राष्ट्रपतिले ९१ वर्षीया भाउजूको हातबाट दसैँको टीका लगाउने

मंगलबार, ७ कार्तिक, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट यस वर्षको विजयादशमीको टीका लगाउने भएका छन् । राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेट जाँदा भाउजू विष्णुमायाको हातबाट टीका, जमरा र आशीर्वाद लिनेछन् ।

यसैगरी, राष्ट्रपति पौडेलले भाउजूको हातबाट टीका, जमरा र आशीर्वाद लिएपछि परिवारका सदस्यहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ । यस्तै, राष्ट्रपति पौडेलले विजयादशमीको दिन सर्वसाधारण तथा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई समेत टीका लगाइदिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टाछुट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणको व्यवस्था मिलाएको छ । राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न इच्छुक सम्माननीय, माननीय, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृतस्तरसम्मका राष्ट्रसेवकका लागि अपराह्न २ देखि ३ बजेसम्म समय तोकिएको छ ।

अन्य सर्वसाधारणले अपराह्न ३ देखि ५ बजेसम्म राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्न सक्ने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। राष्ट्रपतिबाट टीका प्रसाद ग्रहण गर्ने महानुभावले मर्यादित पोसाकमा १ नम्बर प्रवेशद्वारबाट राष्ट्रपति कार्यालय प्रवेश गर्नुपर्नेछ ।

See More On

सुझावित समाचार