विराट कोहलीले एकदिवसीय क्रिकेटमा ४८औँ शतक पूरा गरेपछि बिहीबार भारतले आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशमाथि सात विकेटको सानदार जित निकालेको छ । कोहलीले २८५ खेलमा यो सफलता हात पारेका हुन् ।
समग्रमा क्रिकेटमा छिटो २६ हजार अन्तर्राष्ट्रिय रन पूरा गर्ने उनी पहिलो खेलाडी बनेका छन् । उनले ५६७ इनिङ्समा पूरा गरेका हुन् । भारतका सचिनले २६ हजार अन्तर्राष्ट्रिय रन ६ सय इनिङ्समा हात पारेका थिए । एकदिवसीय खेलमा सचिनको नाममा ४९ शतकको विश्व कीर्तिमान रहेको छ । अब सचिनको रेकर्ड बराबर गर्न कोहलीलाई एक शतक आवश्यक छ ।
बंगलादेशको मध्यम योगफल
पुनेको मैदानमा पहिलो ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा आठ विकेटको नोक्सानीमा २५६ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा भारतले ४१.३ ओभरमा तीन विकेटको क्षतिमा २६१ रन जोडेको थियो । कोहलीले नासुम अहमदको बलमा छक्का प्रहार गर्दै भारतलाई जित मात्र दिलाएनन्, शतकसमेत पूरा गरेका थिए ।
उनले ९७ बलमा चार छक्का र ६ चौकाको सहयोगमा १०३ रनको योगदान दिए । उनले लोकेश राहुलसँग चौथो विकेटका लागि ७४ बलमा ८३ रनको साझेदारी गरेका थिए । राहुलले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३४ रनको योगदान दिए । जितसँगै भारत दोस्रो स्थानमा छ । भारतले चार खेलमा शतप्रतिशत नतिजा निकाली ८ अंक बटुलेको छ ।