राष्ट्रसंघका महासचिवले १४ कात्तिकमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

शनिबार, ४ कार्तिक, २०८०
डिजिटल संस्करण

महासचिव एन्टोनियो गुटेरेस १२–१५ कात्तिकसम्म नेपाल भ्रमणमा आउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा दसैँलगत्तै नेपाल भ्रमणमा आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले १४ कात्तिकमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार संसद् सचिवालयलाई पत्र पठाउँदै संसद्को संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरेको छ । 

सरकारको आग्रहअनुसार सचिवालयले महासचिव गुटेरेसको सम्बोधनको तयारी थालेको हो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले मन्त्रिपरिषद् कार्यालयबाट १४ कात्तिकमा राष्ट्रसंघका महासचिवको सम्बोधन गर्ने प्रयोजनका लागि पत्र प्राप्त भएको र सचिवालयले आवश्यक तयारी थालेको बताए । महासचिव गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधिसभाको बैठक १२ कात्तिकमा आह्वान गरिएको छ । दुवै सदनको संयुक्त बैठक बस्ने निर्णय भएको छ । 

एकराम गिरी प्रवक्ता, संसद् सचिवालय
महामहिम गुटेरेसले १४ कात्तिकको अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध भई पत्र आएको छ । सचिवालयले आवश्यक तयारी गर्दै छ । संवैधानिक निकायका प्रमुख, राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण तथा अन्य आन्तरिक तयारी भइरहेको छ ।

‘महामहिम गुटेरेसले १४ कात्तिकको अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनका लागि आवश्यक व्यवस्थाका लागि अनुरोध भई पत्र आएको छ,’ उनले भने, ‘सचिवालयले आवश्यक तयारी गर्दै छ । संवैधानिक निकायका प्रमुख, राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिलगायतलाई आमन्त्रण तथा अन्य आन्तरिक तयारी भइरहेको छ ।’

महासचिव गुटेरेस १२–१५ कात्तिकसम्म नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । महासचिव गुटेरेस आउँदै गर्दा संसद्ले इजरायल र गाजापट्टीमा भएको हमलामा मारिएका बालबालिका तथा नागरिकको सम्झनामा दुःख व्यक्त गर्ने तयारीसमेत छ ।

सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको संघीय संसद्मा त्यसयता विदेशी राष्ट्रप्रमुख तथा विश्वव्यापी संस्थाका पदाधिकारीले सम्बोधन गरेका छैनन् । मोदीपछि महासचिव गुटेरेसले विदेशी पाहुनाका रूपमा सम्बोधन गर्न लागेको प्रवक्ता गिरीले बताए । 
परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसको सम्बोधन विश्व शान्ति, नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायको विषयमा केन्द्रित हुनेछ । परराष्ट्रमन्त्री

एनपी साउदले महासचिव गुटेरेसको भ्रमणको तयारी भइरहेको बताए । भ्रमणको कार्यतालिका मन्त्रालयले सार्वजनिक गरिसकेको र सोहीअनुसार तयारी भइरहेको उनको भनाइ छ ।

महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्दै गर्दा विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म पनि संक्रमणकालीन न्याय टुंगिएको छैन । अपूरो कानुन बन्दा सर्वाेच्च अदालतले नै पूर्ण कानुन बनाउन आदेश दिए पनि संसद्ले अझै कानुन बनाउन सकेको छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू चारवटा विषयमा सहमतिमा पुग्न सकेका छैनन् । 

टिआरसी विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा अड्किएको छ । उपसमितिले विवाद थाती राखेर प्रतिवेदन बुझाए पनि पूर्ण समितिले सहमति जुटाउन नसक्दा संसद्मा आउन सकेको छैन । महासचिव गुटेरेसको भ्रमणलाई लिएर दलहरूले अग्रसरता देखाए पनि निष्कर्षमा पुगेको छैन । 

परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसलाई नेपाल सरकारले सरकार प्रमुखको कूटनीतिक मर्यादा दिएको छ । नेपाली सेनाले उनको सुरक्षाको प्रबन्ध गरेको छ । महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत उच्च पदाधिकारीसँग भेट्ने तयारी छ ।

महासचिव नेपाल आएकै दिन परराष्ट्रमन्त्री साउद अमेरिका जाँदै

परराष्ट्रमन्त्री एनपी साउद १२ कात्तिकमा अमेरिकाको औपचारिक भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस १२ कात्तिकमा काठमाडौं आइपुग्दै छन् । महासचिव गुटेरेसलाई भेटेर त्यही राति परराष्ट्रमन्त्री साउद अमेरिका जाँदै छन् । 

उनले पाँच दिनको भ्रमणमा अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनसहित उच्च अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ‘संयुक्त रास्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस कात्तिक ११ को राति (१२ गते बिहान) नेपाल आउँदै छन् । त्यही दिन महासचिव गुटेरेससँग कात्तिक १२ गते भेट गरेपछि माननीय परराष्ट्रमन्त्रीज्यू अमेरिका जाने गरी भ्रमणको नयाँ कार्यतालिका बनिरहेको छ,’ परराष्ट्रमन्त्रीको सचिवालयले बिहीबार जारी गरेको प्रेस नोटमा भनिएको छ । 

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणपछि परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण हुन लागेको हो  । प्रधानमन्त्रीसँग चीनमा परराष्ट्रमन्त्री साउद साथमा थिए । उनी प्रधानमन्त्री प्रचण्डको विश्वासमा अमेरिका जान लागेका हुन् । २००२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री कोलिन पावेलपछि कुनै पनि अमेरिकी विदेशमन्त्रीले हालसम्म नेपालको औपचारिक भ्रमण गरेका छैनन् । 

तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली २०७५ पुस २ देखि ६ सम्म अमेरिकाको औपचारिक भ्रमणमा थिए । उनले ३ पुसमा अमेरिकी तत्कालीन विदेशमन्त्री माइक पोम्पियोसँग भेटवार्ता गरेका थिए । पाँच वर्षपछि नेपालबाट परराष्ट्रमन्त्रीको औपचारिक भ्रमण हुन लागेको छ । 

सुझावित समाचार