बडादसैँको पहिलो दिन आइतबार प्रसिद्ध शक्तिपीठ बाग्लुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बडादसैँको नवदुर्गा र चैत्राष्टमीको समयमा पूजाआजा गर्न मन्दिरमा देशका विभिन्न स्थानबाट भक्तजनको ओइरो लाग्ने गर्छ । घटस्थापनाको दिन बिहान ४ बजेदेखि नै भक्तजन लामबद्ध भएका थिए ।
दसैँभर भक्तजनको भिड लाग्ने गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । सोह्रश्राद्ध सकेर मुक्तिनाथबाट फर्कने भक्तजन पनि कालिका दर्शन गरेर मात्र घरघरमा लाग्ने गर्छन् । बाग्लुङ कालिकाप्रति धेरै भक्तजनको आस्था र विश्वास छ । ‘टाढादेखि धेरै मानिस आउँछन्, हामी पनि पोखराबाट दर्शन गर्न आयौँ,’ काठमाडौं घर भई पोखरामा रोजगारी गर्दै रहेका राम श्रेष्ठले भने, ‘कालिकाप्रति धेरै नै विश्वास छ ।’
पूजा र बलि व्यवस्थापन गर्दै सरसफाइ गरिएकाले कालिका मन्दिर चिटिक्क देखिएको छ । यहाँका पुराना सत्तल भत्काएर नयाँ बनाइएको छ भने सरसफाइ र फराकिलो बनाएपछि भक्तजनलाई सहज भएको छ । घटस्थापनादेखि सुरु हुने विशेष पूजा कोजाग्रत पूर्णिमासम्म चल्ने खड्काले बताए ।
पोखरा–बाग्लुङ सडकदेखि सात सय मिटरभित्र जंगलमा रहेको मन्दिरमा भक्तजनले मन्दिर पुग्दा आनन्द अनुभव गर्छन् । गुठीले पञ्चवर्षे योजनासहित गुरुयोजना बनाएर काम गरिरहेकाले केही वर्षदेखि मन्दिर आउने भक्तजन बढिरहेका छन् । खानेपानी, सार्वजनिक टेलिफोन, सुरक्षाकर्मीलगायत व्यवस्थापनले भक्तजनले सुरक्षित महसुस गर्न थालेका छन् । घटस्थापनाका दिन बाग्लुङ कालिकासहित शक्तिपीठहरूमा जमरा राखिएको छ ।