एक सातामा दुई लाखले छाडे उपत्यका, घटस्थापनादेखि दैनिक ५० हजार बाहिरिँदै

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण
एक सातामा दुई लाखले छाडे उपत्यका, घटस्थापनादेखि दैनिक ५० हजार बाहिरिँदै

घर फर्कने क्रममा जडीबुटीमा गाडी कुरिरहेका सर्वसाधारण । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दसैँ नजिकिएसँगै उपत्यकाबाट घर फर्कने सर्वसाधारणको लर्को दिनहुँ बढिरहेको छ । २२ असोजयता मात्रै काठमाडौंबाट करिब दुई लाखजना बाहिरिसकेका छन् । 
उपत्यका ट्राफिक कार्यालयको तथ्यांकअनुसार सोमबार साँझसम्म करिब दुई लाखले उपत्यका छाडेका छन् ।

घटस्थापनायता दैनिक ५० हजारका दरले उपत्यका छाडिरहेका छन् । २२ असोजयता सोमबारसम्म एक लाख ९० हजारले उपत्यका छाडेका छन् । अन्य समयमा दैनिक करिब १० हजारसम्मले उपत्यका छाड्ने गरेकोमा चाडपर्व सुरु भएपछि बाहिरिने दर बढेको हो ।

यसबाहेक हवाईमार्गबाट पनि बाहिरिनेको संख्या दैनिक पाँच हजारभन्दा बढी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । तर, हवाईमार्गभन्दा सडकमार्गबाट बाहिरिनेको भिडभाड छ ।

मंगलबारदेखि घर फर्किनेहरूको संख्या थप भिडभाड हुने र सडकहरूमा पनि सवारीसाधनको ओहोरदोहोर बढी हुने ट्राफिक कार्यालयले जनाएको छ । ट्राफिक कार्यालय प्रमुख डिआइजी पोषराज पोखरेलले उपत्यकाबाट बाहिरिनेको चाप बढेको बताए । उनका अनुसार घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ–संस्था बन्द भएपछि दसैँ मनाउन थातथलो फर्कन थालेका हुन् ।

ट्राफिक प्रहरीले उपत्यकाबाट बाहिरिने चारवटै नाकामा यात्रु सहायता कक्ष र चेकजाँचमा कडाइ गरेको छ । यात्रुको सहजताका लागि काठमाडौं उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको छ । हाल काठमाडौंबाट बस छुट्ने स्थान गोंगबु क्षेत्रमा सबैभन्दा बढी यात्रुको भिडभाड हुने गरेको छ । ट्राफिकको तथ्यांकअनुसार विभिन्न रुटमा गरी हालसम्म ८७ हजारभन्दा बढीले अग्रिम बुकिङ गरिसकेका छन् । 

तर, सडक भने अस्तव्यस्त 
सरकारले दसैँभरका लागि सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रु बाहिरिने जानकारी दिए ।

तर, सडक अस्तव्यस्त हुँदा विगतमा भन्दा यो वर्ष यात्रुहरूले सास्ती खेप्नुपर्ने जानकारी दिए । ‘अहिले देशभरका सडक अस्तव्यस्त छन्, सम्बन्धित निकायले सडक मर्मत–सम्भार नगरिदिएका कारण घर फर्कनेहरूलाई सास्ती पुगेको छ,’ उनले भने, ‘सबैभन्दा बिजोग त नारायणघाट–बुटवलसम्मको सडक छ, यो सडक मर्मत गर्नतर्फ सरकारले चासो दिएको छैन ।’  

See More On

सुझावित समाचार