समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

शुक्रबार, ३ कार्तिक, २०८०
डिजिटल संस्करण

नेपाल एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नेपाली युवा टोलीले बिहीबार मलेसियामा भएको खेलमा साउदी अरेबियालाई ३०१ रनको फराकिलो अन्तरले हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । समूह ‘ए’मा नेपालले तीन खेलबाट सर्वाधिक ६ अंक बटुलेको छ । पहिलो हार बेहोरेको साउदीको ४, बहराइनको २ अंक रहँदा इरान विनाअंक पुछारमा रह्यो । नेपालबाहेक समूहका तीनै राष्ट्र प्रतियोगिताबाट बाहिरिएका छन् ।

वाइएसडी युकेएम ओभलमा नेपालको जितमा अर्जुन कुमारले शतक, आकाश त्रिपाठीले अर्धशतक तथा बलर दीपेश कँडेलले ६ विकेट लिएका थिए । नेपालले पहिलो खेलमा कप्तान देव खनालको शतकमा इरानलाई २७४ र दोस्रो खेलमा बहराइनलाई सात विकेटले स्तब्ध बनाएको थियो । 

साउदी अरेबियाले बहराइनलाई ६७ रन र इरानलाई चार विकेटले हराएको थियो । अब, नेपालले फाइनल प्रवेशका लागि जापान, हङकङ र मलेसियामध्ये एकसँग खेल्नेछ ।  

लगातार दुई खेलमा दीपेशको ६ विकेट
नेपालले पहिलो ब्याटिङ गरी ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ४८ रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा साउदी अरेबिया १९.१ ओभरमा अलआउट हुँदा ४६ रनमै समेटियो । नेपालका बायाँहाते स्पिनर दीपेश कँडेलले ९.१ ओभरमा १८ रन खर्चिंदै ६ विकेट लिएका थिए । यू–१९ खेलमा लगातार ६ विकेट लिने उनी नेपालका पहिलो बलर बनेका छन् । यसअघि उनले बहराइनविरुद्ध पनि ६ विकेट लिएका थिए । समग्रमा उनले तीन खेलमा १५ विकेट लिइसकेका छन् । साउदी अरेबियाविरुद्धको खेलमा आकाश चन्दले दुई र सुवास भण्डारीले एक विकेट हात पारे । 

अर्जुनले प्रहार गरे शतक
टस हारेर ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुन कुमालले १४२ रनको इनिङ्स खेले । उनले १११ बलमा १७ चौका र दुई छक्का प्रहार गरेका थिए । आकाश त्रिपाठीले ९८ बलमा ६ चौका र दुई चौकाको मद्दतमा ८९ रन बनाए । ओपनर दीपक बोहराले २९ रन बनाए । विशालविक्रम केसीले अविजित २४ रन जोडे । दीपेश कँडेल र दीपकप्रसाद डुम्रेले समान १४ रनको योगदान गरेका थिए । अर्जुन र अकाशले दोस्रो विकेटका लागि १८९ रनको बलियो साझेदारी गरेका थिए । अर्जुनले पहिलो विकेटका लागि दीपक बोहरासँग ७१ रन बटुले । साउदी अरेबियाका लागि मोहम्मद अहमद राजा, मोहम्मद घायुर अहमद र अब्दुल्लाह सिराजले समान दुई हात पारे । 

सुझावित समाचार