राई ११औँ लिगलिगे दौडको विजेता

बिहिबार, २ कार्तिक, २०८०
डिजिटल संस्करण

गोरखाको पालुङटारमा बुधबार आयोजित ११औँ लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । उपाधि जितेसँगै उनी ११औँ ‘लिगलिगे राजा’ बनेका छन् । चेपेघाटदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर दूरी उनले ५६ मिनेट ३६ सेकेन्डमा पार गरेका थिए । खोटाङ घर भएका उनी त्रिभुवन आर्मी क्लबमा आबद्ध छन् ।

निर्धारित दूरी ५६ मिनेट ५३ सेकेन्डमा लगाएका त्रिभुवन आर्मी क्लबकै नरेन्द्र सिं रावत दोस्रो भएका छन् । गत वर्षका विजेता अनिश थापा यसपाली तेस्रो बनेका छन् । निर्धारित दूरी उनले ५८ मिनेट ३५ सेकेन्डमा पार गरेका थिए । उनी भारतीय सेनामा कार्यरत छन् ।

दौडको उपाधि विजेता राईलाई विशेष कार्यक्रमबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गर्ने कार्यक्रम रहेको आयोेजक लिगलिग विकास अभियानका अध्यक्ष सञ्जीव राना मगरले बताए । राईलाई एक लाख पुरस्कारसहित श्रीपेच प्रदान गरिनेछ । दौडमा दोस्रो भएका रावतले ५० हजार र तेस्रो बनेका थापाले २५ हजार रुपैयाँ पाउनेछन् । 

दौडमा २१ जना स्थानीय धावकसहित कुल ७० जनाको सहभागिता थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्यांकी, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारो हुँदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको हो । नेपाल एकीकरणअघि बाइसे–चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । विसं १६०४ मा सुरु भएको मानिएको दौड २०६७ सालबाट निरन्तरता हुन थालिएको हो । तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

सुझावित समाचार