चैतभित्र शल्यक्रिया सेवा विस्तार, वैशाखसम्म आइसियू र एनआइसियू सेवा सुरु गरिने
सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको घोषणा गरेको कैलालीको गेटामा बुधबारबाट अस्पताल सञ्चालन गरिँदै छ । न्यूनतम उपचार सेवासहित सय शय्याको अस्पताल सञ्चालनको सुरुवात गर्न लागिएको गेटा अस्पतालका निर्देशक वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा. प्रमोद जोशीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।
‘केन्द्रबाट न्यूनतम सेवासहितको अस्पताल सञ्चालनको निर्देशन आएकाले बुधबारबाट ओपिडी सेवा सुरु गर्दै छौँ,’ उनले भने, ‘अहिले केही सेवा सुरु गर्छौँ, थप सेवा विस्तार गर्दै लैजाने लक्ष्य छ ।’ ओपिडीबाट अहिले जनरल मेडिसिन, जनरल सर्जरी, हाडजोर्नी, नसा रोग, स्त्रीरोग, रेडियोलोजिस्ट तथा हप्तामा एक दिन विशेषज्ञ कार्डियोलोजी सेवा दिइने उनले जानकारी दिए । एक्सरे, प्रयोगशाला, फार्मेसी सुविधा पनि उपलब्ध हुने जोशीले बताए ।
डा. प्रमोद जोशी निर्देशक, गेटा अस्पताल
अहिले ‘ब्रेक थु’ गर्न ओपिडी सेवा सुरु गर्न लागेका हौँ । अहिले केही सेवा सुरु गर्छौँ, थप सेवा विस्तार गर्दै लैजाने लक्ष्य छ । यसै आर्थिक वर्षभित्र सय शय्याको पूर्ण क्षमताको अस्पताल सञ्चालन गर्ने लक्ष्य छ । विश्वविद्यालयको जग बनाउन पनि अस्पताल सञ्चालन गर्न आवश्यक छ ।
ओपिडी सेवा सञ्चालन गर्न अहिले गेटा अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सकसहित २६ जना कर्मचारी आइपुगेका छन् । गेटामा एक सय शय्याको अस्पताल सञ्चालन गर्न सरकारले एक सय ४१ जनाको दरबन्दी स्वीकृत गरिसकेको छ । ‘अहिले ‘ब्रेक थु’ गर्न ओपिडी सेवा सुरु गर्न लागेका हौँ । यसै आर्थिक वर्षभित्र सय शय्याको पूर्ण क्षमताको अस्पताल सञ्चालन गर्ने लक्ष्य छ,’ अस्पतालका निर्देशक जोशीले भने, ‘विश्वविद्यालयको जग बनाउन पनि अस्पताल सञ्चालन गर्न आवश्यक छ ।’
कात्तिकभित्रै स्वास्थ्य बिमाबाट प्राप्त हुने सुविधा र एमसिएच क्लिनिकको सुविधा दिइने अस्पतालले जनाएको छ । त्यस्तै, मंसिरभित्र खोप सेवा र अन्तरंग सेवा तथा पुसभित्र आकस्मिक सेवा र प्रसूति सेवा विस्तार गर्ने लक्ष्य रहेको डा. जोशीले जानकारी दिए । चैतभित्र शल्यक्रिया सेवा विस्तार गर्ने लक्ष्य छ । त्यसका लागि मोडुलरबाट सुसज्जित शल्यक्रिया कक्ष स्थापनाको तयारी रहेको जोशीले बताए । उनका अनुसार सुदूरपश्चिममा अहिलेसम्म कुनै पनि अस्पतालमा मोडुलर शल्यक्रिया कक्ष छैन । वैशाखसम्म आइसियू र एनआइसियू सेवा सुरु गर्ने लक्ष्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।
डा. जोशीले तत्काल ओपिडी सेवाका लागि केही उपकरण आइसकेका र सेवा विस्तारका लागि थप उपकरण खरिदको प्रक्रिया अगाडि बढाउन लागिएको जानकारी दिए । ‘स्वास्थ्य उपकरणहरू खरिद गरिएपछि उच्च तहको आकस्मिक सेवा र विशिष्टिकृत विशेषज्ञ सेवा दिन्छौँ,’ उनले भने । आवश्यक बजेट आइसकेको र उपकरण खरिद गर्न चार महिना लाग्ने निर्देशक जोशीले बताए ।
पाँच अर्बका संरचना तयार
गेटामा अस्पताल सञ्चालनका लागि सरकारले यस वर्ष साढे तीन करोड र पुँजीगततर्फ ८० करोड बजेट दिएको छ । पुँजीगततर्फ पर्याप्त बजेट भए पनि एक सय ४१ कर्मचारीका लागि चालू बजेट कम रहेको जानकारी केन्द्रमा गराइसकिएको निर्देशक जोशीले बताए । गेटामा मेडिकल कलेजका नाममा झन्डै पाँच अर्बका संरचनाहरू बनेका छन् । केही संरचना निर्माणका क्रममा छन् । राज्यको ठूलो लगानीमा संरचना बने पनि मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने अन्योल लामो समयसम्म थियो ।
सरकारले गेटामा मेडिकल विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेको थियो । मन्त्रिपरिषद्बाट मेडिकल विश्वविद्यालयको निर्णय गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गेटामा पूर्वाधारको निरीक्षणका लागि आएका थिए । सोमबार धनगढीमा भएको समाजवादी मोर्चाको कार्यक्रममा पनि उनले विश्वविद्यालयसम्बन्धी विधेयक सदनमा छिटो अगाडि बढाइने बताएका थिए ।
सुदूरपश्चिममा मेडिकल कलेज स्थापनाको विषय वर्षौँदेखि उठे पनि सरकारले ०६६ मा गेटामा मेडिकल कलेज स्थापनाको निर्णय गरेको थियो, तर रूख कटान आदेश नपाउँदा संरचना निर्माणको काम अगाडि बढ्न सकेको थिएन । ०७२ पछि मात्र पूर्वाधार निर्माणले गति लिएको हो । फोहोरमैला व्यवस्थापन केन्द्र, शाखा सडक निर्माणलगायतका कामहरू अहिले पनि भइरहेका छन् ।
अस्पताल सञ्चालनको निर्णयसँगै यस क्षेत्रका बासिन्दाले स्तरीय उपचार पाउने र मेडिकल विश्वविद्याय सञ्चालनको प्रक्रिया अगाडि बढ्ने आशा स्थानीयले गरेका छन् । ‘विश्वविद्यालयसम्बन्धी विधेयक अगाडि बढेको छ, विशेषज्ञ चिकित्सकसहित अस्पताल सञ्चालन हुँदै छ, यो हामी सुदूरपश्चिमवासीका लागि खुशीको कुरा हो’, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. गणेशबहादुर सिंहले भने, ‘यसले गेटामा उपचार सेवासँगै स्वास्थ्य शिक्षाको काम अगाडि बढ्छ भन्ने आशा देखिएको छ ।’ यी कामले सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको अवस्थामा अब आमुल परिवर्तन हुने आशा देखिएको उनको भनाइ छ ।
अहिले ‘ब्रेक थु’ गर्न ओपिडी सेवा सुरु गर्न लागेका हौँ । अहिले केही सेवा सुरु गर्छौँ, थप सेवा विस्तार गर्दै लैजाने लक्ष्य छ । यसै आर्थिक वर्षभित्र सय शय्याको पूर्ण क्षमताको अस्पताल सञ्चालन गर्ने लक्ष्य छ । विश्वविद्यालयको जग बनाउन पनि अस्पताल सञ्चालन गर्न आवश्यक छ ।