयोग गरेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले मनाङमा धेरै हिमताल रहे पनि यहाँ भएका तालको मापन गर्न पालिकाले नसकेको बताए । उनले भने, ‘प्राकृतिक रूपमा रहेका यहाँका हिमतालसम्म पुग्न सहज छैन । पालिकाको बजेट अपुग हुन्छ, यस्ता प्राकृतिक तालको खोज अनुसन्धानमा सबैले सहयोग गर्नुपर्ने हो ।’ पालिकास्तरबाट केही बजेट विनियोजन गरी खोज्ने प्रयास गरिए पनि आवश्यक मात्रामा काम अझै गर्न नसकिएको उनले बताए ।

मनाङका प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले यहाँ भेटिएका ताल वा कुण्ड के हुन्, त्यसको मापन गर्न पहल गर्ने बताइन् । उनले भनिन्, ‘यस्ता प्राकृतिक वस्तु हाम्रा लागि गौरवका विषय हुन् । यिनलाई खोज अनुसन्धान गरी प्रचारप्रसार गर्न सके देशको आयवृद्धिसँगै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्नेछ ।’ 

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसारस्थित मुन लेक र हिदम लेक भेटिएको वडाध्यक्ष चोल्पा गुरुङले बताए । उनका अनुसार हिदम लेक पाँच हजार तीन सय मिटर उचाइमा रहेको छ । मुन लेकबाट तीनदेखि चार घन्टाको दूरीमा हिदम लेक रहेको छ ।

See More On

सुझावित समाचार